PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सेभेनथ्री स्पोर्टससँगको सम्झौता रद्द गर्न छानबिन समितिको सुझाव, भारतबाट जतिनको दाबी : खेलाडी भेटेको छैन, फोन पनि गरेको छैन



मुकुन्द घिमिरे

सेभेनथ्री स्पोर्टससँगको सम्झौता रद्द गर्न छानबिन समितिको सुझाव, भारतबाट जतिनको दाबी  : खेलाडी भेटेको छैन, फोन पनि गरेको छैन

काठमाडौं : नेपाल टी २० लिगमा म्याच फिक्सिङ र बेटिङको बारे विभिन्न अनुसन्धानबाट शंकास्पद विषयहरु खुल्दै आएका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको छानबिन समितिले बुधवारमात्र एक प्रतिवेदन सार्वजनिक गर्‍यो। जसमा नेपाल क्रिकेट संघ (क्यान) र विदेशी कम्पनी सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौतालाई नै लिएर प्रश्न उठाइएको छ। प्रतिवेदनमा 'प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्‍याई गरिएको नेपाल टी २० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर' गरिएको छ।

केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार पत्रकार सम्मेलन गर्दै 'स्पट फिक्सिङ'मा संलग्न भएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको थियो। जसमा चार जना नेपाली र ६ जना विदेशी छन्। ब्यूरोले पक्राउ गरेकामा मोहम्मद आदिल आलम र मेहबुब आलम छन्। यी दुवैजना नेपाली खेलाडी हुन्। अन्य आठ जना प्रतिवादी भने नाम भने सार्वजनिक गरिएको छैन।

पुस ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा लिगका खेलहरु भएका थिए। जसमा ६ टीमका ९० खेलाडी सहभागी थिए। विदेशी खेलाडी पनि सहभागी खेलमा 'फिक्सिङ' भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

छानविन समितिले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउँदै। तस्बिर:राखेप


नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट सङ्घ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानमा फिक्सिङ सेभेनथ्री स्पोर्टले नै गराएको देखिएको छ। स्पट फिक्सिङको मुख्य योजनाकार जतिन भएको प्रहरीको दाबी छ। त्यस्तै, सेभेनथ्री स्पोर्टसका अर्का व्यक्ति अभिषेक सक्लानीको समेत स्पट फिक्सिङमा संलग्नता देखिएको छ। तर, मंगलबार भएको पत्रकार सम्मेलनमा प्रहरीले यी दुई व्यक्तिबारे भने खासै खुलाएन।

संदिग्ध रहेको कम्पनीलाई खेल खेलाउन सम्झौता गर्ने क्यानको संलग्नताको विषयमा भने प्रहरीले हालसम्म केही बताएको छैन। तर, यो प्रकरणमा क्यान पनि उतिकै जिम्मेवारी रहेको सरोकारवालाहरु बताउँन्। क्यानले कस्तो कम्पनीसँग सम्झौता भएको हो भन्ने कुरा हेक्का राख्नुपर्ने उनीहरु बताउँछन्।

चौतर्फी प्रश्न उठ्न थालेपछि क्यानले भने बिहार पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा राख्न तयारीमा छ।

के भन्छन् जतिन?

सेभेनथ्री स्पोर्टसका संस्थापक जतिनले स्पट फिक्सिङ आफूले गराएको भन्ने आरोप निराधार भएको दाबी गरेका छन्। उनले क्यानसँगको सम्झौता अनुसार प्रतियोगिताको पहिलो खेल सुरु भएसँगै आफ्नो जिम्मेवारी सकिएको बताएका छन्। यद्यपि,  १० दिन सम्म नेपालमा बसेर जिम्मेवारी बहान गरेको उनको तर्क छ।

'क्यानद्वारा आयोजित नेपाल टी २०। त्यसैले भूमिकाको परिभाषा स्पष्ट छ। सेभेनथ्री स्पोर्ट्स व्यावसायिक साझेदारको रूपमा हो जबकी लिग क्यानको स्वामित्वमा छ,' उनले एक विज्ञप्ति जारी गर्दै दाबी गरेका छन्।

उनको तर्क भने प्रतियोगिता पूर्ण रुपमा क्यानको आयोजनामा भएको भन्ने छ।

'क्यानले आफ्नै पदाधिकारीसहित नेपाल टी-२० आयोजना गरेको छ। नेपाल टी-२० को प्रतियोगिता निर्देशक क्यानले नियुक्त गरेको हो। क्यानले खेल सञ्चालन र नियन्त्रण गर्ने प्राविधिक प्रमुखलाई पनि नियुक्त गरेको थियो। म्याच रेफ्री पनि क्यानले नियुक्त गरेको थियो। त्यसैगरि अम्पायर, म्याच अफिसियल, म्याच स्कोरर र ग्राउन्ड्सम्यान पनि थिए। पिच क्युरेटर पनि क्यानकै कर्मचारी हुन्। एन्टीकरप्सन अफिसरलाई पनि क्यानले नै नियुक्त गरेको थियो,' उनले दाबी गरेका छन्।

फिक्सिङको आरोप लागिरहँदा उनले आफूहरु आफ्नो दायित्व सकेर घर फर्किएको दाबी गरेका हुन्। उनले 'डगआउट' र 'पीएमओए' ( खेलाडीर खेल व्यवस्थापकको क्षेत्र) मा कहिल्यै प्रवेश नगरेको दाबीसमेत गरेका छन्। आफूहरु खेलाडी र मैदानबाट करिब २०० मिटर टाढा फ्रेन्चाइजी मार्की टेन्टमा बस्ने गरेको समेत उनले विज्ञप्तिबाट भनेका छन्। त्यस्तै, होटेलमा पनि खेलाडीहरूसँग एकपटक पनि खाना नखाएको र यो सबै होटलको सीसीटीभीमा कैद भएको उल्लेख गरेका छन् उनले।

'सबै रेकर्डमा राखिएको छ भने उनीहरू (जतिन र अभिषेक) र सेभेन थ्री स्पोर्ट्सलाई कसरी म्याच फिक्सिंगसँग टाढाबाट पनि संलग्न भएको आरोप लगाउन सकिन्छ?,' विज्ञप्तिमा तर्क गरिएको छ, 'उल्टो उनीहरूले म्याच फिक्सिङको अलिकति आशंकामा पनि नेपाल टी-२० रोक्न क्यानका अधिकारीहरूलाई सम्पर्क गरेका थिए।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell