PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सन्दीपलाई मैदान फर्काउनेबारे राय माग्दै क्यान, आइसीसीले देशको कानुन अनुसार अघि बढ्न भनेको चन्दको दाबी



पहिलोपोस्ट

सन्दीपलाई मैदान फर्काउनेबारे राय माग्दै क्यान, आइसीसीले देशको कानुन अनुसार अघि बढ्न भनेको चन्दको दाबी

काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउनेबार सम्बन्धित निकायहरुसँग राय लिइरहेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। नाबालिग बलात्कार केसमा मुद्दा खेपिरहेका लामिछाने पुस २९ गते धरौटीमा छुटेका थिए।

‘यो कुरामा हामी निकै संवेदशील छौँ। सन्दीप लामिछाने नेपालका लागि चाहिने खेलाडी हुन्। नेपालको विद्यमान कानुनले कुन खालको अथोरिटी दिन्छ? त्यसका लागि सम्बन्धित ठाउँमा पहल गरिरहेका छौँ। त्यही हिसाबले अघि बढ्छौँ’, बिहीवार एक पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चन्दले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको कानुनले तिमीहरुलाई अनुमति दिन्छ भने अगाडि बढ भनेको छ। नेपालको कानुनी व्यवस्थाबारे छलफलमा छौँ। र, सम्बन्धित निकायहरुसँग राय मागिरहेका छौँ।’

सय दिन जेल बसेका लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ। अदालतको अन्तिम फैसला नआएसम्मको लागि उनी रिहा भएका हुन्। अदालतको फैसलाले दोषी ठहर गरेको खण्डमा पुनः जेल बस्नु पर्ने पनि हुन्छ।

बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका थिए।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले सन्दीपलाई खोजी गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।

लामिछानेलाई अदालतले स्थान हद समेत तोकेको छ। विदेश यात्रामा रोक लगाएको छ भने उपत्यकाबाहिर जान प्रहरीसँग लिखित अनुमति लिनुपर्नेछ। लामिछानेले पीडित, परिवारका सदस्य समेतविरुद्ध कुनै पनि टिकाटिप्पणी गर्न पाउने छैनन्। सामाजिक सञ्जालमा समेत यस्तो प्रचारलाई रोक लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell