PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काँचुली फेर्दै भद्रपुर प्रादेशिक अस्पताल : उपकरण र सेवाग्राही थपिए, थपिएन जनशक्ति



पहिलोपोस्ट

काँचुली फेर्दै भद्रपुर प्रादेशिक अस्पताल : उपकरण र सेवाग्राही थपिए, थपिएन जनशक्ति
फोटो : रासस।

  • चन्द्रकला भण्डारी-

झापा : प्रादेशिक अस्पताल भद्रपुरको नाम फेरिएसँगै अब भवन पनि नयाँ बनेको छ। साविक ‘मेची अञ्चल अस्पताल’ अब नाम फेरिएर ‘प्रादेशिक अस्पताल’ भएको हो।

विसं २०१५ मा २५ शय्याको सानो अस्पतालका रूपमा यसको स्थापना भएको थियो। विसं २०३४ मा यसको स्तरोन्नति हुँदै शय्या सङ्ख्या बढेर ५० पुगेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए।

साविक मेची अञ्चलका चार जिल्लाको सबैभन्दा ठूलो र प्रदेश नम्बर १ को दोस्रो ठूलो सरकारी स्वास्थ्य सेवा प्रदायक अस्पतालका रूपमा परिचित यो अस्पताल भद्रपुर नगरपालिका वडा नम्बर ८ को १२ बिघा सात कठ्ठामा फैलिएको छ। हाल यस अस्पतालको शय्या एक सय १८ रहेको छ।

प्रदेश सरकारले बढाएर दुई सय पुर्‍याउने घोषणा गरिसकेको छ। अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ।

पचास वर्षअघि बनेको पुरानो भवन जीर्ण बनेपछि नयाँ भवन बनाउनुपर्ने आवाज धेरै पहिलेदेखि उठेको हो। तर, विसं २०७४ तिर ठेक्का लागेर भर्खर नयाँ भवन निर्माण भएको छ।

हालको मुख्य भवनदेखि ठीक पूर्वतिर सङ्घीय सरकारको बजेटमा नयाँ भवन निर्माण सकिए पनि हस्तान्तरण हुन र अक्सिजन प्लान्टको पाइप लाइन विस्तारको काम बाँकी रहेको सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जिनियर मोहम्मद दिलावर रायनले बताए।

‘मुख्य भवन तयार भइसकेको छ, अक्सिजन पाइप लाइनको नयाँ भेरिएसनको अलिकति काम बाँकी छ’, उनले प्रगति सुनाउँदै भने, ‘सुरुको ठेक्काका शर्तबमोजिमका काम सम्पन्न भइसकेता पनि पछि दुईवटा भेरिएसनका काम थपिएका थिए। नयाँ भेरिएसनको बजेट मन्त्रालयले स्वीकृत गरेपछि छिटो काम सम्पन्न हुन्छ।’

काठमाडौंको कन्टेन्ट प्रालिसँग अस्पताल भवन निर्माणको ठेक्का सम्झौता विसं २०७४ मङ्सिर १० गते भयो। सुरुमा २२ करोड रुपैयाँ लागत अनुमान गरिएता पनि पछि बढेर २७ करोड रुपैयाँ पुगिसकेको छ।

कोभिड-१९ को महामारीका कारण तोकिएको अवधिभन्दा केही ढिला गरी भवन निर्माण भएको छ। निर्माण व्यवसायी कम्पनीका इञ्जिनियर राम श्रेष्ठका अनुसार दुई तलाको नयाँ भवनमा छ वटा ब्लक, दुई वटा लिफ्ट, चारवटा सार्वजनिक शौचालय, पाँच सय केभीएको ब्याकअप जेनेरेटर, पाँचवटा अपरेसन थिएटर, घेराबेरा पर्खालको निर्माण सम्पन्न भइसकेको छ।

भवनको रङरोगन सकिएको छ। पुरानो भवन परिसरको अक्सिजन प्लान्टबाट सडक पार गरेर तीन सय मिटर टाढाको नयाँ भवनमा पाइप लाइन विस्तार गर्न भेरिएसनको प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पुर्‍याइएको सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले जनाएको छ।

नयाँ भवनको हरेक शय्या र अपरेसन थिएटरमा पाइप लाइनबाट अक्सिजन आपूर्तिको व्यवस्था मिलाइने भएको छ। यसअघि पुरानो भवनमा पाइप लाइन नहुँदा सिलिन्डरबाट अक्सिजन आपूर्ति गरिन्थ्यो।

उपकरण थपिए, जनशक्ति थपिएन

पहिलेदेखि अहिलेसम्म प्रादेशिक अस्पतालले भोगिरहेको सबैभन्दा ठूलो समस्या भनेको जनशक्तिको अभाव हो। केही वर्ष अघिसम्म जनशक्तिसँगै आधुनिक उपकरण र प्रविधिको अभाव थियो। 

अहिले केही उपकरण भित्रिएका छन्, तर जनशक्ति थपिएको छैन। अस्पतालका सूचना अधिकारी पोखरेलका अनुसार प्रादेशिक अस्पताल भद्रपुरमा सरकारी जनशक्तिको दरबन्दी एक सय तीन जना हो। जसमध्ये आधामात्र जनशक्ति स्वास्थ्य मन्त्रालयले पठाएको छ।

‘सरकारी दरबन्दीअनुसारको जनशक्ति नभए पनि विकास समिति र अन्य निकायबाट समेत गरी आवश्यक केही जनशक्ति थपेर अस्पताल सञ्चालन भइरहेको छ,’ उनले भने।

अस्पतालको कर्मचारी संरचनाअन्तर्गत हाल सरकारी, गैरसरकारी र विकास समितिअन्तर्गत दुई सय ३९ कर्मचारीको दरबन्दी देखिन्छ। जसमा मेडिकल सुपरिटेण्डेन्टसहित २४ कन्सल्टेन्ट चिकित्सक, १५ मेडिकल अफिसर, ७७ नर्सिङ तथा पारामेडिक्स, २० ल्याब कर्मचारी, पाँच  रेडियोलोजिस्ट, १५ स्वीपर, १५ सुरक्षा गार्ड र ४१ कार्यालय सहयोगीलगायत छन्।

मेडिकल सुपरिटेण्डेन्ट डा टङ्क बाराकोटीले कुन-कुन फाँटमा जनशक्ति अभाव छ भनेर मन्त्रालयमा लेखेर पठाइएको जनाउँदै चाँडै केही जनशक्ति पठाइदिने आश्वासन पाएको बताए।

‘पचास वर्षको दौरानमा सेवाग्राही र उपकरण धेरै थपिएको छ, तर दरबन्दी बढ्न सकेको छैन’, डा बाराकोटीले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि सेवाग्राहीको भीड थामिनसक्नु छ। सरकारले कुनै पनि हालतमा चिकित्सक, नर्स, ल्याब टेक्निसियनलगायतका कर्मचारी पठाउनै पर्ने अवस्था छ।’

चिकित्सक तथा कर्मचारीको जनशक्ति न्यून भएपनि अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ। मुख्य भवनमा बिरामी जाँच्न कोठा अभाव भएकाले परिसरका अन्य साना भवनमा हाल ओपीडी सेवा चलिरहेको छ।

सूचना अधिकारी पोखरेलले औसत नौ सय बिरामीले अस्पतालको ओपीडी सेवा लिने र इमर्जेन्सीमा ५० भन्दा धेरै भर्ना हुने गरेको बताए। अस्पतालमा आएका सेवाग्राहीमध्ये ७० प्रतिशतले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गराउँदै आएका छन्।

अस्पतालमा दुई अक्सिजन प्लान्ट, १३ मिर्गौला डायलासिस मेसिन, तीन आइसीयू र २५ एचडीयू मेसिन सञ्चालनमा रहेको उनले जानकारी दिए। सिटीस्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपीलगायतका सेवा अस्पतालमा उपलब्ध छ।

नयाँ भवनमा आइसीयूको १५ शय्या, अपरेसन थिएटर चार र २५ पोस्टअपरेटिभ शय्या रहने उनले जनाए। अक्सिजन प्लान्टको पाइप लाइन विस्तार भएलगत्तै भवन हस्तान्तरण हुने र अस्पतालको ओपीडी र इनडोर सेवा नयाँ भवनबाट सञ्चालन गरिने तयारी भइरहेको अस्पतालका मेसु डा बाराकोटीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell