PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

टरिगाउँ विमानस्थलमा सीता एयरले पनि उडान भर्ने, आज दिउँसो परीक्षण उडान गरिँदै



रासस

टरिगाउँ विमानस्थलमा सीता एयरले पनि उडान भर्ने, आज दिउँसो परीक्षण उडान गरिँदै
फाइल फोटो।

तुलसीपुर : दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन्। त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले शुक्रवार परीक्षण उडान गर्ने भएको छ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने भएको हो।

‘शुक्रवारदेखि निजी विमान पनि बस्ने भएको छ, सीता एयरले उडान भर्दैछ’, उनले भनिन्, ‘निजी विमान उडान सुरु भएपछि भाडा पनि सस्तो हुने हाम्रो अपेक्षा छ।’

ठूलो सङ्घर्षपछि तुलसीपुरमा निजी विमानले सेवा दिन थालेको हो। उपप्रमुख चौधरीले अहिले धावनमार्गको डीपीआरको काम भइरहेको भन्दै त्यो सकेपछि तत्काल हालको धावनमार्गलाई विस्तार गरेर निजी कम्पनीका ठूला जहाज बसाल्ने योजना रहेको बताइन्।

उनले जसरी पनि ७२ सिटे जहाज बसाल्ने गरी आफूले तयारी गरेको बताइन्। तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा समिति नै बनाएर विमानस्थल विस्तारका लागि पहलकदमी अगाडि बढाएको छ। सोहीअनुसार निजी विमान तुलसीपुरमा आउन लागेको हो।

हाल नेपाल वायु सेवा निगमको १९ सिटे ट्वीनअटर हप्तामा चार दिन तुलसीपुरमा उडान भर्ने गरेको छ। आइतवार, मंगलवार, बिहीवार र शनिवार उडान हुने गरेको हो।

हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ। तर, भाडा भने घट्न सकेको छैन। हाल दाङबाट काठमाडौंको न्यूनतम आठ हजार आठ सय १० रुपैयाँ र काठमाडौंबाट दाङको भाडा न्यूनतम नौ हजार रुपैयाँ बढीदेखि अधिकतम १२ हजारभन्दा बढी रहेको छ।

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ। साथै, हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तार गर्न सकेमा ठूला जहाज बस्ने र भाडा पनि सस्तो हुने उपप्रमुख चौधरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell