_(1)31.png)
काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजका लागि २८ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको छ। प्रशिक्षणमा बोलाइएको खेलाडी मध्येमा पूर्वकप्तान सन्दीप लामिछानेको नाम भने छैन।
बिहीवारमात्र क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेलाई क्याम्पमा बोलाउने या नबोलाउने बारे कानुनी परामर्श लिइरहेको जनाएका थिए। सय दिन जेल बसेका लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ। अदालतको अन्तिम फैसला नआएसम्मको लागि उनी रिहा भएका हुन्। अदालतको फैसलाले दोषी ठहर गरेको खण्डमा लामिछाने पुनः जेल बस्नु पर्ने हुन्छ।
बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले सन्दीपलाई खोजी गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।
कोको छन् २८ खेलाडीमा?
पछिल्लो समय घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आएका मौसम ढकाल, कुशल मल्ल, अंकित सुवेदी, भुवन कार्की, सिद्धान्त, सन्दीप जोरा लगायतका खेलाडीले यसपटक अवसर पाएका छन्। त्यस्तै अनुभवी खेलाडी शरद भेषवाकर, बिनोद भण्डारीलगायतका खेलाडीले पुनरामगन गरेका छन्।
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, ललित राजवंशी, बिनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्दान्त लोहनी, अर्जुन साउद, अविनास बोहोरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी पनि क्याम्पमा छन्।
फागुन २ बाट सिरिज
नेपाली क्रिकेट टोलीले फागुन पहिलो साता घरेलु मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय सिरिज खेल्दैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाल, नामिबिया र स्कटल्याण्डबीच फागुन २ गतेदेखि ९ गतेसम्म काठमाडौंमा त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ।
लिग २ मा स्कटल्याण्ड शीर्षस्थानमा रहेको टोली हो। ३२ खेलबाट ४६ अंक जोडेर स्कटल्याण्ड शीर्षस्थानमा रहँदा ओमन ३६ खेलबाट ४४ अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै नामिबिया ३० खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा रहँदा युएसए ३६ खेलबाट ३५ अंक जोडेर चौथो तथा यूएई २६ खेलबाट २७ अंक जोडेर चौथो र पाँचौँ स्थानमा छन्। २४ खेलबाट १८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ भने २८ खेलबाट ५ अंक जोडेको नामिबिया अंकतालिकाको पुछारमा छ।
नेपाली टोलीको मुख्य प्रशिक्षकको अझै टुंगो लाग्न भने बाँकी छ।
यस्तो छ खेल तालिका
फागुन २ गते - नेपाल भर्सेस नामिबिया
फागुन ३ गते- स्कटल्याण्ड भर्सेस नामिबिया
फागुन ५ गते - नेपाल भर्सेस स्कटल्याण्ड
फागुन ६ गते - नेपाल भर्सेस नामिबिया
फागुन ८ गते- नामिबिया भर्सेस स्कटल्याण्ड
फागुन ९ गते- नेपाल भर्सेस स्कटल्याण्ड