PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लामिछानेको पद खारेजीले प्रचण्ड सरकारलाई धक्का, के सत्ता समीकरणमै आउला फेरबदल?



प्रकाश भण्डारी

लामिछानेको पद खारेजीले प्रचण्ड सरकारलाई धक्का, के सत्ता समीकरणमै आउला फेरबदल?

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मन्त्री पद गएपछि स्वभाविक रुपले प्रश्न उठ्छ अब सत्ता गठबन्धन के होला? २० जना प्रतिनिधि सभामा सांसद छन् लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकरको एक बलियो खम्बा थिए लामिछाने। नागरिकता सम्बन्धी विवाद हुँदाहुँदै एमाले-माओवादी गठबन्धनले लामिछानेलाई मन्त्री मात्रै बनाएन उनको बचाउमै उत्रिएको थियो।

किनभने गठबन्धनका नेताहरुले जवाफ फर्काउने गरेका थिए उल्टै प्रश्न सोधेर - आरोप लागेको व्यक्ति मन्त्री नै हुन नपाउने त? उनीहरुको तर्क कमजोर साबित गरिदिएको छ शुक्रवारको सर्वोच्च अदालतको संवैधानिक इजलासले। लामिछाने नागरिकता विवादमा त तानिए नै उनको अर्को विवादित विषय थियो 'कन्फिलिक्ट अफ इन्ट्रेस्ट'। छानविन गर्ने निकायकै नेतृत्व गरेर गृहमन्त्री बनेपछि लामिछानेमाथि नैतिक प्रश्न उठेको थियो।

सांसद पद खारेजपछि मन्त्री पद खारेज त भयो नै। उनकै नेतृत्वमा निर्वाचनको केही महिनाअघि नै उदाएको रास्वपाको भविश्यमाथि नै टिप्पणीसमेत हुन थालेको छ। किनभने उनी नेपाली नागरिक नठहरिएपछि पार्टीको सभापति पनि रहेनन्। उनी संसदीय दलको नेता रहने कुरै भएन। उनीमाथि टिप्पणी गर्नेहरुले भन्ने गरेकै थिए - पानीको फोका। एक महिना सिंहदरबारमा आसन हुन पाएका लामिछानेको पद गएपछि सत्ता समीकरणका लागि विवादित पात्रलाई नै मन्त्री बनाउने गठबन्धनमाथि प्रश्न उठ्नु पनि स्वभाविक नै भयो। तर अदालतको आदेशपछि भने गठबन्धनलाई नैतिक चोट भने लागेको छ। अर्कोतिर जसरी पनि अहिलेको सत्ता गठबन्धनमा विभाजन ल्याउन लागि परेको नेपाली कांग्रेसका लागि लामिछानेको फैसलाले बल प्राप्त हुने छ।

प्रधानमन्त्री प्रचण्डकै लागिसमेत समीकरणबारे सोच्नुपर्ने स्थिति नआउला भन्न सकिन्न। किनभने प्रचण्डले पनि राजनीतिमा आउनसक्ने निकट भविश्यका तरंग बुझेरै प्रधानमन्त्रीको विश्वासको मत लिदा कांग्रेस सभापति शेरबहादुर देउवाको साथ खोजेका थिए। अमेरिकी नागरिकता लिएर अमेरिकी नागरिकता त्यागे पनि फेरि नेपाली नागरिकता कायम गराउन लामिछानेले प्रक्रियामा गएनन्। फेरि उनी प्रक्रियामा गए उपनिर्वाचनका लागि योग्य हुनेछन्। तर यो सबै उनले यसअघि सञ्चारकर्म छोडेर पार्टी दर्ता गरेपछि एकाएक उदाएजस्तो सजिलो भने हुने छैन। किनभने उनको पद खारेजी र मन्त्रालयमा परेको विवादले उनलाई लखेटी रहने छ। यद्यपि उनका समर्थकले आजै प्रदर्शन गरिसकेका छन् लामिछानेको पक्षमा।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell