PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्वतन्त्र बनेका जितु पहिलोपटक ‘लिड रोल’मा, भन्छन् : म हाइट, लुक र बडी भएको हिरो होइन, कलाकार हुँ



लक्ष्मी बलायर

स्वतन्त्र बनेका जितु पहिलोपटक ‘लिड रोल’मा, भन्छन् : म हाइट, लुक र बडी भएको हिरो होइन, कलाकार हुँ

काठमाडौं : तीन दशकअघि ‘हिजो आजका कुरा’ बाट अभिनय यात्रा सुरु गरेका जितु नेपाल पछिल्लो समय ‘मुन्द्रे’ उपनामबाट परिचित छन्। सानो पर्दाबाट ठूलो पर्दासम्म दर्शकलाई हसाउँदै आएका उनले पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लब’ मार्फत दर्शकलाई हसाइरहे।

जितु यसअघि फिल्ममा सहायक पात्र र हास्य कलाकारका रुपमा देखिँदै आएकोमा यसपटक भने फरक अवतारमा आउने भएका छन्। फिल्म ‘ह्यारीकी प्यारी’ मा मुख्य भूमिकामा देखिदैछन उनी। फिल्मकै ‘हिरो’ बनेर जितु पहिलोपटक ठूलो पर्दामा देखिँदैछन्।

‘हिरो’ भन्ने बित्तिकै चकलेटी लुक, अग्लो कद र हट्टाकट्टा भएको अभिनेतालाई लिने गरिएको जितुको बुझाइ छ। त्यसैले जितुमा दर्शकले आफूलाई हिरोको रुपमा स्विकार गर्छन् वा गदैनन् भन्ने डर पनि छ।

‘हिरो भनेपछि धेरैले गुड लुकिङ, राम्रो हाइट र ज्यान भएको फाइट गर्ने सोच्नुहुन्छ। जुन कुराहरु मसँग छैनन। दर्शकले मलाई हिरोको रुपमा स्विकार गर्न सक्छ वा सक्दैन भन्ने चुनौती हो।’

छक्का पञ्जाका सिरिजमा महत्त्वपुर्ण भूमिकामा देखिँदै आएका जितुको लागि मुख्य भूमिकामा काम गर्नु अवसर हो। हुनत यसअघि पनि जितुलाई ‘हिरो’ बन्न मन नलागेको होइन। दीपकराज गिरीलाई मुख्य भूमिकामा देख्दा जितुमा पनि ‘हिरो’ बन्ने चाह हुन्थ्यो। तर, हिरो बनाउने मापदण्डले उनलाई रोक्थ्यो। हिरोइनसँग पनि ‘हाइट’ नमिल्ने कुराले उनी झस्किन्थे। फेरि सोच्थे, ‘अहिले नभए पनि पछि आफैँ एउटा फिल्म बनाएर भए पनि हिरो बन्छु।’

 ‘हिरो’ बन्ने जितुको त्यही इच्छा अहिले पूरा हुँदैछ।

‘सुरुमा यो फिल्मको अफर आउँदा दुई मुख्य पुरुष पात्र हुनुहुन्छ भन्ने कुरा थियो। त्यसमध्ये पनि टाइटल रोल थियो ह्यारीको। कथा सुन्यौं जहाँ म र विजय बरालजी मुख्य भूमिकामा थियौं। कथा सुनिञ्जेल म यही सोचिरहको थिएँ कि ह्यारी पात्रमा विजय बरालजी हुनुहुन्छ। मेरो कुनै हसाउने पात्र होला सोचिरहेको थिए। तर, पछि निर्देशकले ह्यारी तपाईं हौ भनेर भन्नुभयो। म त झसङ्ग्गै भएँ,’ उनले भने।

त्यसपछि उनले निर्देशक तथा लेखक कपिल रिजाललाई सोधे, ‘कपिलजी मलाई हिरो बनाउँदा ठिक होला र?  मेरो काँधमा फिल्म बोकेर चलाउनका लागि उपयुक्त हुन्छ/हुँदैन एकपटक सोच्नु।’

जितुको कुरा पुरा नहुँदै कपिलले जवाफ फर्काए,‘हाम्रो कथाले खोजको पात्र तपाईं नै हो। यो फिल्ममा तपाईं बाहेक उपयुक्त पात्र अरु हुनै सक्दैन। तर, तपाईंले कमेडी प्याट्रनभन्दा चाँहि फरक गर्नुपर्छ।’

त्यसपछि जितुले ‘हिरोइन को हो?’ भनि प्रश्न तेर्साए। मुख्य पात्रको अफर सुन्दा आत्तिएका जितु हिरोइनको नाम सुन्दा त झन आश्चर्यमा परे।

‘तपाई नै फिल्मको हिरो भन्दा छक्क परेको म हिरोइनमा साम्राज्ञी भन्दा त सुरुमा पत्यारै लागेन। उहाँले मसँग खेल्नुहुन्छ र? भनेर सोधेँ,’ जितु बताउँछन्।

निर्देशक कपिलले साम्राज्ञी शाह उनीसँग फिल्म खेल्न तयार रहेको बताएपछि जितु केही ढुक्क भए।

एक्लिएको होइन, स्वतन्त्र भएको हुँ

‘छक्कापञ्जा’ का सबै सिरिजमा देखिँदै आएका जितु पछिल्लो सिरिजमा भने अटाउन सकेनन्। जितुलाई आफूलाई हटाएको प्रति पनि कुनै गुनासो छैन।

‘मैले मुन्द्रेको कमेडी क्लबबाट दीपा दिदीलाई हटाएपछि उहाँहरुले हटाउनु पनि स्वभाविक हो। परिबन्धले मैले पनि दिदीलाई हटाउन बाध्य भए। हटाउँदा मलाई दु: ख पनि लागेको थियो। तर, के गर्नु अवस्था नै त्यस्तै थियो,’ उनले कारण बताउँदै भने।

अहिले भने आफू स्वतन्त्र भएको उनको भनाई छ। ‘म उहाँहरुको टिमसँग छुटेको भन्दा पनि स्वतन्त्र भएको हुँ। टिममा हुँदा कुनै निर्णय हुँदा फलो गर्नुपर्ने बाध्यता हुन्थ्यो। स्वतन्त्र हुँदा म आफूले चाहेको व्यक्ति र समूहसँग काम गर्न सक्छु। स्वतन्त्र हुँदाखेरि केही घाटा होला। तर,  सो टिम नछोडेको भए अहिले हिरो बन्न पाउदैन्थे होला।’

छक्का पञ्जा टिममा नअटाए पनि दीपक र दीपाश्री निरौलासँग सम्बन्ध राम्रै रहेको जितु दाबी गर्छन।

‘मैले उहाँहरुसँग जति काम गरे राम्रै गरेँ। म उहाँप्रति आभारी छु। आज म ह्यारी हुनुमा पनि उहाँहरुको हात छ। सँगै काम नगरे पनि हामीबिचको सम्बन्ध राम्रो छ। कहिलेकाही म्यासेज हुन्छ र भेट्दा कुराकानी पनि हुन्छ। उहाँहरुसँग काम गरेको अझै पनि मिस हुन्छ।’

मुख्य भूमिकामा काम गर्दाको अनुभव

जितु मुख्य भूमिका निर्वाह गर्दा बढी जिम्मेवारी महसुस हुने बताउँछन्। 'फिल्मको सम्पुर्ण भार नै प्रमुख पात्रमा हुने। जसकारण सुटिङदेखि हरेक कुरामा बढी समय र ध्यान दिनुपर्दो रहेछ। झ्याम्मै गीत खिचिँदा पनि आफैँतिर केन्द्रित भए जस्तो हुँदोरहेछ,’ जितुले भने।

उनी यस अवसरलाई ‘उपहार’को रुपमा व्याख्या गर्छन्।

‘मैले अरु मुख्य पात्रमा काम गर्ने मौका पाउँथे होला। तर, यत्तिको राम्रो कथा र टिमसँग काम गर्न पाउन मुस्किल हुन्छ। यो मेरो करियरको ठूलो उपहार हो। यस फिल्मलाई मैले एक प्रयोगको रुपमा लिएको छु। किनकी यो निर्देशकको भिजनको फिल्म हो। कथाले पात्र मागेको फिल्म हो। यसले कसैलाई जबरजस्ती हसाउँदैन। पात्रले संघर्ष गर्दै गर्दा दर्शक आफैँ हास्छन् अनि भावुक हुन्छन पनि। कथाले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँध्छ। यसले सिनेमाको क्षेत्रमा फरक ट्रेन्ड ल्याउँछ भन्नेमा आशावादी छु।’

‘ह्यारी’ पात्र अहिलेसम्म गरेका पात्रभन्दा फरक ठान्छन् उनी। कमेडी गर्दाै आएका कलाकारलाई दर्शकले फरक रुपमा पाउने उनी बताउँछन्।

‘कमेडी फिल्म खेल्दै आएको भएर हास्य कलाकार भन्ने छाप परेको छ। तर, ‘ह्यारीकी प्यारी’ हेरेपछि दर्शकहरुले मैले निभाएको भूमिकामा भन्दा यहाँ केही भिन्नता पाउनुहुनेछ। यस फिल्मको कन्टेन्ट र विषयवस्तु दर्शकले मन परेको खण्डमा मेरो कमेडीको छाप नै मेटिन सक्छ। कमेडी कलाकारलाई कसरी भावनात्मक बनाउन सकिन्छ भन्ने कुरा फिल्मले दर्शाउँछ।’

उनका अनुसार सुरुमा पात्रमा ‘फिट’ हुन उनलाई केही समय लाग्यो। साम्राज्ञीसँग अभिनय गर्दा त 'नर्भस' पनि भए उनी। तर पनि चुनौती स्वीकारे उनले।

‘वर्कसप क्लासमा बसेँ। सुरुमा साम्राज्ञीसँग डाइलग बोल्दा पनि नर्भस हुन्थे। हिरो हुँदा एउटा फ्रममा बसेर हिँड्नु र बोल्नुपर्ने रहेछ। सिरियस रोल गर्न केही चुनौती भयो। तर, पछि साम्राज्ञी र टिमको सहयोगले निकै सहज भयो,’ उनले बताए।

साम्राज्ञीसँग काम गर्न निकै सहज भएको जितुको भनाई छ।

‘कमेडी क्षेत्रको कलाकारसँग के काम गर्नुहोला र सोचेको थिएँ। तर, उहाँ (साम्राज्ञी) यसरी तयार भएर आउनु भएको रहेछ कि सुरुमै दादा यस्तो काम गरौं भन्न थाल्नुभयो। कतिवटा सिनमा उहाँले निकै सहयोग गर्नुभएको छ। उहाँ हामीसँग निकै घुलमिल हुनुभयो। साँच्चै मान्छेका दुइटा पाटा हुँदा रहेछन। कसैको पनि आउटलुक हेरेर मुल्यांकन गर्नु नहुने रहेछ।’

फिल्मको ट्रेलर रिलिज भएसँगै यस फिल्मलाई राम्रो प्रतिक्रिया मिलिरहेको छ। यद्यपि, जितुले सामाजिक सञ्जालमा ‘यस्तो पनि हिरो हुन्छ?भन्ने कमेन्टको पनि सामना गर्नुपरेको छ। तर, जितु भने एकपटक फिल्म हेरेर मात्रै धारणा बनाउन दर्शकलाई अनुरोध गर्छन्।

‘यस्तो पनि हिरो भनेर भन्नुहुन्छ। तर, यस्तो भन्नुभन्दा पहिले एकपटक मेरो काम हेर्न म उहाँहरुलाई अनुरोध गर्छु। समय परिस्थितिले विभिन्न पात्रहरु जन्माउँछ। म पनि एकखालको हिरो हुँ। म कुनै हाइट, लुक र बडी भएको हिरो होइन। म एक कलाकार हुँ। यदि वास्तविक कन्टेन्टमा कथा लेखियो भने जो पनि हिरो बन्न सक्छ।’

फिल्मले तपाईंको करियर कहाँ पुर्‍याउँछ भन्ने प्रश्नमा जितु भन्छन्, ‘मैले जीवनमा कुनै पनि काम धेरै सोचेर गर्दिन। पक्कै पनि यो फिल्म सफल हुँदा मेरो करियरमा प्लस प्वाइन्ट हुनेछ। म हिरो बन्नेछु। फिल्म राम्रो होस भन्ने चाहना छ। यदि फिल्म चलेन भने पनि म निराश चाहिँ हुँदिन। फुटबल मैदानमा खेलाडीले ९० मिनेटसम्म राम्रोसँग खेल खेल्ने हो। गोल हुन्छ भन्ने जरुरी छैन। मेरो कमेडी क्षेत्र पनि छँदै छ नि।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell