PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एनआरएनए अमेरिकाले भन्यो : रेमिट्यान्सले धानिएको देशमा हामी फर्कने ढोका साँघुरो होइन फराकिलो बनाउ



पहिलोपोस्ट

एनआरएनए अमेरिकाले भन्यो : रेमिट्यान्सले धानिएको देशमा हामी फर्कने ढोका साँघुरो होइन फराकिलो बनाउ

काठमाडौं : गैर आवासीय नेपाली संघ, (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले नेपालसँग सम्बन्ध अटुट बनाउन अझै संघर्ष गर्नुपर्ने बताएका छन्।

अमेरिकाका नागरिकता त्गागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेको सन्दर्भमा सुवेदीले एकपटक नेपाली सधैँ नेपाली हुन नसकेको बताएका हुन्।

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने गैर आवासीय नेपालीहरूको मूल मन्त्रलाई खिया लगाउने खालका कतिपय गतिविधि र निर्णय भईरहेको देख्दा र सुन्दा दुखित भएको छु। जति नै विकसित र वैभवशाली देशमा बसोबास गरे पनि नेपालको माटो, नाता गोता र आफन्तसँगको कहिल्यै नटुट्ने सम्बन्ध छ। धर्म, संस्कार, संस्कृति चाडबाडले मुटुहरूलाई गाँसेको छ। नेपाल र नेपालीको दु:ख सुखमा साथ सहयोग गरिनै रहेका छौं। विदेशमा हामीले गरेको श्रम र कडा परिश्रमले नेपाललाई सिञ्चित गरिरहेका छौँ। तर तिमी पराई भयौ। अब एक पटकको नेपाली सधैँको नेपाली हुन सक्दैन भन्दै ढोका बन्द गरिनु दु:खद हो,’ एनआरएनले, नेपाल कोअर्डिनेसन काउन्सिल अमेरिकाको फेसबुक पेजमा सुवेदीले लेखेका छन्।

उनले नेपालका सबै राजनीतिक दललाई एक पटकको नेपाली सधैँको नेपाली रहन्छ भन्ने कुरा संविधान मै लेखिदिन आग्रह पनि गरेका छन्। आफूहरुले पठाएको रेमिट्यान्सले देश धानेको भन्दै उनले आफूहरुलाई फर्कने ढोका साँघुरो भन्दा फराकिलो गर्न उनले आग्रह गरेका छन्।

‘हामी देशको कानुन र विधि प्रक्रियाको सम्मान र पालना गर्छौ। देशका सबै राजनीतिक दलहरू मिलेर एक पटकको नेपाली सधैँको नेपाली रहन्छ भन्ने कुरा संविधान मै लेखिदिनुस्। नेपाल चरम गरिबीबाट छिटै माथि उठोस्। अवसरका लागि नेपालीहरूले विदेश जाने दिन छिटै अन्त होस्। तर अहिले नै भने बाध्यताले विदेशीएकाकै रेमिट्यान्सले धानिएको देशले उनीहरूको फर्कने ढोका साँघुरो बनाउने र बन्द गर्ने भन्दा फराकिलो र खुला गर्दा मात्र नेपाल र सबै नेपालीको हित हुनेछ। पछिल्ला घटनाक्रमबाट गैर आवासीय नेपालीहरूले नेपालसँगको सम्बन्धलाई अटुट बनाउन अझै धेरै सङ्घर्ष र काम गर्नु पर्ने रहेछ भन्ने महसुस भएको छ,’ उनले भनेका छन्।

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै रविले आफू अनागरिक भएको प्रतिक्रिया दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell