PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

क्यानले 'त्रुटी'को भेउ पाउँदासम्म क्रिकेट संकटतर्फ : सिरिज आउन दुई हप्ता बाँकी, प्रशिक्षकको अझै छैन टुंगो



मुकुन्द घिमिरे

क्यानले 'त्रुटी'को भेउ पाउँदासम्म क्रिकेट संकटतर्फ : सिरिज आउन दुई हप्ता बाँकी, प्रशिक्षकको अझै छैन टुंगो

काठमाडौं :  नेपाल क्रिकेट संघ (क्यान) को खबर पछिल्लो समय ठिक छैन। एकपछि अर्को निकायले गरेको अनुसन्धानको प्रतिवेदनको निष्कर्ष क्यानको अनुकूल आएको छैन। क्यानले नेपाल टी २० लिगका लागि भारतीय कम्पनीसँग गरेको सम्झौतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले रद्द गर्न सुझाव त दिएको छ नै यसै विषयको मुद्दा अदालतमा विचारधीन छ। सम्झौता गरेको कम्पनी सेभेनथ्री स्पोर्ट्सले पनि 'धोका' दिएपछि क्यान थप कमजोर बनेको छ।

यस्तो अवस्थामा आइपुगेर क्यानले आफ्नो त्रुटी महसुस गरेको छ। बिहीवारमात्र पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नियत राम्रो राखे पनि आफूहरुबाट त्रुटी भएको स्वीकारेका थिए। तर ढिला गल्ती स्वीकारेर पनि निरिह भएर प्रश्न गरेका छन्: हामीले सच्चिने मौका नपाउने?

अनुसन्धानमा दोषी को?

क्यानमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)देखि राखेपसम्मले अनुसन्धान गरिरहेको छ। राखेपले गठन गरेको छानबिन समितिले बुधवारमात्र एक प्रतिवेदन सार्वजनिक गर्‍यो। जसमा क्यान र विदेशी कम्पनी सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौतालाई नै लिएर प्रश्न उठाइएको छ। प्रतिवेदनमा 'प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्‍याई गरिएको नेपाल टी २० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर' गरिएको छ।

सीआईबीले मंगलबार पत्रकार सम्मेलन गर्दै 'स्पट फिक्सिङ'मा संलग्न भएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको थियो। जसमा ४ जना नेपाली र ६ जना विदेशी छन्। ब्यूरोले पक्राउ गरेकामा मोहम्मद आदिल आलम र मेहबुब आलम छन्। यी दुवैजना नेपाली खेलाडी हुन्। अन्य आठ जना प्रतिवादी भने नाम भने सार्वजनिक गरिएको छैन।

संदिग्ध रहेको कम्पनीलाई खेल खेलाउन सम्झौता गर्ने क्यानको संलग्नताको विषयमा भने प्रहरीले हालसम्म केही बताएको छैन। तर, यो प्रकरणमा क्यान पनि उतिकै जिम्मेवारी रहेको सरोकारवालाहरु बताउँन्। क्यानले कस्तो कम्पनीसँग सम्झौता भएको हो भन्ने कुरा हेक्का राख्नुपर्ने उनीहरु बताउँछन्।

त्यसबाहेक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी), अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत र श्रम विभागबाट क्यानले ‘क्लिनचिट’ पाउन बाँकी नै रहेको छ।

'क्यान आईसीसीको रोहबरमा निर्वाचित भएको हो। चुनाव आईसीसीले आएर गरेको हो। चार वर्षका लागि,' क्यानको बोर्डमाथि हुनसक्ने कारवाहीबारे क्यान अध्यक्ष चतुरबहादुर भने, 'बोर्डले चाहे हामी 'अर्लि इलेक्सन' गर्न सक्छौँ। तर निर्वाचित कमिटीलाई प्रतिस्थापन गर्ने भनेको निर्वाचित कमिटीले हो। त्रुटी भयो। अञ्जानमा भयो। काम गर्दै गर्दा त्रुटी भएको कुरालाई सच्याउन चाहन्छौँ। गर्दैगर्दा यसका नकारात्मक पक्षमात्र अगाडि आए।'

उनको संकेत प्रष्ट रुपमा राखेपको प्रतिवेदनमाथि थियो। प्रतिवेदनमा सम्झौता खारेज सँगसँगै क्यानको कार्यसमितिमाथि कारवाही गर्नुपर्ने सम्मको सुझाव भएको जनाइएको छ।

सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता के हुन्छ?

सेभेनथ्री स्पोर्टससँग ‘एमओयू’ भएको तीन वर्ष र त्यसको एक वर्षमा सम्झौता भएको भन्दै उक्त कम्पनीसँग सम्झौता तोडिन सक्ने संकेत अध्यक्ष चन्दले गरेका छन्। उनले उक्त कम्पनी भित्र्याउँदा नेपालमा त्यसअघिनै विश्वकप प्रसारणलगायतका काम गरेको, सचिन तेन्दुलकरको पहिलो सोसियल मिडिया पेज ‘ह्याण्डल’ गरेको प्रमाण तथा बाहिर पनि इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका ठूला प्रोजेक्टहरुमा काम गरेको र कुनै खराब ट्र्याक रेकर्ड नभेटेकाले सम्झौता गरेको तर्क गरेका छन्। तर, उनको कुनै तर्कले भने पहिलाको हठलाई जाजय ठहर्‍याउन सकिँदैन।

चन्द उनै हुन् जसले सेभेनथ्री स्पोर्ट्सलाई अदालतदेखि सदन र मिडियासम्म बचाउ गर्दै आएका थिए। तर, पछिल्लो समयमा क्यानको धारणा हो : त्रुटी भयो, सच्याउन चाहन्छौँ।

त्यसो भए क्यान सम्झौता खारेज गर्ने पक्षमा छ ? सम्झौता अनुसार क्यानलाई एकतर्फी निर्णय गर्न सजिलो छैन। क्यानले सम्झौतामा आफू तल परेर गरेको भन्ने आलोचना भएको थियो। चौतर्फी आलोचना पछि भने अहिले राष्ट्रिय खेलकुद परिषदको कार्यदलको प्रतिवेदनलाई देखाएर सम्झौता रद्द गर्ने आशय क्यानको देखिन्छ।

सेभेनथ्री स्पोर्ट्सको के ‘स्ट्यान्ड’ छ?

सेभेनथ्री स्पोर्टसका संस्थापक जतिन आलुवालियाले स्पट फिक्सिङ आफूले गराएको भन्ने आरोप निराधार भएको दाबी गरेका छन्। उनले क्यानसँगको सम्झौता अनुसार प्रतियोगिताको पहिलो खेल सुरु भएसँगै आफ्नो जिम्मेवारी सकिएको बताएका छन्।

उनको तर्क भने प्रतियोगिता पूर्ण रुपमा क्यानको आयोजनामा भएको भन्ने छ।

'क्यानले आफ्नै पदाधिकारीसहित नेपाल टी-२० आयोजना गरेको छ। नेपाल टी-२० को प्रतियोगिता निर्देशक क्यानले नियुक्त गरेको हो। क्यानले खेल सञ्चालन र नियन्त्रण गर्ने प्राविधिक प्रमुखलाई पनि नियुक्त गरेको थियो। म्याच रेफ्री पनि क्यानले नियुक्त गरेको थियो। त्यसैगरि अम्पायर, म्याच अफिसियल, म्याच स्कोरर र ग्राउन्ड्सम्यान पनि थिए। पिच क्युरेटर पनि क्यानकै कर्मचारी हुन्। एन्टीकरप्सन अफिसरलाई पनि क्यानले नै नियुक्त गरेको थियो,' उनले दाबी गरेका छन्।

सेभेन थ्री स्पोर्ट्सले आफ्नो विज्ञप्तिमा नेपाल सरकार, उद्योगपति, व्यवसायी घराना, प्रतिष्ठित व्यक्तित्व र कार्यकर्ताहरुलाई आफू र क्यानलाई सहयोग गर्न अनुरोध गरेको छ।

'नेपालका लागि राम्रो अर्थ राख्ने कसैलाई मद्दत गरौं र अझ उत्कृष्ट प्रोफेसनल्सहरुलाई नेपाल आउनको लागि एक प्राथमिकता सेट गरौं,' उनले विज्ञप्तिमा भनेका छन्, 'नेपाल टी२० लाई समर्थन गर्नुहोस् र नेपालमा स्वच्छ क्रिकेटको लागि क्यान र सेभेनथ्री स्पोर्ट्सलाई समर्थन गर्नुहोस्।'

यसबाट स्पष्ट हुन्छ,  सेभेनथ्री स्पोर्ट्स नेपाल टी २० को प्रोजेक्टलाई सजिलै छाड्ने पक्षमा छैन। क्यानले आफू तल परेर एकतर्फ सम्झौता रद्द गर्न पनि सहज भने छैन।

'सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता राखेप र सीआईबीको अनुसन्धानमा छ। सीआईबीले एक किसिमको आरोप तय गरेको सुन्दैछु। राखेपले चाहिँ सम्झौता टुंग्याउनु पर्छ भन्ने किसिमको सुझाव दिएको भन्ने सुनेको छु। पत्र आएको छैन, ' चन्दले भने, 'नेपालको नियामक निकाय निकायअनुसार नेपाल क्रिकेट संघ अगाडि बढ्छ।'

सिरिज आउन दुई हप्ता बाँकी, प्रशिक्षक खै?

क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज आउन दुई हप्ता बाँकी छ। फेब्रअरी १४ बाट नेपालले नामिबिया र स्कटल्याण्डसँगको सिरिज खेल्दैछ घरेलु मैदानमा। पछिल्ला सिरिजमा नेपाली टोलीको प्रदर्शन बिर्सनलायक छ। यतिसम्मकी यस्तै नतिजाले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पनि जोगाउन जोखिम हुने देखिन्छ।

टिमलाई जित्नुपर्ने दबाब छ। तर, अर्कोतर्फ खासगरि दुईवटा फरक विषयले नेपाली टिमलाई सोझो असर गर्ने देखिन्छ। पहिलो नेपाली टोलीसँग अहिले प्रशिक्षक छैनन्।

नेपाल टी २० लिग सुरु हुन अघि नै नेपाली टोलीलाई राम्रो नतिजा दिलाउन नसकेका मनोज प्रभाकरले राजीनामा दिएका थिए। नेपालमा आएर एक वर्ष पनि प्रशिक्षक टिक्न कठीन भइरहेको नजिरलाई उनले निरन्तरता दिए। यता क्यानले प्रशिक्षकको छनोट अन्तिम चरणमा पुगेको जनाएको छ। नेपालसँग खेल्ने टोलीहरुले अन्तिम टोलीको समेत घोषणा गरिसक्दा क्यानले प्रशिक्षकसमेत छान्न सकेको छैन।

अर्को राष्ट्रिय टोलीका खेलाडीदेखि पूर्व खेलाडीसम्म म्याच फिक्सिङको आरोपमा पक्राउ परेका छन्। अनुसन्धानको घेरामा अरु खेलाडी पनि छन्। राष्ट्रिय टोलीमा अहिले कस्तो मनोबल होला? जित्नैपर्ने दवाब भएको सिरिजबाट कति अपेक्षा गर्न सकिएला?

खलबिलएको छवि, फर्किएलान् समर्थक?

क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी २० लिग निष्कर्षमा पुर्‍याउन नसकेको भए नेपालको छवि विश्वस्तरमा धुमिल हुने र यो असह्य विषय हुने तर्क गरेका छन्। तर, फिक्सिङदेखि खेलाडीको पारिश्रमिकसम्मका विषयले नेपालको छवि उसै पनि राम्रो नभएको उनले बुझे पनि ती समस्या समाधान गर्न उनले केही गरेका छैनन्।

मैदानमा खेलाडीको प्रदर्शन राम्रो हुन सकेको छैन। त्यसैले नेपालमा कुनै पनि खेल हुँदा हुटिङ लगाउन आइपुग्ने दर्शकहरु ‘फ्री इन्ट्री’ हुँदा पनि नेपाल टी २० लिगका खेलहरुमा मैदान परिसरमा ठूलो संख्यामा देखिएनन्।

खेलाडीहरुले पनि यो विषयलाई नजिकबाट हेरेका छन्। नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल दर्शकको उपस्थिति घट्नुलाई नेपाली टोलीको पछिल्लो प्रदर्शनसँग पनि जोडेर हेर्छन्।

‘हामीले पछिल्लो समय राम्रो गर्न सकिरहेका छैनौं। जसका कारण समर्थकहरु घट्दै जानु भएको छ,’ कप्तान पौडेलले नेपाल टी २० लिगका दौरान भनेका थिए, ‘तर हामीले राम्रो खेल्न थालेपछि फेरि हामीलाई समर्थन गर्न आउनुहुन्छ भन्ने मलाई विश्वास छ।'

त्यस्तै, अर्का खेलाडी दीपेन्द्र सिंह ऐरीको विश्वास छ : हामीले क्रिकेटमा राम्रो गर्न नसकेर दर्शक घट्नु भएको हो। हामीले राम्रो गरे उहाँहरु आउनु हुनेछ।

तर, प्रश्न उही दोहोरिन्छ : सिरिजको दुई हप्ता अघिसम्म पनि प्रशिक्षकको टुंगो नलागेको अवस्थामा कसरी नेपालको प्रदर्शन राम्रो हुन्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell