
चितवन : चितवनमा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन्। कात्तिक महिनामा स्थापना भएको बैंकिङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार परेका निवेदनमध्ये ६७ मुद्दा दर्ता भएका छन्। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दर्ता भएका मुद्दामध्ये २६ मुद्दामा फैसला भएका छन्।
यस्तै, परेका निवेदनबाट २१ आन्तरिक छलफलबाट टुङ्ग्याइएको उनले बताए। उनले भने, ‘चेक बाउन्सका दैनिक तीन हाराहारी उजुरी पर्ने गरेका छन्। उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीका छन्।’
चेक अनादर गर्ने क्रम बढ्दो क्रममा रहेको जनाउँदै उनले पैसा कमाउन सजिलो बाटो रोज्दा समस्या बढेको बताए। बैंकिङ कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिबाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ।
पछिल्लो समय चेकलाई केही होइन भन्नेको सङ्ख्या बढ्दो रहेकाले पनि समाजमा बैंकिङ कसुर बढ्दै गएको पण्डितले बताए।