PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चुहावट नियन्त्रण गर्न डिपो र ट्यांकरमा बटम लोडिङ प्रणाली ल्याउँदै निगम, कति लाग्छ खर्च?



शुक्र गिरी

चुहावट नियन्त्रण गर्न डिपो र ट्यांकरमा बटम लोडिङ प्रणाली ल्याउँदै निगम, कति लाग्छ खर्च?

काठमाडौं : पेट्रोलियम पदार्थको भाउ घटेर आउँदा बिक्री मूल्य नघटाउने नेपाल आयल निगमलाई टाउको दुखाइ चुहावटको छ। अब निगम डिपो र ट्यांकरमा नयाँ प्रविधि ‘बटम लोडिङ सिस्टम’ लागू गर्ने तयारीमा छ।

सुरक्षाका लागि उपयुक्त मानिएको यो प्रविधि सुरुमा केही खर्चिलो भएपनि चुहावट नियन्त्रणलाई नै मुख्य मानेर प्रयोगमा ल्याइने भएको हो। हाल निगमले ‘टप लोडिङ’ प्रणालीअन्तर्गत काम गरिरहेको छ।

ट्यांकरको माथिबाट खुला रुपमा पेट्रोलियम पदार्थ लोड तथा अन-लोड गरिने यो प्रणाली ज्वलनशील पदार्थका जोखिम र वातावरणीय हिसाबले राम्रो मानिदैन। साथमा चुहावटको समस्या पनि रहिआएको छ।

बटम लोडिङ प्रणालीमा ट्यांकरको तल्लो भागबाट बन्द गरिएको अवस्थामा पेट्रोलियम पदार्थ लोड तथा अन-लोड गर्न सकिन्छ। यसले पेट्रोलियम पदार्थ लोड तथा अन-लोड गर्दा चुहावट नहुनुका साथै सुरक्षित पनि हुने निगमका प्राविधिक बताउँछन्।

बटम लोडिङ सिस्टम भारतमा लागू भइसकेको छ। तेलका डिपोहरुमा आगलागी हुने र पर्यावरणमा पनि प्रतिकूल असर गरेको भन्दै भारत सरकारले अग्नि सुरक्षासम्बन्धी नीति नै बनाएर यो प्रविधिको लागू गरिसकेको छ। नीति ल्याएसँगै सबै डिपो र ट्यांकरहरुमा बटम लोडिङबाट काम हुन थालेको छ।

नेपालमा भारतबाट पेट्रोलियम पदार्थको आयात गरिन्छ। ‘हामीले पनि समय-समयमा प्रणाली अपग्रेड गर्नु जरुरी भएकाले सुरक्षित र मितव्ययी हुने विधि लागू गर्न लागेका हौँ,’ नेपाल आयल निगमका उपमहानिर्देशक विनितमणि उपाध्यायले भने।

उनका अनुसार यो प्रणाली लागू गर्ने बाटो सहज बनाउन भारतले नेपालकै लागि भनेर बैतालपुर डिपोलाई बटम लोडिङ प्रविधिमा तयार पारिसकेको छ। ‘बैतालपुर डिपोबाट पेट्रोल आउँछ। अमलेखगंजबाट भैरहवासम्म डिजल जान्छ’, उनले भने, ‘उनीहरुले बटम लोडिङ सिस्टम लागू गरेपनि नेपालको लागि मात्र भनेर छुट्टै टप लोडिङका सिस्टमहरु राखिरहेका छन्।’

सोही बमोजिम इन्डियन आयल कर्पोरेशनले पनि नेपाल आयल निगमलाई बटम लोडिङ सिस्टममा जान ताकेता गर्दै आइरहेको उनले बताए। सुरक्षाको दृष्टिकोणले टप लोडिङ सिस्टम उपयुक्त नदेखिएको उनको उपाध्यायको भनाइ छ।

‘उनीहरुले तपाईहरुको ट्यांकरलाई जतिसक्दो चाँडो बटम लोडिङ सिस्टममा परिवर्तन गर्नु भनेका छन्’, उनले भने, ‘त्यही अनुसार हामी यहाको डिपोहरुको टप लोडिङ सिस्टम हटाउँछौँ भनेर जानकारी गराउँदै आएका छन्।’

हाल रक्सौल डिपो यही कारण बन्द भएको छ। यो डिपोबाट नेपाल आउने पेट्रोलियम पदार्थ अहिले बरौनी डिपोबाट आइरहेको छ।

‘यस्तै आइओसीले रक्सौलको उक्त डिपो हटाएपछि मोतीहारीमा अर्को बटम लोडिङ सिस्टमको डिपो निर्माण गरिरहेको छ। यो अन्तिम चरणमा पुगेको छ’, उपाध्यायले भने, ‘यसका लागि केही पूर्वाधारमा परिवर्तन गर्नुपर्ने हुन्छ। त्यो गर्दैछौं।’

त्यही अनुसार निगम यस योजनामा अगाडि बढिरहेको उपाध्यायले बताए। उनका अनुसार यो प्रविधिले आगलागी हुने जोखिम कम हुन्छ। यसले पर्यावरणलाई स्वच्छ राख्‍न मद्दत गर्छ। जसरी अहिले भइरहेको लोडिङ सिस्टमले लोड वा अनलोड गर्दा हुने चुहावट यो नयाँ प्रविधिको प्रयोग भएपछि हट्छ।

इन्डियन आयल कर्पोरेसनले लागू गरेकै प्रणाली प्रयोगको बाध्यता नभए पनि छिटो आगलागी र चुहावटको जोखिम भएको पदार्थ भएकाले सुरक्षा र खर्चमा मितव्ययिताका दृष्टिले नयाँ प्रणाली प्रयोगमा निगम व्यवस्थापन तयार भएको उनले जानकारी दिए। ‘सरकारले बनाएको कार्बन इमिसन जेरोमा ल्याउन लक्ष्य भेट्न समेत यो नयाँ प्रणालीले सहयोग पुर्‍याउँछ,’ उनले भने।

टप लोडिङ सिस्टममा १ मिनेटमा १२०० लिटर पेट्रोलियम पदार्थ लोडिङ तथा अन-लोड गर्न सकिन्छ। बटम लोडिङ सिस्टम लागू भएपछि भने १ मिनेटमा २४०० लिटर पेट्रोलियम पदार्थ लोड तथा अन-लोड गर्न सकिने उपाध्यायले बताए।

‘यसले दोब्बर समयको खपत कम हुन्छ। अहिले ५ घन्टा लाग्ने समय यो नयाँ सिस्टम लागू भएपछि २ घन्टामा काम सकिन्छ। यही हिसाबले जनशक्ति पनि कम लाग्छ। सेफ्टीको हिसाबले राम्रो हुन्छ,’ उनले भने।

अहिले भएका ट्यांकरहरुमा टप लोडिङ हुदा भेपहरु सबै खोलेर लोडिङ तथा अन-लोडिङ गर्नुपर्छ। यो बेला काम गरिरहेका र आपपास रहेका मानिसहरुलाई सास फेर्न गार्हो हुने हुन्छ। यसले कामदारहरुको स्वास्थ्यमा प्रतिकूल असर पार्छ। नयाँ प्रविधिमा त्यो समस्या नहुने उनको भनाइ छ।

ट्यांकर कन्भर्जन गर्न ६ लाख खर्च लाग्ने

निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतका अनुसार नयाँ प्रणाली लागू गर्न हाल प्रयोगमा रहेका ट्यांकरहरु सबै ‘बटम लोडिङ सिस्टम’मा रुपान्तर गर्नुपर्छ। ट्यांकरमा सिस्टम राख्‍न लगभग १० लाख (६ लाख ६० हजार भारु) रुपैयाँ खर्च लाग्ने कोटेसन निगमले तयार पारेको छ।

‘अहिले भएका ट्यांकरहरुमा सबै टप लोडिङको व्यवस्था छ। त्यसैले यो सिस्टम पुरै परिवर्तन गर्नुपर्ने हुन्छ। त्यसैले कि नयाँ ट्यांकर किन्ने र कि पुरानो ट्यांकरलाई कन्भर्जन गर्नेभन्दा अर्को विकल्प छैन,’ गोइतले भने।

उनका अनुसार खर्च गरेर भए पनि नयाँ प्रणालीमा जान निगम तयार छ। ‘आफ्ना ट्यांकरमा लाग्ने खर्च अहिले व्यवसायीले बेहोर्नु पर्ने हुन्छ। निगमले ढुवानी भाडामा समावेश गरेर नाफासहित व्यवसायीलाई तिर्ने व्यवस्था गर्नेछ’, निर्देशक गोइतले भने, ‘त्यही अनुसार यो योजनामा व्यवसायीले काम गर्नुपर्छ। यो सबै खर्च ढुवानीको भाडामा समावेश गरिन्छ।’

आधिकारिक वर्कशप वा संस्थाले ट्यांकरहरुमा नयाँ प्रविधि राखिदिने छन्। ‘यो अन्य ठाउँमा कन्भर्जन गर्न मिल्दैन। त्यसलाई निगमले मान्यता दिने छैन,’ गोइतले भने।

निगमले हाल केही यस्तो प्रविधिको नयाँ ट्यांकरहरुका लागि अर्डर दिइसकेको उनले बताए। अहिले १८ वटा ट्यांकरहरु अर्डर गरिएको छ।

पेट्रोलियम ट्यांकर व्यवसायी महासंघको अध्यक्षमा मनोज दासले निगमले ढुवानीको भाडा, यसको लगानी र नाफासहितको निर्धारण गर्ने हो भने नयाँ प्रणालीमा जान आफूहरु तयार रहेको बताए। ‘यसका लागि निगमले चरणबद्ध काम गरोस्’, उनले भने, ‘यसमा हुने हाम्रो लगानी र नाफा सुनिश्चित गरेर नयाँ भाडादर कायम गर्नु आवश्यक छ।’

दासका अनुसार पुरानो ट्यांकरहरुलाई कन्भर्जन र नयाँ ट्यांकर किन्न आवश्यक छ। ‘धेरै पुराना ट्यांकरलाई कन्भर्जन गर्न सकिदैन। यो सिस्टम धान्न धेरै पुराना ट्यांकरले सक्दैन’, उनले भने, ‘नयाँ ट्यांकरमा यो प्रविधि राख्‍न २० लाख रुपैयाँ खर्च लाग्छ। अहिले निगमले भैरहवाका लागि भनेर ६० वटा पेट्रोलको यस्तो प्रविधिको ट्यांकर माग गरेको छ।’

उनका अनुसार नेपालभरी १ हजार ८०० वटा ट्यांकर छन्। सबैमा एकै पटक नयाँ प्रविधि राखिने होइन। त्यही प्रविधि भएका डिपोहरु भएपछि मात्र विस्तारै माग अनुसार ट्यांकरहरु बटम लोडिङ सिस्टममा निर्माण हुने दासले बताए।

लागू गर्न समिति गठन

गोइतका अनुसार यसलाई कसरी लागू गर्ने भन्ने अध्ययन गर्न समिति गठन गरिएको छ। निगमका पदाधिकारीहरु सम्मिलित समितिको संयोजक नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्र छन्।

उक्त समितिले यसलाई कसरी लागू गर्ने भन्ने बारेमा अध्ययन गर्ने र प्रतिवेदन तयार पार्नेछ। प्रतिवेदन अनुसार निगमले काम अघि बढाउने छ।

समितिले अध्ययनको काम अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन बनाउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell