
मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा १० का वडाध्यक्ष अमृत खनाल हिजोआज आफ्नो वडाको घरदैलोमा भेटिन्छन्। सामाजिक सुरक्षा भत्ता घरघरमै वितरण गर्न घरदैलोमा खटेका हुन् उनी।
बैंकसम्म जाँदा हैरानी र सास्ती खेपेकी धनकुमारी पराजुली घरमै भत्ता पाउँदा खुसी सुनिए। वडाले बैंकसँग सहकार्य गरेर शाखारहित बैंक सेवा सुरु गरेपछि धेरैले खुसी मानेको पराजुलीले बताइन्।
बिहान बैंक जाँदा बेलुकासम्मै समय लाग्ने समस्याबाट अब मुक्ति पाएको लिलाकुमारी अधिकारीले बताइन्। छोरानातीको सहयोगपछि मात्र आइपुग्ने भत्ता वडाबाट सीधै हातमा पर्दा मक्ख छिन् अधिकारी।
स्थानीय सरकारले गरेको पहलले आफूलाई सहज भएको यज्ञबहादुर पराजुली बताउँदै थिए। पूर्ण अपाङ्गता परिचयपत्र भएका पराजुलीलाई बैंकसम्म जान पनि समस्या हुने गरेको थियो। अहिले घरमै पुगेर भत्ता पाँउदा गर्व लागेको उनले सुनाए।
वडावासी नागरिकको सहजतालाई ख्याल गर्दै भत्ता घरघरमै पुर्याइएको वडाध्यक्ष खनालले बताए। बैंक आफैं जाने वा बैंकले तोकेको अभिकर्तामार्फत यो सेवा लिन सकिने छ। यसो गर्दा नागरिकलाई सहज हुने र बैंकमा पनि चाप घट्ने वडा अध्यक्ष खनाल बताउँछन्।
लक्ष्मी बैङ्कको बैङ्किङ प्रणालीबाट वडा नम्बर १० का लागि अभिकर्ताको रुपमा कार्की किराना पसललाई सहजीकरणको जिम्मा दिइएको छ। घरमा पुगेर वितरण गरिसकेपछि बैंकले अभिकर्ताको खातामा पैसा जम्मा गरीदिने अभिकर्ता दीपेन्द्र कार्कीले बताए।