PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हरेक वर्ष करोडौं खर्चेर मकवानपुर गोल्डकप आयोजना तर खेलाडी उत्पादन शून्य, भएका पनि विदेश भासिए



निशा गुरुङ

हरेक वर्ष करोडौं खर्चेर मकवानपुर गोल्डकप आयोजना तर खेलाडी उत्पादन शून्य, भएका पनि विदेश भासिए

हेटौंडा : केहि साताअघिमात्रै चौथो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको हिसाबकिताब सार्वजनिक गरियो। आयोजक मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरि जेठ १९ देखि ३० सम्म हेटौंडामा सम्पन्न प्रतियोगिताको आयव्यय सार्वजनिक गरेका थिए।

प्रतियोगितामा करिब १ करोड ३१ लाख ५६ हजार आम्दानी भएकोमा १ करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो। अध्यक्ष टीका लामाका अनुसार २१ लाख ३६ हजार रुपैयाँ बचत छ भने अझै २ लाख ५१ हजार रुपैयाँ उठ्न बाँकी छ।

बचत रकममध्ये ५ लाख रुपैयाँ प्रतियोगिता सञ्चालन भएको स्थान पिप्लेक्याम्पा रंगशालालाई हस्तान्तरण गरिनेछ। प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास परिषद्ले ४२ लाख, हेटौंडा उपमहानगरले २४ लाख, हेटौंडा स्कुल अफ म्यानेजमेन्टले ७ लाख र टिकटबाट २२ लाख रुपैयाँ संकलन भएको थियो।

प्रतियोगिताको पुरस्कारमा २८ लाख, खेलाडी तथा रेफ्री भत्तावापत् ३८ लाख, प्रचारप्रसार तथा मैदान व्यवस्थापनमा १० लाख रुपैयाँ खर्च भएको आर्थिक संयोजक सुनील लोप्चनले जानकारी दिए। विजेता त्रिभुवन आर्मी क्लबले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ जितेका थिए।

जिल्ला फुटबल संघले पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २९ गतेबाट सुरु गर्दै छ।

जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको प्रतियागितामा मकवानपुरको स्थानीय तहहरुको आर्थिक सहयोग रहने गरेको छ। तर, लगानी अनुसारको प्रतिफल नहुँदा गरेको लगानी बालुवामा पानी सरह भएको हो।

जिल्लाका स्थानीय तहहरुले गोल्डकप सञ्चालनका लागि सम्पूर्ण लगानी गर्ने गरेका छन्। अघिल्लो वर्ष गोल्डकप सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले १० लाख, जिल्ला समन्वय समिति र अन्य स्थानीय तहले ५-५ लाखका दरले सहयोग गरेका थिए। तर, स्थानीय तहको लगानीबाट मकवानपुरको खेल क्षेत्रमा खेलाडी उत्पादन हुन सकेका छैनन्। उल्टै भएका राम्रा खेलाडिसमेत विदेशिन थालेका छन्। 

मकवानपुरका महत्वपूर्ण खेलाडीहरु विदेशमा 

मकवानपुरलाई यसअघि देशभर चिनाउन भूमिका खेल्दै आएका महत्वपूर्ण खेलाडीहरु यतिबेला स्वदेशमा छैनन्। मकवानपुरमा जन्मिएर, हेटौंडाका खेलमैदानमा फुटबल सिकेर राष्ट्रिय टोली र राष्ट्रिय लिग खेलिसकेका अञ्जन विष्ट, रञ्जन विष्ट, अमिर श्रेष्ठ, सुनिल बल, एलन न्यौपाने, रोहित कार्की, रवि थिङ र सुशान्त लामाले मकवानपुरलाई खेलकुदबाट पहिचान दिलाएका थिए। तर, उनीहरुमध्ये अञ्जन र सुनिल मात्रै स्वदेशमा छन्।

निरन्तर राष्ट्रिय टिममा रहँदै आएका अञ्जन र सुनिललाई छोडेर रञ्जनदेखि पछिल्लो समयका उदयीमान खेलाडी रोहितसम्म विदेश भासिएका छन्। यसअघिको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा रञ्जन, अमिर, रोहित, रविले खेलेका थिए। यसले पनि मकवानपुरका खेलाडीहरुले राष्ट्रिय टिमदेखि ए डिभिजन लिगमासमेत अर्थपूर्ण सहभागिता जनाउँदै आएको देखिन्छ। तर, स्वदेशमा खेलकुद संरचना बलियो नहुनु र खेलेर नै जीविकोपार्जन गर्न नसकिने अवस्थाका कारण प्रतिभाशाली तथा उदीयमान मकवानपुरे खेलाडी सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया भासिएका छन्।

कुनैबेला राष्ट्रिय टिममासमेत रहेका र चर्चित क्लब थ्रीस्टारको पहिलो रोजाईका गोलरक्षक एलन न्यौपाने करिब २ वर्ष अघि नै अष्ट्रेलिया भासिएका

थिए। उनी स्वदेश फर्किएनन्। एलनपछि ए डिभिजन लिगका महत्वपूर्ण खेलाडीहरु अमिर, रोहित, रवि पनि अष्ट्रेलिया पुगेका छन्। पछिल्लो समय केही दिनअघि मात्रै हेटौंडाका फर्वाड रञ्जन पनि अष्ट्रेलिया गए। रञ्जन पूर्वराष्ट्रिय खेलाडी हुन भने लिगको गत सिजनमा एनआरटीबाट खेल्थे। लिगमा फर्वाड अमिरले जवलाखेलबाट खेलेका थिए भने रवि सशस्त्र प्रहरीको एपीएफ क्लबमा जोडिएका थिए। गोलरक्षक रोहित कार्की संकटबाट खेल्ने गरेका थिए।

रोहित एन्फाको एकेडेमीबाट उमेर समूहमा प्रतिस्पर्धा गर्दै लिगमा स्थान बनाएका खेलाडी हुन्। यस्तै, मोफसलका ठूला प्रतियोगिता खेलेका अञ्जनको ब्याचका सुशान्त लामा सबैभन्दा पहिला अष्ट्रेलिया भासिएका थिए। उनी श्रीमतीसहित अष्ट्रेलिया पुगेका हुन्।

वर्षौंको लगानीबाट तयार भएको एउटा पुस्ता बाहिरिँदा अन्तर्राष्ट्रिय टिम निर्माणमा संकट आउने देखिन्छ। नेपालमा व्यवसायी फुटबल खेलिरहेका दुई दर्जन भन्दा बढी खेलाडी अष्ट्रेलिया पुगिसकेका छन्। फुटबलहरु हेमन गुरुङ, एनल न्यौपाने, सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, बिमल राना, सन्तोष तामाङ, शिव गुरूङ, राजन गुरुङ, नवीन गुरुङ, आकाश बुढामगर, रुमेश बर्तौला, अभिषेक रिजाल, हेमन्त थापामगर, रेजिन सुब्बा, सुमन अर्याल, गौतम श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी, राजेन्द्र रावल, विश्व अधिकारी, नितिन थापा, अजित, राई, रोहित कार्की, सूर्य अधिकारी, रुपक लामा, त्रिदेव गुरुङ, मिक्छेन तामाङ, रवि थिङ, रन्जन विष्टलगायत अन्य खेलाडी पनि अष्ट्रेलिया भासिएका छन्। यी मध्ये अधिकांशले हेटौंडामा फुटबल खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell