विराटनगर : नेपाल प्रेस युनियनको प्रदेश १ को पहिलो अधिवेशन संस्थापन पक्षले बहिष्कार गर्दै अर्को (समानान्तर) समिति बनाउने घोषणा गरेको छ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था भनिने प्रेस युनियनको प्रदेश १ को पहिलो अधिवेशनको बन्दसत्र पार्टीका संस्थापन पक्ष समूहले बहिष्कार गरेका हुन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शनिवार अधिवेशनको उद्घाटन गरेका थिए। संस्थापन पक्ष अधिवेशनको उदघाटन सत्रमा भने सहभागी थिए।
संस्थापन पक्षबाट अध्यक्ष पदका आकांक्षी पवन अधिकारीले अधिवेशनमा हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएपछि अधिवेशन बहिष्कार गरिएको बताए।
अधिकारीले विज्ञप्ति जारी गर्दै पत्रकारहरूको एउटा हिस्सालाई नै पाखा लगाउँदै षड्यन्त्रपूर्वक नेतृत्व चयन गर्न खोजिएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा अधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक नगरिएकाले विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिहरू घर फर्किइसकेको अवस्थामा एकपक्षीय ढंगमा निर्वाचन गराउन खोजिएको आरोप लगाइएको छ।
अधिकारीले भने, ‘यसरी गरिएको कथित निर्वाचनको नौटंकी प्रति असहमति प्रकट गर्दै त्यस्तो तथाकथित निर्वाचनमा भाग नलिने ठहर गरेका छौं।’
उनले नेतृत्वमा रहेका केही व्यक्तिको हठ र बलमिच्याइँका कारण सहमतिको प्रयास विफल बनाइएको भन्दै यसप्रति दुःख व्यक्त गरेको जनाएका छन्।
उनले एकपक्षीय ढंगले समिति निर्माणमा जालझेल गर्दै अग्रजहरूप्रति अपमानजनक ढंगको व्यवहार गरिएको भन्दै विज्ञप्तिमा आपत्ति जनाएका छन्।
अधिकारीले सम्मानजनक सहभागिता नभएका अवस्थामा त्यस्तो कथित निर्वाचनको नौटंकीलाई बहिष्कार गर्दै योग्य र सक्षम पत्रकार साथीहरूको व्यापक सहमति र समर्थनमा नेपाल प्रेस युनियन प्रदेश १ को कार्यसमिति चयन गरिने जानकारी गराएका छन्।