
काठमाडौं : आगामी फागुन ५ गतेबाट रिलिज हुने फिल्म ‘फूलबारी’को मोफसल यात्रा सुरु भएको छ। फिल्मले कलेज क्याम्पेन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम सुरु गरेको हो।
गत शुक्रवारदेखि बुटवलबाट सुरु प्रमोसन यात्रा माघ २१ गतेसम्म चल्नेछ। फिल्म प्रोमोसन आयोजक तथा व्यस्थापक पीभीइ नेटवर्कका अनुसार यो समयावधिमा फिल्म युनिट पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछन्। टिममा प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत छन्।
फिल्म युनिटले आइतवार पोखरा, मंगलवार चितवन, बिहीवार इटहरी र शुक्रवार बिर्तामोडमा कार्यक्रम गर्दैछ। फिल्मका निर्माता मनीष ढकालका अनुसार निश्चित सहरको उच्च जनसंख्याका आधारमा कलेज गन्तव्य चयन गरिनेछ।
‘नेपाली फिल्मको इतिहासमा पहिलोपटक ठूलो संख्यामा कलाकारलाई प्रचारप्रसार अभियानमा सहभागी गराउँदै प्रोमोसनलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेछौं। फिल्मले पब्लिक इभेन्ट अन्तर्गत मुख्य बजारको सडक छेउमा दैनिक रुपमा मानिसहरुको भीड हुने स्थानमा कार्यक्रम गरिनेछ। कायक्रममा फिल्मका कलाकारको स्वागत, फोटो सेसन र जीवन तथा फिल्मसँग सम्बन्धित प्रेरक कुराकानी हुनेछन्,’ ढकालले भने।
व्यवस्थापक पीभीइले दैनिक जीवनमा देखिरहेका कार्यक्रमभन्दा मिट एण्ड ग्रिटमा ‘फूलबारी’ टिम फरक रुपमा प्रस्तुत भई नेपाली फिल्म उद्योगका लागि नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ। यसमा कलाकारले दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन्।
रामबाबु गुरुङ निर्देशित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतको अभिनय छ।