
काठमाडौं : बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुढानीलकण्ठ नगरपालिका-११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा नगर प्रमुख अधिकारीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समेत नगर क्षेत्रमा पानी वितरणका लागि पाइप विछ्याइरहेको जानकारी दिए।
कार्यक्रममा वडा सदस्यद्वय शर्मिला गौतम र सम्बर गुरुङले वडामा भएका विभिन्न समस्या खानेपानी अभाव, फोहोरमैला व्यवस्थापनलगायत छिट्टै सामाधान गरिने बताएका थिए। कार्यक्रममा स्थानीय बालकृष्ण पौडेलले टोलमा ठूलो समस्याका रुपमा रहेको खानेपानीको विषयलाई समाधान गर्न स्थानीय सरकारको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिएका थिए।
समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको ज्येष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाई प्रदान गरिएको छ। कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष राजु अधिकारी, वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई, वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराईलगायतलाई पनि सम्मान गरिएको थियो।