PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'केपी ओली फुटबल क्लब' खोल्दै युवा संघ, योजना ए डिभिजन लिगको



प्रकाश भण्डारी

'केपी ओली फुटबल क्लब' खोल्दै युवा संघ, योजना ए डिभिजन लिगको

काठमाडौं : नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले फुटबल क्लब खोल्ने तयारी गरेको छ। युवा संघले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा क्लब खोल्ने तयारी गरेको हो। केपी ओली फुटबल क्लब (केपी एफ सी) क्लब खोल्ने तयारी भएको युवा संघका एक नेताले बताए।

'हाम्रो आफ्नै एउटा आधिकारिक फुटबल क्लब खोल्ने भन्ने छ। त्यसको नाम केपी एफ सी हुनेछ,' ती नेताले भने। फागुन ११ गतेदेखि 
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप हुन लागेको छ। उक्त प्रतियोगतिमा पनि केपी एफ सीबाट प्रतिनिधित्व गराउने तयारी युवा संघले गरेको छ।

'अहिले हामीले केपी ओली कप गराउँदै छौं। त्यसमा आयोजकका तर्फबाट केपी एफ सीका खेलाडीहरुले प्रतिनिधित्व गर्नुहुन्छ,' उनले भने। उनले केपी एफसी क्लबलाई ए डिभिजन क्लब बनाउने गरी तयारी भएको पनि उनको भनाइ छ। खेल फागुन ११ गतेबाट सुरु हुने भएको छ। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको आयोजनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना हुन लागेको हो।

केपी ओली कपमा के-के हुन्छ?

प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख तथा दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्ने छन्। त्यस्तै प्रत्येक खेलको विजेताले २५ हजार तथा हरेक खेलका उत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्दा उदीयमान खेलाडीले ५० हजार प्राप्त गर्ने आयोजक युवा संघले जनाएको छ।

'केपी ओली कपको नाममा एउटा लेगेसी ट्रासफर्म हुन्छ। यो दीर्घकालीन जान्छ। यो सुरुवातमात्र हो,' संघका अध्यक्ष किरण पौडेलले भनेका थिए, 'प्रतियोगिताका लागि ठोस रुपमा प्रायोजन आजको दिनसम्म छैन। मूलभूत रुपमा संगठनका साथीहरु विभिन्न पेसा, व्यवसायमा हुनुहुन्छ। ठूलो रेस्टुराँको सञ्जालदेखि धेरै कर्मचारी भएका संस्थाहरुसम्म हाम्रै साथीहरुका छन्। यो हुनाले सबै साथीहरुबाट सहयोग मिल्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell