PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'घरको शिक्षा' सार्वजनिक कार्यक्रममा वक्ताको प्रश्न : अहिलेका विद्यार्थी शिक्षक बन्न किन चाहदैनन्?



पहिलोपोस्ट

'घरको शिक्षा' सार्वजनिक कार्यक्रममा वक्ताको प्रश्न : अहिलेका विद्यार्थी शिक्षक बन्न किन चाहदैनन्?

काठमाडौं : पत्रकार एवं साहित्यकार दामोदर न्यौपानेको नवौं कृति 'घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ' सार्वजनिक भएको छ। शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रममाझ प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले कृति संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

कृतिमा सन्तान हुर्काईको विषयलाई सरल रुपमा प्रस्तुत गरिएको मनोविद् ज्ञवालीले बताए। कोरोनाकालमा लकडाउन हुँदा घरमै धेरै बालबालिकाल आत्महत्या गरेको प्रसंग सुनाउँदै घरको शिक्षा उपयोगी कृति रहेको बताएका हुन्।

'बालबालिका लकडाउनमा घरमै असुरक्षित रहेको पाए। धेरैले आत्महत्या गरेको भेटियो। घर जुन सबैभन्दा सुरक्षित मानिन्छ – त्यही नै,' ज्ञवालीले भने। तर न्यौपाने लिखित कृतिमा बालबालिकालाई समय दिएमा नतिजा राम्रो आउने विषय उल्लेख गरिएको उनले बताए।

अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले किताबमा बालबालिकाका मनोविज्ञान समेटेको बताइन्। विद्यार्थीलाई अबका दिनमा भावनात्मक रुपमामात्र सिकाई अघि बढाउन सकिने उनको भनाई थियो। 'शिक्षा एकदम गाह्रो विषय भइसकेको छ। गुगलिङबाटै सिक्न सक्छन्। अब उनीहरुको इमोसनमा हो हामीले पढाउने,' भट्टराईले भनिन्।

घरको शिक्षा कृतिमा यसका प्रतिबिम्ब भएको उनको भनाई रह्यो।

नेपाल शिक्षक संघका महासचिव सुवेदीले न्यौपानेको पछिल्लो कृति पठनीय रहेको बताए। 'यो कृति पठनीय छ। संग्रहनीय छ। शिक्षक अभिभावक सबैका लागि उपयोगी देखिन्छ,' सुवेदीले भने। उनले किताब आफ्ना लागि एना नै बनेको उल्लेख गरे। '५ घण्टा बढी लाग्छ पढ्न। यो अभिभावकीय पाटोमा पुस्तक भएन। दर्पण भयो। शिक्षकको रुपमा दर्पणको रुपमा देखें। मैले धेरै कमजोरी देखें म मा। यो ऐनाको रुपमा पाएँ। विद्यार्थीको रुपमा बाल्यकाल सम्झें।' असल अभिभाकत्व कृतिको उद्देश्य भेटिएको सुवेदीको भनाई थियो। 'बच्चाको विकास सामुहिक जिम्मेवारी हो। राज्यदेखि घरको। स्कुलको भन्दा घरको कर्तव्य ठुलो हो। विद्यार्थीले पढेन भन्ने न्याराटिभ गलत छ भन्ने देखाएको छ,' उनले भने, 'असल अभिभाकत्व यसको अभीष्ट हो।'

कृतिमा पत्रकार न्यौपानेले आफ्ना छोरा हार्दिकको हुर्काईमा धेरै प्रश्न सामना गरेको र उनको सपनाबारे चर्चा गरेका छन्। कृतिमा हार्दिकले कहिल्यै शिक्षक बन्न नचाहेको देखेपछि शिक्षणसमेत गरेका सुवेदीले कार्यक्रममा सहभागीहरुलाई प्रश्न गरे, 'हार्दिकहरु किन शिक्षक बन्न चाहदैनन्? किन सिकाएनन् शिक्षकले, बुवाले, आमाले?'

शिक्षाविद् विद्यानाथ कोइरालाले कृति हेर्दा डायरीजस्तो पढ्दा किताबजस्तो पाएको बताए। 'घरको शिक्षा र स्कुलको शिक्षामा के फरक छ हेर, भनेर पिएचडीको विषय दिएको थिए एकजना विद्यार्थीलाई। यस्तै किताब आइसकेछ,' कोइरालाले भने, 'आधिकारिकता र रिफ्रेन्स प्रशस्त छन्। साहित्य पनि छ। हेर्दा डायरीजस्तो पढ्दा किताबजस्तो।' यद्यपि किताबमा सुधार्न सकिने विषय धेरै भएको उनको भनाई थियो।

लेखक न्यौपानेले असल नागरिक बनाउने अभियानकै लागि आफूले किताब तयार गरेको बताए। कृति कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा घर सबैभन्दा सुरक्षित स्थान भए पनि बालबालिकालाई सिकाइ र संस्कारसँग जोड्न नसक्दा हुनसक्ने सम्भावित घटना दोहरिन नदिन अभिभावक चनाखो हुनुपर्ने विषयमा केन्द्रित छ। गैरअख्यान विधाको किताब शिक्षा बुक्सले बजारमा ल्याएको हो। ४७१ पृष्ठको किताबको मुल्य ८९५ रुपैयाँ तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell