
काठमाडौं : यसपटकको लाटोकोसेरो महोत्सव कैलालीको घोडाघोडी नगरपालिका वडा ४ स्थित घोडाघोडी बर्ड सेन्चुरी नजिक रहेको माघी गाँउमा हुने भएको छ। माघ २० र २१ मा हुन लागेको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७९’ माघी होमस्टे नजिक रहेको नव प्रभात आधारभुत विद्यालयमा गर्न लागिएको हो।
दशौं संस्करणको उत्सवको आयोजक चरा संरक्षण नेटवर्क, कैलाली र प्रकृतिका साथीहरु हो। कार्यक्रमका लागि डीआर चौधरीको संयोजकत्वमा ७ सदस्यीय आयोजक मूल समिति र थप ६ वटा उपसमितिहरु गठन गरिएको छ।
किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको आयोजकले जनायो। यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङजामा यस्तो उत्सव सम्पन्न भइसकेको छ।
उत्सव शूरु हुनुअघि नै विभिन्न विद्यालयहरुमा लाटोकोसेरो चेतना शिवीरहरु सञ्चालन भैरहेको छ। उत्सवको समयमा चरा तथा प्रकृतिको अवलोकन, लाटोकोसेरा सम्बन्धी म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गीत तथा नाचको प्रर्दशनी गरिने कार्यतालकिा छ। साँइ किचकिच, छुर, टिटी, कोइली दिदी, भुरुङ, साराङ्गी हाटा जस्ता स्थानिय लोपोन्मुख खेलको प्रदर्शनीसमेत हुने आयोजकले जनायो।
उत्सवमा सांस्कृतिक कार्यक्रमहरु मुंन्ग्रहुवा, सखिया, झुम्रा, लाठी, हुर्दुङ्गुवा, देउडा खेल, कौडा नाचहरु तथा मनिरामको संरक्षण गीत आदिको प्रस्तुति हुनेछ। वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धि नाचसमेत प्रदर्शन गर्नेछन्।
उत्सवमा आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको छ। त्यसैगरी लाटोकोसेरोको एक फिट अग्लो रोबोटसमेत प्रदर्शनी गरिने आयोजकले जनायो।
राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार
उत्सवको अन्तिम दिन चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको छ। संरक्षणकर्मीहरुलाई जनही २५ हजार रुपैयाँसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ। यस वर्ष पुरस्कृत हुनेहरुमा बारेकोटे गाउँपालिका, जाजरकोटका संरक्षणकर्मी गोविन्दबहादुर सिंह, काठमाडौं, गोकर्णेश्वर–४ का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल, कान्तिपुर दैनिकसँग आबद्ध चितवनका पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे रहेका छन्।
संस्थागत सम्मान भने लामो समयदेखि विधार्थी परिचालन गरि चरा तथा प्रकृति संरक्षणमा योगदान गरेको विद्यालयलाई प्रदान गरिने भएको छ। यसरी सम्मानित हुनेमा यस वर्ष काठमाडौं, कीर्तिपुरस्थित क्रीयटीभ एकेडेमी रहेको छ।