
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का बोर्ड सदस्यहरुले नेतृत्वको राजीनामा माग गरेका छन्। आइतवार पत्रकार सम्मेलन गर्दै सदस्यहरुले नेतृत्वको राजीनामा माग गरेका हुन्।
टी २० लिगमा ‘स्पट फिक्सिङ’ बारे अनुसन्धान शुरु भएसँगै क्यान विवादमा फसेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत मंगलवार पत्रकार सम्मेलन गर्दै ‘स्पट फिक्सिङ’मा संलग्न भएका व्यक्तिहरुको विवरणसमेत सार्वजनिक गरिसकेको छ।
‘स्पट फिक्सिङ’का मूख्य योजनाकार भारतीय कम्पनी सेभेन थ्रीका प्रमुख जतिन अहलुवालिया भएको प्रहरीले सार्वजनिक गरेको छ। क्यानसँग सम्झौता गरेको कम्पनीकै प्रमुखको ‘स्पट फिक्सिङ’मा संलग्नता हुनु दुःखद् पक्ष भएको पत्रकार सम्मेलनमा क्यान सदस्यहरुले बताएका छन्।
‘साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्यान नेतृत्वको हो। त्यसमा पनि महत्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै प्रमुख दोषी हो,’ केन्द्रीय सदस्य ऋषिराम गौतमले भने, ‘हो, स्पट फिक्सिङ हुँदा संस्था विरलै संलग्न हुन्छन्। तर, यहाँ त साझेदार कम्पनी नै फिक्सिङमा संलग्न छ र जुन कम्पनीसँग क्यानले सम्झौता गरेको छ त्यसैले क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न सक्दैन।’
गत बिहीवार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले पत्रकार सम्मेलन गर्दै नेपाल टी २० लिग सञ्चालनमा गल्ती भएको स्वीकार गरेका छन्। क्यान सदस्यहरुले नेतृत्वले जानाजान गल्ती गरेको आरोप लगाएका छन्।
‘हामीले हिजो गल्ती हुन सक्छ भन्दै सचेत गराएका थियौं, आज आएर उहाँले त्यो गल्ती स्वीकार गर्नु भएको छ। त्यसैले उहाँहरुले जानाजान गल्ती गर्नु भएको हो। हामीले पटकपटक सचेत गराएका थियौं, तर उहाँहरुले जर्बरजस्ती निर्णय गर्नु भयो। यसले नेपाल क्रिकेटको मानमर्दन भएको छ,’ पत्रकार सम्मेलन भनिएको छ।
जिम्मेवार संस्थाका जिम्मेवार पदाधिकारीहरुले गल्ती स्वीकार गरेर मात्र नपुग्ने भन्दै क्यानको कार्यसम्पादन समितिका सबैले राजीनामा दिनुपर्ने केन्द्रीय सदस्यहरुले बताएका छन्। राजीनामा गरेर नेतृत्वले नेपाल टी-२० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायहरुलाई सघाउनु पर्ने उनीहरुको माग छ।
क्यान कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सदस्यहरुले माग गरेका छन्। केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरिलगायतले क्यान अध्यक्ष चन्दलगायत पदाधिकारीहरुको राजीनामा माग्दै कारवाहीकोसमेत माग गरेका छन्।