PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चीनमा साताव्यापी कोभिड १९ संक्रमितको मृत्युदरमा ५० प्रतिशतले कमी, वसन्त पर्वको साता ६ हजार बढीको मृत्यु



विधुर ढकाल

चीनमा साताव्यापी कोभिड १९ संक्रमितको मृत्युदरमा ५० प्रतिशतले कमी, वसन्त पर्वको साता ६ हजार बढीको मृत्यु
File Photo: Reuters

सांघाई : चीनले कोभिड-१९ सँग सम्बन्धित मृत्युका केसहरु निरन्तर ओरालो लागिरहेको जनाएको छ। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (चाइना सीडीसी)ले आइतवार सार्वजनिक गरेको तथ्यांकमा जनवरी २० देखि २६ सम्म ६ हजार ३६४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको उल्लेख छ।

उक्त संख्या अघिल्लो साता भन्दा झण्डै ५० प्रतिशतले कमी हो। अघिल्लो साता (जनवरी १३-१९) मा चीनमा १२ हजा ६५८ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको थियो।

चाइना सीडीसीले अस्पतालमा मृत्यु भएका ६ हजार ३६४ जनामध्ये २९८ जना मात्र भाइरसका कारण श्वासप्रश्वासमा समस्या उत्पन्न हुँदा मृत्यु भएको जनाएको छ। त्यस्तै, ६ हजार ७५ जना संक्रमितको मृत्यु कोभिड-१९ को कारण नभई अन्य समस्याबाट मृत्यु भएको उल्लेख छ।

पछिल्लो तथ्यांकअनुसार चीनमा तीन वर्ष यता ८० हजार बढीको मृत्यु भइसकेको छ। गत बिहीवारसम्म देशभर २ लाख २५ हजार ९ सय ५८ जना संक्रमित अस्पतालमा भर्ना भएको चाइना सीडीसीको तथ्यांकमा उल्लेख छ। जसमध्ये २६ हजार १५६ संक्रमित गम्भीर बिरामी रहेको उल्लेख छ। गम्भीर बिरामीमध्ये एक हजार ८९४ जनामा कोभिड-१९ को गम्भीर लक्ष्णका कारण श्वासप्रश्वासमा समस्या देखिएको र बाँकी २४ हजार २६२ जनामा अन्य रोग रहेको र संक्रमणसँगै गम्भीर भएको उल्लेख छ।

त्यस्तै, बिहीवारसम्म चीनमा कोभिड-१९ विरुद्धको खोपको ३ अर्ब ४८ करोड भन्दा बढी डोज लगाइसकेको सीडीसीको तथ्यांकमा उल्लेख छ। कुल संख्या १ अर्ब ३१ करोड जनसंख्यामा खोप लगाइएको र तीमध्ये एक अर्ब २७ करोडले पूर्ण खोप लगाइसकेको बताइएको छ। कम्तिमा एउटा बुस्टर खोप पूरा गर्नेको संख्या ८२ करोड ७० लाख रहेको सीडीसीले जनाएको छ।

डिसेम्बर २२, २०२२ को आसपासमा, चीनभरि कोभिड-१९ संक्रमणको संख्या र फिभर क्लिनिकहरूमा भ्रमणको संख्या ७० लाख नाघेको थियो। फिभर क्लिनिकहरूमा दैनिक रूपमा २८ लाख पुगेको थियो र जनवरी ४ मा मृत्यु हुनेहरूको संख्या दैनिक ४ हजार २७३ पुगेको थियो। यो दर क्रमशः घट्दै गएको छ। यो सँगै चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीहरुले देशमा कोभिड-१९ लहरको तीन उच्च विन्दु पार भइसकेको बताएका छन्।

यद्यपि, चीनमा कोभिड-१९ को मृत्युलाई कम देखाइएको भन्दै पश्चिमाहरुले आलोचना गरेका छन्। गत महिना चिनियाँ स्वास्थ्य आयोगले कोभिड-१९ का कारण श्वासप्रश्वासमा समस्या भई मृत्यु भएकाहरुको मात्रै लगत राख्ने घोषणा गरेको थियो।

त्यस्तै यसअघि दैनिक जारी हुँदै आएको संक्रमितको अध्यावधिक विवरणसमेत मासिक रुपमा सार्वजनिक गर्ने जनाएको थियो। यसको चौतर्फी आलोचना भएपछि मृत्यु हुने सबै संक्रमितको तथ्यांक राख्ने बताएको थियो।

चिनियाँ अधिकारीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप कोभिड-१९ संक्रमण पुष्टि भएका संक्रमितको मृत्युलाई तथ्यांकमा समावेश गरिएको दाबी गरेका छन्।

हाल सीडीसीको तथ्यांकमा अस्पतालमा रहेका दुई लाख ५ हजा ९५८ संक्रमितमध्ये करिब ४५ प्रतिशतमा गत साता मात्र संक्रमण पुस्टि भएको हो।

गत साता मात्र चीनमा गत वर्ष डिसेम्बर ८ देखि यस वर्ष जनवरी १२ सम्म करिब ६० हजारको मृत्यु भएको थियो। यो संख्यालाई पश्चिमाहरुले कम गणना भन्दै आलोचना गरिरहेका छन्।

सीडीसीको रिपोर्ट अनुसार चीनमा पीसीआर परीक्षणदर निरन्तर ओरालो लागिरहेको छ। गत डिसेम्बर ९ मा चीनमा १५ करोड परीक्षण भएकोमा जनवरी १ सम्म आइपुग्दा दैनिक ७५ लाखको हाराहारीमा परीक्षण भएको जनवरी २३ सम्म आइपुग्दा दैनिक २ लाख ८० हजारको मात्र परीक्षण भएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, तथ्यांकमा संक्रमण दर डिसेम्बर १५ मा २९.२ प्रतिशत रहेकोमा जनवरी २३ सम्म पुग्दा ५.५ प्रतिशत रहेको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell