PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'पशुपति प्रसाद' टिमले केक काटे, रिलिजको सातौं वर्षको खुसी साटे : अनि घोषणा भयो सिक्वेल 'भष्मे डन'को



पहिलोपोस्ट

'पशुपति प्रसाद' टिमले केक काटे, रिलिजको सातौं वर्षको खुसी साटे : अनि घोषणा भयो सिक्वेल 'भष्मे डन'को

काठमाडौं: दीपेन्द के खनालको निर्देशनमा फिल्म ‘पशुपति प्रसाद २ - भष्मे डन’ को ‌औपचारिक घोषणा भएको छ। ‘पशुपति प्रसाद’ को रिलिजको सात वर्ष पुरा भएको अवसरमा यस फिल्मको घोषणा गरिएको हो।

काठमाडौंमा आयोजित कार्यक्रमबिच रिलिजको सात वर्ष पुगेकोमा ‘पशुपति प्रसाद’ टिमले केक काट्दै खुसी साटे। निर्देशक खनालले सिक्वेलको घोषणा गर्दै पशुपति प्रसाद आफ्ना लागि विशेष फिल्म रहेको बताए। फिल्मको कथामा विश्वास भएर सिक्वेल बनाउन लागेको उनको भनाई छ।

‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’ माथि यो फिल्म निर्माण हुन लागेको हो। ‘पशुपति प्रसाद’ मा बिपिनले निर्वाह गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो। सिक्वेलमा विपिनसँगै सौगात मल्ल र स्वस्तिमा कार्की भित्रिएकी छिन्।

साथै फिल्ममा रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, मिश्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ।

पशुपति प्रसादका मुख्य अभिनेता खगेन्द्र लामिछाने भने सिक्वेलमा देखिने छैनन्। साथै वर्षा शिवाकोटीको पनि फिल्ममा दोहोरिने सम्भावना कम छ। खगेन्द्र भने फिल्ममा लेखक तथा निर्माताका रुपमा रहनेछन।

लामो तयारीपछि फिल्मको सिक्वेलको घोषणा गर्न सात वर्ष लागेको खगेन्द्रले बताए। ‘दीपेन्द्रजी र मेरो पशुपतिप्रसादको सिक्वेल बनाउने नबनाउने विषयमा कुराकानी हुन्थ्यो। तर, बनाउँदा अलि अर्थपूर्ण बनाउनुपर्छ भन्ने सोच थियो। जसकारण सिक्वेल घोषणा हुन लामो समय लाग्यो। पशुपति प्रसाद रिलिजको सात वर्षपछि सिक्वेल निर्माण गर्ने निर्णय गरेका छौँ। यो फिल्मलाई पनि मान्छेको मन जित्ने फिल्म बनाउने कोशिस हुनेछ,’ उनले भने।

अभिनेत्री स्वस्तिमाले पनि मन परेको फिल्मको सिक्वेलमा देखिन पाउँदा खुसी लागेको बताइन्। विपिन र सौगात भने कार्यक्रममा उपस्थित थिएनन्।

यो फिल्म आगामी वर्ष दशैं फूलपातीको अवसरमा प्रदर्शन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell