PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सभापतिबाट हटेको दुई दिनमै नेतृत्वमा फर्किए रवि, गृहमन्त्रीमा पनि होलान् 'कमब्याक'?



पहिलोपोस्ट

सभापतिबाट हटेको दुई दिनमै नेतृत्वमा फर्किए रवि, गृहमन्त्रीमा पनि होलान् 'कमब्याक'?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने सभापतिबाट हटेको दुई दिनमै फेरि पदमा फर्किएका छन्। आइतवार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई नै सभापतिमा प्रस्ताव गरेको उक्त पार्टीका एक नेताले बताएका छन्। सर्वोच्च अदालतले शुक्रवार लामिछानेलाई नेपाली नागरिकता पुन प्राप्त गर्नुपर्ने फैसला गरेको थियो।

उक्त फैसलापछि लामिछानेको सभापति, सांसद र गृहमन्त्री पद गएको थियो। 'केन्द्रीय समितिको बैठकले सभापतिमा लामिछानेलाई नै प्रस्ताव गरेको थियो। त्यो पारित भयो,' ती नेताले भने। शुक्रवार राति नै रास्वपाले कार्यवाहक सभापतिको जिम्मा श्रममन्त्री समेत रहेका डोलप्रसाद अर्याललाई बनाएको थियो। अर्याल नै संसदीय दलको नेता भएका थिए।

गृहमन्त्रीमा पनि होलान् कमब्याक?

लामिछाने गृहमन्त्रीबाट हटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच गृहमन्त्रीबारे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। उक्त छलफल गृहमन्त्रीबारे केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ। एमालेले लामिछानेलाई नै फेरि गृहमन्त्री बनाउन सकिने मत राखिरहेको भए पनि माओवादी केन्द्रका नेताहरुले भने प्रधानमन्त्रीले गृहमन्त्री आफ्नै पार्टीका नेतालाई बनाउनुपर्नेमा जोड दिइरहेका छन्।

लामिछानेलाई तत्काल गृहमन्त्री बनाए उनलाई गैर सांसदलाई पनि मन्त्री बनाउन सकिने संविधानको व्यवस्थाअनुसार बनाउनुपर्ने छ। गैर सांसद मन्त्री बने ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नु पर्छ। सांसद हुन नसके फेरी मन्त्री पद जाने व्यवस्था छ। चितवन २ बाट निर्वाचित भएका लामिछाने फेरि उक्त निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार हुने बताइन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell