PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हातखुट्टा टेपले बाँधेर पल्टाएको अवस्थामा महिलाको शव फेला, आफ्नै घरमा चलाउँथिन् होटल



पहिलोपोस्ट

हातखुट्टा टेपले बाँधेर पल्टाएको अवस्थामा महिलाको शव फेला, आफ्नै घरमा चलाउँथिन् होटल

बुटवल : गुल्मीमा आफ्नै घरभित्र एक महिलाको शव फेला परेको छ। मुसिकोट नगरपालिका–७ वामीकी ५७ वर्षीया गंगादेवी शेरचनको शव उनकै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बाग्लुङ बडिगाड गाउँपालिका–३ सिसाखानीकी शेरचनले ३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी थिइन्। बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयवासीले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार आइतबार बिहान स्थानीयले घरको चेनगेट भित्र शेरचनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी सोही घरमा एक्लै बस्दै आएकी थिइन्।

हातखुट्टा टेपले बाँधेर पल्टाएको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक रानाभाटले बताए। ‘घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छौँ’, उनले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’ शनिवार साँझ शेरचनको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयवासीले प्रहरीलाई बताएका छन्। उनीहरू बिहान निस्के ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन । गङ्गाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell