PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अमेरिकी चार तारे जनरलको मेमोले उब्जाएको शंका: के २०२५ मा चीन-अमेरिका युद्ध हुन्छ?, चिनियाँ विश्लेषक भन्छन् अतिरञ्जित टिप्पणी



विधुर ढकाल

अमेरिकी चार तारे जनरलको मेमोले उब्जाएको शंका: के २०२५ मा चीन-अमेरिका युद्ध हुन्छ?, चिनियाँ विश्लेषक भन्छन् अतिरञ्जित टिप्पणी
Photo: REUTERS/Joseph Campbell

सांघाई: आउँदो महिना अमेरिकी विदेश मन्त्रीलाई चीनले बेइजिङमा स्वागत गर्दै छ। पछिल्लो समय बेइजिङ र वासिङ्टनबीच कूटनीतिक तनाव बढ्दै जाँदा अमेरिकी उच्च शैन्य अधिकारीले चीनसँग २०२५ मा युद्ध हुने भन्दै तयारी अवस्थामा रहन आफ्ना मतहतका सैन्य अधिकारीलाई निर्देशनसमेत दिएका छन्। 

अमेरिकी वायु सेनाका चार तारे जनरल माइक मिनिहानले मेमो जारी गर्दै भनेका छन्- '"मेरो आत्माले भलाई भन्छ कि हामी २०२५ मा लड्नेछौँ।'

उनले यति भन्दै गर्दा आफू गलत हुँ भन्ने चाहेको समेत बताएका छन्। अमेरिकी वायु सेनाको एयर मोविलिटी कमाण्ड (एएमसी) का प्रमुखसमेत रहेका उनको मतहतमा ५० हजार सेना र करिब ५०० विमान छन्। यो कमाण्ड यातायात र रिफ्युलिङका लागि जिम्मेवार रहन्छ। 

फेब्रुअरी १ को मिति राखेर शुक्रबार नै पठाइएको सो पत्रमा उनले अमेरिका आगामी दुई वर्षमा चीनसँग लड्ने बताएका हुन्। 

यद्यपि उनको टिप्पणीलाई पेन्टागनले 'अमेरिकी शैन्य मूल्याङ्कनसँग मेल नखाने' बताएको छ।  

उनले २०२४ मा चीनले ताइवानमाथि नियन्त्रणको प्रयास गर्न सक्ने विश्लेषण पनि गरेका छन्। ताइवानमाथि चीनले आफ्नो दाबी गर्दै आएको छ। ताइवानले आफूलाई स्वतन्त्र राज्य दाबी गर्दै आएको छ। 

कूटनीतिक रुपमा ताइवानलाई अमेरिकाले चीनको अंग माने पनि ताइवानलाई रक्षा सहयोग गर्दै आएको छ। सन् २०२४ मा अमेरिका र ताइवानमा राष्ट्रपतीय चुनाव हुने र त्यही बेला चीनले ताइवान नियन्त्रण गर्ने प्रयास गर्नेसमेत मिनिहानले लेखेका छन्। 

यद्यपि अमेरिकी रक्षा मन्त्रालयले भने यसलाई आफ्नो मन्त्रालयको आधिकारिक धारणा नभएको बताएको छ। 'यी टिप्पणीहरुले मन्त्रालयको चीनप्रतिको दृष्टिकोणलाई प्रतिनिधित्व गर्दैनन्,' अमेरिकी रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै रोयटर्सले लेखेको छ। 

मन्त्रालयको आधिकारिक धारणा नभएको बताए पनि अमेरिकी रक्षा मन्त्रालयले मिनिहानको मेमो आधिकारिक मेमो भएको स्वीकार गरेको छ। 
केही अगाडि मात्र अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले ताइवान जलडमरु क्षेत्र नजिकै चिनियाँ शैन्य गतिविधि ताइवान टापुमाथि बेइजिङको अतिक्रमणको प्रयासको संकेत भएकोमा शंका रहेको टिप्पणी गरेका थिए। 

पहिलोपटक एनबीसी न्युजमा प्रकाशित उनको मेमोसम्बन्धी रिपोर्टमा एयर मोविलिटी कमाण्डका सबै एयर विङ् कमाण्डर तथा अन्य एयर फोर्स अपरेसन कमाण्डलाई सम्बोधन गरिएको छ। साथै उनीहरुलाई चीनविरुद्ध लड्नका लागि आवश्यक सबै प्रमख कदमहरुबारे फेब्रुअरी २८ भित्र रिपोर्ट गर्न भनिएको छ।

त्यस्तै उनले फेब्रुअरी महिनाभरि सबै एएमसीका अधिकारीलाई 'पूरा सुझबुझका साथ फायरिङ रेन्जमा जान मिनिहानले निर्देशन दिएका छन्। साथै उनले आफ्नो सबै रेकर्ड तथा आपतकालीन सम्पर्क अपडेट गर्नसमेत भनेका छन्। 

उनले मार्च महिनाभित्र सबै एएमसीका जवानहरुलाई आफ्नो व्यक्तिगत कामलाई थाती राख्दै सेवासम्बन्धी कानुनी कार्यालयमा पुगेर कानुनी तवरले तयार रहेको सुनिश्चितता गर्न समेत भनेका छन्। आफू मातहतका जवानहरुलाई केही तालिमका क्रममा केही चुनौतीहरुको सामाना गर्न तयार रहन समेत उनले भनेका छन्। उनले केसी-१३५ युनिटलाई १०० अफ-द-लेस्फ साइज र टाइप युएभीएस सिंगल एयरक्राफ्त उपलब्ध गराउन तयारी गर्न निर्देशनसमेत दिएका छन्। 

यसअघि इन्डो प्यासिफिक कमाण्डका एडमिरल फिलिप डेभिडसनले सन् २०२१ को मार्चमा सिनेटको आर्म सर्भिस कमिटीसँगको सुनुवाइमा ताइवान चीनको स्पष्ट लक्ष्य भएको बताएका थिए। 'यो दशकमा खतरा प्रकट हुन्छ। वास्तवमा, अर्को छ वर्षमा,' उनले भनेका थिए।

यता मिनिहानको मेमोलाई लिएर एयर फोर्सका बिग्रेडियर जनलरल प्याट्रिक रिडरले चीनसँगको शैन्य प्रतिस्पर्धा केन्द्रीय चुनौती भएको जनाएका छन्। उनले भनेका छन्- 'हाम्रो ध्यान शान्तिपूर्ण, स्वतन्त्र र खुला इन्डो-प्यासिफिक रक्षाका लागि हाम्रा मित्र तथा साझेदारसँग मिलेर काम गर्नमा केन्द्रित हुनेछ।'

त्यस्तै गत अक्टोबरमा अमेरिकी नेभीका प्रमुख एडमिरल माइकल गिल्डेले पेन्टागन कुनै पनि बेला शैन्य कदमका लागि तयार हुनुपर्ने टिप्पणी गरेका थिए। 

यता इन्डो प्यासिफिक कमाण्डका पूर्व सल्लाहकार एरिक सायरले मिनिहान अमेरिकी सेनाको प्यासिफिक कमाण्डमा दशक लामो सेवा गरेको र 'चाइना थ्रेट'लाई अरु कसैले भन्दा बढी जान्ने र बुझ्ने रहेको बताए। मेमोका भाषा केही कडा छ र केही असहज महसुस गराउन सक्छ। तर यस प्रकारका मेमोहरु न सार्वजनिक खपतका लागि तयार पारिएका हुन न त  द्वन्द्वको सम्भावनाको संभावनापूर्ण बुद्धिमत्तापूर्ण आकलनका लागि तयार पारिएका हुन्छन्,' फाइनान्सियल टाइम्ससँग उनले भनेका छन्। 

चिनियाँ जनमुक्ति सेनाले गत अगस्टमा ताइवानलाई लक्षित गर्दै महत्त्वपूर्ण शैन्य अभ्यास गरेको थियो। अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर तनाब बढ्दा पीएलएको इस्टर्न थियटर कमाण्डले ताइवानलाई चारैतिरबाट घेर्ने गरी अभ्यास गरेको थियो।  

यता अमेरिकी सैन्य अधिकारीको अभिव्यक्तिलाई चिनियाँ रक्षा विज्ञहले उत्तेजित तथ्यहिन र 'चाइना थ्रेट'लाई बढाउने अभिप्रायाले लक्षित अभिव्यक्तिको रुपमा टिप्पणी गरेका छन्। यसले अमेरिका र चीनबीच पहिलेदेखि नै कमजोर अवस्थामा पुगेको सम्बन्धलाई थप तनाव बढाउने र रणनीतिक अविश्वासलाई थप गहिरो बनाउने बताएका छन्। 

साथै यो टिप्पणीलाई अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनको सम्भावित बेइजिङ भ्रमणका क्रममा चीनलाई दबाब दिने एउटा अस्त्रको रुपमा आएकोसमेत चिनियाँ रक्षा विज्ञहरुले बताएका छन्। 

सांघाईस्थित फुदान युनिभर्सिटीको सेन्टर फर अमेरिकन स्टडिजका उपनिर्देशक सिन कियाले अमेरिकी वरिष्ठ जनरलको टिप्पणीलाई मुठभेडको अवस्था सिर्जना गर्ने उत्तेजक र लापारबाही टिप्पणी भएको बताउँछन्। यस्ता टिप्पणीले रणनीतिक रुपमा चीन र अमेरिकाबीचको अविश्वासलाई अझ बढाउने र द्विपक्षीय सम्बन्धलाई हानी पुर्‍याउने उनको भनाई छ।

'अमेरिकी उच्च राजनीतिक नेतृत्वलाई थाहा छ कि यस्ता कपटी टिप्पणीले चीन अमेरिका सम्बन्धलाई थप असर पर्ने छ,' उनले भने। 

चिनियाँ रक्षा विज्ञ सङ झोङपिङले यस्ता उत्तेजक टिप्पणीमार्फत अमेरिकी जनरले आफ्नो कमाण्डलाई थप बजेट बढाउने कसरको रुपमा प्रयोग गरेको हुन सक्ने टिप्पणी गरेको ग्लोवल टाइम्सले जनाएको छ। 

एएमसीका प्रमुख मिनिहान यसअघि सन् २०१९ देखि २०२१ सम्म इन्डो प्यासिफिक कमाण्डको डेपुटी कमाण्डर थिए। २०२१ देखि उनले एएमसीको कमाण्ड सम्हालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell