PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नक्कली रक्सी उत्पादनमा गिरोह नै संलग्न, ब्रान्डेड  बोतलमा भर्थे रक्सी



पहिलोपोस्ट

नक्कली रक्सी उत्पादनमा गिरोह नै संलग्न, ब्रान्डेड  बोतलमा भर्थे रक्सी

काठमाडौंः एउटै समूहले लामो समयदेखि काठमाडौं उपत्यकाभित्र नक्कली रक्सी उत्पादन गरेर ब्रान्डेड भन्दै बिक्री वितरण गरेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामो समयको अपरेसनपछि शनिबार तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरु पक्राउ परेसँगै उपत्यकाभित्र नक्कली रक्सीको उत्पादन र बिक्री नियमित भइरहेको खुलेको छ।

प्रहरीले पक्राउपछि आइतबार सार्वजनिक गरेका अभियुक्तमा दोलखा घर भएका २७ वर्षीय निरज उप्रेती, स्याङजाका २६ वर्षीय धर्मी गौडेल र सिन्धुलीका २६ वर्षीय गणेश बहादुर रानामगर रहेका छन्।

निरजले ललितपुरमा सञ्चालन गरेको लिक्वर पसलबाट नक्कली रक्सीको ब्रान्ड फेला पारेको थियो। अनुसन्धानबाट ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथलीमा विभिन्न ब्रान्डको नाममा नक्कली रक्सी बनाउने कच्चा पदार्थ र विभिन्न ब्रान्डका रक्सीको खाली बतल र राजस्वका स्टिकर समेत बरामद भएको एसपी कृष्ण कोइरालाले जानकारी दिए।

प्रहरीको अनुसन्धानमा उनीहरु तीन जनाबाहेक विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठको समेत संलग्नता खुलेको छ। 

दोलखा कालिन्चोक गाउँपालिकाका हरि वली र भीमेश्वर नगरपालिकाका भगवान बस्नेत छन्। यस्तै, कालिन्चोककै विशाल वली, काठमाडौं मूलपानी बस्ने मनोज खत्री र ठमेल बस्ने गोपी श्रेष्ठ रहेका छन्। उनीहरुलाई गत भदौमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। प्रहरीले कोटेश्वरबाट पक्राउ परेका हरि वलीको कोठाबाट आन्तरिक राजश्व विभाग लेखिएको स्टिकर ९२ वटा फेला पारेको थियो।

उनीहरूले रंग अनुसारको सस्तो रक्सी महंगो रक्सीमा मिसाउने गरेका थिए। जसको लागि महंगो रक्सीको बिर्को सावधानीपूर्वक खोलेर सस्तो रक्सी भरेर बजारमा पठाउने गर्थे।

जसमा मंहगो रक्सीमा सस्तो रक्सीको आन्तरिक राजस्व कार्यालयको स्टिकर उक्काएर टाँस्ने गरेको प्रहरीको अनुसन्धान खुलेको छ। त्यसपछि उनीहरूले डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायत ब्रान्ड मदिराको बोतलमा रक्सी भर्ने गर्दथे।

यसरी महंगो रक्सीमा सस्तो रक्सी हालेर बजारमा लैजाने योजनाको मुख्य योजनाकार भने मनोज खत्री भएको देखिएको छ।

मनोज तिनै व्यक्ति हुन्, जो तीन वर्षअघि न्यू वल्ड दरबार भन्दै नक्कली रक्सी बिक्री गरेको अभियोगमा काठमाडौंको लाजिम्पाटबाट पक्राउ परेका थिए। बाहिर निस्किएपछि पुनः नक्कली रक्सीको कारोबारमा लागेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको एक प्रहरी अधिकृतले बताए।

खत्री गाडी चालकसमेत हुन्। उनले भारतमा रक्सी बनाउन सिकेर नेपाल आएर धन्दा सुरु गरेको बताएका छन्।

यस्ता नक्कली मदिरा नाइट क्लब, रेस्टुराँ र दोहोरी साँझमा पुर्‍याइने गरिएको पाइएको छ। ब्रान्डेड मदिरालाई बजारमा चलेकोभन्दा सस्तो मूल्यमा उनीहरूले बिक्री गर्ने गरेको एसपी कोइरालाले जानकारी दिए। यसरी पुगेको रक्सी क्लबमा ग्राहकले खाएर स्वाद थाहा पाएपछि घटना प्रहरीसँग पुगेको थियो।

रक्सी बजारमा पुर्‍याउने काम भने हरि वली र विशाल वलीले गर्ने गरेका थिए। उनीहरू दाजुभाइ भएकोसमेत खुलेको छ। भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट नक्कली रक्सीको उत्पादन हुने गरेको थियो। भगवानको जडिबुटीमा रक्सीको पसलसमेत रहेको खुलेको थियो।

तर यो घटनाको ठिक पाँच महिनापछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो। उनीहरुले टिकाथलीमा जग्गा भाडामा लिएर टहरा बनाइ नक्कली ब्रान्डका रक्सी उत्पादन र कालाबजारी गरेको खुलेको हो। जसमा भदौमा समातिएका र शनिबार समातिएका समूहको संलग्नता खुलेको हो।

अरु पनि संलग्न हुनसक्ने र अन्य पनि ठाउँमा यस्ता नक्कली रक्सी उत्पादन गर्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell