PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विमान दुर्घटनापछिको परिदृश्य : विदेशी पर्यटकले रद्द गर्न थाले बुकिङ, राज्यले पर्यटकको विश्वास जित्न के गर्‍यो?



वसन्तराज उप्रेती

विमान दुर्घटनापछिको परिदृश्य : विदेशी पर्यटकले रद्द गर्न थाले बुकिङ, राज्यले पर्यटकको विश्वास जित्न के गर्‍यो?
अन्नपूर्ण बेस क्याम्पको यात्रामा पर्यटक। फाइल फोटो

काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना पछि युरोपेली मुलुकका पर्यटकहरुले नेपाल भ्रमण धमाधम रद्द गर्न थालेका छन्। हवाई सुरक्षा प्रति विश्वस्त हुन नसकेपछि युरोपेली पर्यटकहरुले नेपाल भ्रमणको ‘प्लान’ रोक्न थालेका हुन्। उनीहरुले अग्रिम बुकिङ नै रद्द गर्न थालेको व्यवसायी बताउँछन्।

पर्यटकीय सिजन नजिकिएसँगै भएको हवाई दुर्घटनाका कारण पर्यटकहरुले भ्रमण नै रोकेपछि व्यवसायी भने निराश हुन थालेका छन्। सिजन नजिकिएसँगै नेपाल भ्रमणका लागि आउन लागेका पर्यटकहरुले बुकिङ रद्द गर्न थालेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले बताए।

यसअघिको सिजनमा विदेशी पर्यटकको चहलपहलका आधारमा आउँदो मार्च र अप्रिलमा करिब तीन लाख पर्यटक आउने अनुमान गरिएको थियो। तर, सेती खोंचको त्यो विमान दुर्घटनाका कारण अब भने अनुमाति संख्यामा कमी आउने थापाले जानकारी दिए। तर, यसले दीर्घकालीन असर भने नपर्ने उनी बताउँछन्।

‘दुर्घटना घटेपछि सीमित देशमा मात्र नभइ विश्वभर सन्देश जान्छ। तर, यसले दिगो प्रभाव पार्दैन। मुख्य कुरा भनेको नियमनकारी निकाय र वायुसेवा कम्पनी थप सचेत हुनुपर्ने अवस्था आएको छ,’ उनले भने,’केही क्यान्सिलेसन आइरहेका होलान्। तर यसले दीर्घकालीन असर नपर्ला।’

त्यसैगरि, नेपाल आउने तरखरमा रहेको पर्यटकहरुले काठमाडौंबाट पोखरा विमानमा नभइ स्थलमार्गबाट जाने भन्दै ट्राभल एजेन्टहरुसँग 'इन्क्‍वायरी' गरिरहेका छन्। विमान यात्रा गर्न त्रास बढे भएको भन्दै ती पर्यटकहरु सडकबाटै पोखरा जान तयार भएको व्यवसायी बताउँछन्।

विमान दुर्घटनाकै कारण आउँदो सिजनमा सोचेजति पर्यटकको आवगमन हुने सम्भावना कम रहेको ट्रेकिङ एजेन्सी एसोसिएसन नेपालका अध्यक्ष निलहरी बास्तोलाले बताए।

‘गएको सिजनलाई हेर्दा आउँदो मार्च अप्रिलमा विदेशी पर्यटकको चहलपहल राम्रो हुन्छ भन्ने लागेको थियो। तर पछिल्लो समयलाई हेर्दा सोचेजस्तो आवगमन होला जस्तो देखिएको छैन,’ अध्यक्ष बास्तोलाले भने,’आउँदो समय सन् २०१९ कै तुलनामै पुगिन्छ जस्तो लागेको थियो।’

यो अवस्थामा राज्यको तर्फबाट 'प्रमोसन' लक्षित कुनै पनि प्याकेज निर्धारण हुन आवश्यक रहेको उनले जानकारी दिए।   

हवाई दुर्घटनाका कारण मुलुकमा भ्रमण योजना बनाएका पर्यटकबाट बुकिङ रद्द हुनु स्वभाविक रहेको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। यतिखेर प्रि-बुकिङको ट्रेन्ड वृद्धि भए पनि त्यही अनुसारको पर्यटक आवगमनको ग्यारेन्टी नरहेको उनले जानकारी दिए।

‘यो अवस्थामा राज्यनै प्रो एक्टिभ भएर काम गर्नुपर्ने अवस्था छ। पर्यटन उद्योग अब राम भरोसे पारामा चलेर हुँदैन नी। नहुनुपर्ने दुर्घटना भयो। अब अन्तर्राष्ट्रिय बजारमा सन्देश दिनका लागि सेफ्टी मेजर के अपनायौं?,’ वरिष्ठ उपाध्यक्ष शाहले भने,’विमान कम्पनीले प्राधिकरणलाई सेवा शुल्क तिर्दै आएको छ। अनि निरीक्षण पनि नियामक निकायले नै गर्दा त कम्प्रमाइज हुन्छ नी। यो अवस्थामा प्राधिकरण विभाजन गर्नैपर्ने आवश्यक देखिन्छ।’

अन्तर्राष्ट्रिय भ्रमणमा सहभागी भइरहने पर्यटकले हवाई सुरक्षालाई नै प्राथमिकता राख्ने भएका कारण सेफ्टी स्टाण्डर्ड सुधारमा जोड दिन आवश्यक रहेको उनले जानकारी दिए। समूहमा आउने पर्यटक आवागमनमा प्रभाव पर्ने उनले बताए।

‘क्यानसिलेसन त छँदै छ। तर यतिखेर राज्यले पर्यटकको विश्वास जित्नुपर्ने अवस्था छ। उडान सुरक्षा मजबुत छ भन्ने सन्देश त प्रवाह हुन पर्‍यो नी। अहिले नै साइकोलोजिकल फोबियाका कारण आन्तरिक उडान गर्ने यात्रु घटेका छन्,’ उनले भने।  

माघ १ गते पोखराको दुर्घटनापछि विदेशी पर्यटक आवागमन १० प्रतिशत भन्दा बढीले घट्ने व्यवसयीहरुको अनुमान छ। हवाई दुर्घटनाले पर्यटनमा थप चुनौती सृजना गरेको एक व्यवसयीले बताए। विमान दुर्घटना भएलगत्तै भियतनाम, होल्यण्ड, जर्मनी, फ्रान्स, पोल्याण्ड लगायत विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुले बुकिङ रद्द गरेको ती व्यवसायीले जानकारी दिए।

‘टुर ओपरेटरबाट आएको जानकारी अनुसार यतिखेर विभिन्न मुलुकका पर्यटकहरुले तत्कालका लागि भ्रमण रद्ध गर्न आग्रह गरेका छन्। विमान दुर्घटना पछि आन्तरिक उडान नगर्ने बताउँदै पर्यटकहरुले सडकमार्ग अव्यवस्थित भएको भन्दै भ्रमण रद्द गर्ने गरेका छन्,’ एक व्यवसायीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell