PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पेट्रोल र डिजेलमा प्रति लिटर ३५ रुपैयाँ बढेपछि पाकिस्तानी भन्दैछन् : इमरान खान तिमी गएपछि तिम्रो याद आयो



पहिलोपोस्ट

पेट्रोल र डिजेलमा प्रति लिटर ३५ रुपैयाँ बढेपछि पाकिस्तानी भन्दैछन् : इमरान खान तिमी गएपछि तिम्रो याद आयो
Photo : BILAWAL ARBAB / EPA-EFE / REX / SHUTTERSTOCK

पाकिस्तानका अर्थमन्त्री इसहाक डारले पेट्रोल र डिजेलको मूल्यमा अत्याधिक वृद्धिको घोषणा गरेका छन्। उनले पेट्रोलको मूल्य प्रति लिटर ३५ रुपैयाँ (नेपाली १८ रुपैयाँ २२ पैसा) बढाउने घोषणा गरेका छन्। यससँगै पाकिस्तानमा पेट्रोल प्रति लिटर २४९ रुपैयाँ ८० पैसा (नेपाली १३० रुपैयाँ ७ पैसा) पुगेको छ।

डिजेलमा पनि प्रति लिटर ३५ रुपैयाँ बढाइएको छ। यससँगै डिजेल प्रति लिटर २६२ रुपैयाँ ८ पैसा (नेपाली १३६ रुपैयाँ ८४ पैसा) पुगेको छ। ‘लाइट डिजेल आयल’(एलडीओ) र मट्टिटेलमा भने प्रतिलिटर १८-१८ रुपैयाँ बढाइएको छ। अब एलडीओको मूल्य १८७ रुपैयाँ (नेपाली ९७ रुपैयाँ ३७ पैसा) र मट्टिटेलको मूल्य १८९ रुपैयाँ ८३ पैसा ( नेपाली ९८ रुपैयाँ ८४ पैसा) पुगेको छ।

पाकिस्तानमा यसअघि सन् २०२२ को जुलाइमा पेट्रोल प्रतिलिटर २४८ रुपैयाँ ७४ पैसा पुगेको थियो। त्यसयता पेट्रोलको मूल्य अहिलेसम्म कै उच्च विन्दुमा पुगेको हो। प्रति लिटर ३५ रुपैयाँ बढेको पाकिस्तानको इतिहासमा पहिलो पटक हो।

केहीदिन यता पाकिस्तानका कयौं शहरमा पेट्रोल र डिजेल पाउन गाह्रो भइरहेको थियो। मन्त्री डारले इन्धनको कृत्रिम संकटलाई कम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

इन्धनको मूल्यवृद्धि सँगै पेट्रोल पम्पहरुमा अत्याधिक भिड बढेको छ। इन्धनको मूल्य अत्याधिक बढ्ने लगभग निश्चित भएको थाहा पाएर मानिसहरु कयौं दिनदेखि लाइनमा थिए। जसकारण पेट्रोल पम्पहरुले इन्धन बिक्री नै बन्द गरेका थिए। शहबाज शरीफ नेतृत्वको पाकिस्तान सरकारले भने तेलको कृत्रिम संकट उत्पन्न गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ।

इन्धनको मूल्यवृद्धि पछि पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले यसलाई ‘आयातित सरकारको कुप्रबंधन’ भनेर आलोचना गरेका छन।

‘आयातित भ्रष्ट र असक्षम सरकारको कुप्रबंधनका कारण डिजेल र पेट्रोलको मूल्य अत्याधिक वृद्धि भएको छ,’ खानले भनेका छन्।

इन्धनको मूल्यवृद्धि भएपछि पाकिस्तानी नागरिकले सामाजिक संजालमार्फत शरीफ सरकारको आलोचना गरिरहेका छन्। पेट्रोल पम्पले नयाँ मूल्य कुरिरहँदा इन्धन नै नदिएको र अराजकता फैलिएको सामाजिक संजाल प्रयोगकर्ताहरुले उल्लेख गरेका छन्।

एक ट्वीटर प्रयोगकर्ताले इमरान खानले इन्धनको मूल्य घटाएको घोषणा गरिरहेको तस्विर राख्दै ‘तिम्रो गए पछि तिम्रो याद आयो’ भनेर लेखेका छन्। केहीले भने मन्त्री डार र वर्तमान सरकारको तस्विर राखेर विरोध गरिरहेका छन्।

मन्त्री डारले भने आर्थिक संकटबाट मुक्त हुन ठूलो निर्णय गर्नुपर्ने बताएका छन्।

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई सहयोग गर्नका लागि छिट्टै अन्तर्राष्ट्रिय मुद्रा कोषको एक टोली इस्लामवाद आउने कार्यक्रम तय भएको छ। कोषले पाकिस्तानलाई सहयोग गर्न कयौं शर्तहरु राखेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell