वीरगंज : मालपोत कार्यालय पर्सामा बिचौलिया बनेर सेवाग्राहीसँग पैसा असुल गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। प्रहरीले मालपोत कार्यालय पर्सामा आएका सेवाग्राहीहरूलाई काम छिटो गरिदिने भन्दै बार्गेनिङ गर्ने, प्रचलित कानुनविपरीत अत्याधिक सेवा शूल्क लिने व्यक्तिहरुका बारेमा उजुरी परेकोको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दीपक कुमार पटेल, वडा नम्बर २९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, बहुदरमाई नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन्।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) निर्मल बुढाथोकीका अनुसार पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय सञ्जय चौहान, वीरगंज-१९ बस्ने २२ वर्षीय राज कुमार साह, वीरगंज-२५ का २६ वर्षीय सुशिल कुमार साह र वडा नम्बर २४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोइरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिएको भनेर पटक-पटक गुनासो आएकाले आइतवार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा काम लिएर आएका सेवाग्राहीलाई दु:ख दिने नियतले अनेकौँ समस्य खडा गरिदिने र सेवा शूल्कको नाममा रकम असूल्ने गरेको फेला पारेकोले उनीहरुलाई पक्राउ गरेको डीएसपी बुढाथोकीले जानकरी दिए।
प्रहरीले नियन्त्रणमा लिएका ८ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए।