PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

राष्ट्रपति र गृहमन्त्रीबारे प्रचण्ड लगातार परामर्शमा



पहिलोपोस्ट

राष्ट्रपति र गृहमन्त्रीबारे प्रचण्ड लगातार परामर्शमा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ राष्ट्रपति कसलाई बनाउने भन्नेबारे लगातार परामर्शमा जुटेका छन्। अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको गृहमन्त्री पद गएको छ। उक्त मन्त्रालयकाबारेमा पनि प्रचण्डले छलफल गरिरहेका छन्।

सोमवार दिउँसो आफ्ना पार्टीका पदाधिकारीसँग परामर्शका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् प्रचण्ड। सचिव गणेश साहले अहिले पदाधिकारीको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको जानकारी दिए। यसअघि सोमवारका लागि स्थायी कमिटीको बैठक बोलाइएको थियो। तर राजनीतिक परिस्थितिमा जटिलता आएको भन्दै माओवादी केन्द्रले पदाधिकारीबिच छलफल गर्ने निर्णय गरेको थियो।

यसअघि आइतवार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रचण्डले छलफल गरेका थिए। उक्त छलफलमा प्रचण्डलाई ओलीले लामिछानेलाई नै गृहमन्त्री बनाउन उपयुक्त हुने सुझाव दिएको प्रचण्डको सचिवालयले जनाएको छ। लामिछाने पनि पार्टी सभापतिमा पुन: छानिएपछि बालुवाटार पुगेका थिए।

त्यसपछि ओली निवास बालकोटमा पनि गृहमन्त्रीका लागि लबिङ गर्न लामिछाने गएको एमालेका नेताहरुले बताएका छन्। आइतवार नै लामिछानेले नागरिकता पुनप्राप्त गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल फागनु २९ गते सकिँदै छ। उक्त कार्यकाल सकिनुअघि निर्वाचनको मिति तोक्ने तयारी निर्वाचन आयोगले गरिरहेको छ।

माओवादी केन्द्रले राष्ट्रिय सहमति गरेर र एमालेले दुई पार्टीको सहमतिअनुसार आफ्नो पार्टीले राष्ट्रपति पाउनुपर्ने दाबी गरेपछि सत्ता गठबन्धनमा गडबडको संकेत उत्पन्न भएको छ। कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी हुने बताएपछि दाहालले कांग्रेसलाई पनि समेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमति गराउनुपर्ने पक्षमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell