PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

न्यूनतम साझा कार्यक्रम ल्याउने वाग्मती सरकारको तयारी



पहिलोपोस्ट

न्यूनतम साझा कार्यक्रम ल्याउने वाग्मती सरकारको तयारी

हेटौंडा : वाग्मती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ। ४ मंसिरमा भएको निर्वाचनपछि वाग्मती प्रदेशका चौथो मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलले सरकारको प्राथमिकता निर्धारण गर्दै न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेका हुन्।

जम्कट्टेल गत पुस २५ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले माघ ११ गते सरकारलाई पूर्णता दिइसकेका छन्। ५ दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले ६ दलबाट विश्वासको मत पाएपनि ३ वटा दललाई मात्रै सरकारमा लगेका छन्।

जम्कट्टेलले केन्द्रमा बनेको दलीय समीकरणभन्दा बाहिर रहेको नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको विश्वासको मत पाएपछि सरकारमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपालाई मात्रै सरकारमा सहभागी गराएका छन्।

प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट प्रदेशको वर्तमान मुख्यमन्त्री जम्कट्टेलले नै ल्याएका हुन्। प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारका अर्थ मन्त्री रहेका जम्कट्टेलले नै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए।

त्यतिबेला प्रदेश सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा थिए। तर, अहिले कांग्रेस र समाजवादी सरकार बाहिर रहँदा मुख्यमन्त्री जम्कट्टेलले आफैँले ल्याएको चालू आवको नीति तथा कार्यक्रम र बजेटलाई पाखा लगाएर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेका हुन्।

केही दिनमा नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरी गठबन्धन दलहरुले कसरत गरिरहेको आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।

मन्त्री थपलियाले सरकारमा रहेका गठबन्धन दलहरूमा समझदारी कायम गर्न न्यूनतम साझा कार्यक्रम बनाउने तयारी भइरहेको बताए। फरक-फरक दल मिलेर सरकार बनेकाले दलहरुबिच आपसी समझदारी कायम गर्न सरकारले आफ्नो प्राथमिकता समेटेर न्यूनतम साझा कार्यक्रम बनाउने बताए ।

‘न्यूनतम साझा कार्यक्रम तयार भइसकेको छ। अबको एक दुई दिनमा सार्वजनिक गर्छौँ,’ उनले भने।

मन्त्री थपलियाले न्यूनतम साझा कार्यक्रममा सबै दललाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell