PahiloPost

Jan 20, 2026 | ७ माघ २०८२

ट्राफिक नियम उल्लंघन गर्ने २५९ जना चालकको लाइसेन्स निलम्बनका लागि यातायात विभाग पठाइयो



पहिलोपोस्ट

ट्राफिक नियम उल्लंघन गर्ने २५९ जना चालकको लाइसेन्स निलम्बनका लागि यातायात विभाग पठाइयो

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुरमा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक व्यक्ति बढीमा ३६ पटकसम्म र कम्तिमा छ पटकसम्म कारबाहीमा परेका थिए। यसरी पाँच पटकभन्दा बढी कारबाहीमा परेका सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग मीनभवन पठाइएको हो।

ट्राफिक नियम उल्लंघन गरिरहने चालकबाट नै धेरै जसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागि नियम पालना गर्न प्रवक्ता भट्टले सबैलाई अनुरोधसमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell