काठमाडौं : कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट संचालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगंजबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताए। नेपालगंजमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा उनले कर्णालीका नागरिकलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने जनाएका हुन्।
उनले सोमबार लुम्बिनी प्रदेशको नेपालगंजबाट सञ्चालित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, सङ्घीय प्रहरी एकाइ, ड्रग शाखा, दङ्गा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गरेका थियो। सुरक्षा अधिकारीका अनुसार कुकुर शाखा नेपालगंजमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ।
अनुगमनका क्रममा जिसीले प्रहरी अधिकारीहरूलाई संविधानको दायरामा रहेर कर्णालीका नागरिकले महसुस गर्ने गरि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए। सरकारले जनताको सुरक्षार्थ कर्णाली प्रदेशभरि विशेष सुरक्षा योजना बनाउन थालेको उनको भनाइ थियो।
जिसीका अनुसार नेपालगंजमा रहेका प्रहरी कार्यालयलाई सकेसम्म यही आर्थिक वर्षमा त्यहाँस्थित सबै प्रहरी संरचना कर्णालीमा सार्न लक्ष्य राखिएको छ। उनीसँगै अनुगमनमा रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षित प्रदेश विशेष सुरक्षा योजना बनाउने र त्यही योजनामा रहेर प्रदेश बाहिर रहेका प्रहरीका निकाय कर्णालीमा ल्याइने जनाए।