PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

वृद्ध भत्ताको पैसा नदिएको भन्दै एक युवकले बन्चरोले हानेर गरे आमाको हत्या



पहिलोपोस्ट

वृद्ध भत्ताको पैसा नदिएको भन्दै एक युवकले बन्चरोले हानेर गरे आमाको हत्या

कैलाली : कैलालीमा वृद्ध भत्ताको रकम नदिएको भन्दै एक युवकले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन्। कैलालीको लम्किचुहा नगरपालिका-६ का ४० वर्षीय श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार उनले सोमवार राति पौने १२ बजे ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्। बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो।

थप उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

घटनापछि फरार रहेका थारुलाई मंगलवार बिहान ८ बजे इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको हो। श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ। उनले वृद्ध भत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell