काठमाडौं : धुर्मुस - सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन अभियान नै चलाए। माहोल राम्रै बनेको थियो। भूकम्पपछि नमुना बस्ती बनाउनेदेखि वीर अस्पताल सरसफाइसम्मका काम गरेका फाउन्डेसनका सीताराम कट्टेल धुर्मुस् र कुञ्जना घिमिरे सुन्तलीमाथि मानिसहरुको ठूलै अपेक्षा पनि थियो।
देश विदेशबाट आर्थिक सहयोग संकलन, घरदैलो अभियान, कूर्सी बेच्नेदेखि पुराणसम्म लगाएर पैसा संकलन पनि गर्यो फाउन्डेसनले।
तर, पछिल्लो समय रंगशाला खण्डहर बन्दै गएको छ। अधकल्चो निर्माण भएर सबैकुरा ठप्प छ। धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुख कट्टेल एक भिडियो जारी गर्दै १७ करोड बढी ऋण रहेको र रकम संकलन गर्न नसकेकाले भरतपुर महानगर पालिकालाई हस्तान्तरण गर्ने बताएका थिए।
फाउन्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ,'फाउन्डेसन र भरतपुर महानगरपालिका बिच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड - १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाई भएको छ।'
सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ।
रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउन्डेसनले दाबी गरेको छ। रंगशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउन्डेसन दाबी गरेको थियो। रंगशाला सम्पन्न गर्न तीन अर्ब रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ। रंगशालाको विसं २०७५ माघ १६ गते काठमाडौँमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो।
उसो त यससालको बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहसँगको समन्वयमा निर्माण कार्य पुरा गरिने उल्लेख गरेका थिए।
प्रश्नै प्रश्न - रंगशाला खै?
केही वर्ष अगाडिको फाउन्डेसनको सामाजिक सञ्जाल हेर्ने हो भने फाउन्डेसनलाई कसले कति सहयोग गर्यो भन्ने उल्लेख थियो। 'रंगशालाको निर्माण कहाँ पुग्यो? रंगशालाका कुर्सी कति बिके?, कुन संस्थाले कति सहयोग गर्यो? विद्यार्थीले खुत्रुकेबाट कति फाउण्डेसनलाई सहयोग गरे?'
पछिल्लो समय फाउन्डेसनको कन्टेन्ट नै फेरिएको छ। ब्लु टिक प्राप्त फाउन्डेसनको फेसबुकको पेजमा धुर्मुस् सुन्तलीले निर्माण थालेको वेब सिरिज 'मै राम्री' को प्रचारमात्र भेटिन्छ। अनि अरु चाहिँ चेतनामुलक भिडियोहरु 'भान्जी', 'हिंसा, सर्ट मुभी 'इ बिहे', 'किन चिन्ता', 'फेरिएको पाइला'लगायतका भिडियो पोस्टमा छन्।
यो पेजमा रंगशालाबारे पोस्टहरु आउन छाडे पनि रंगशालाले भने फाउन्डेसनलाई छाडेको छैन। अधिकांश प्रयोगकर्ताले हरेक पोस्टमा प्रश्न गरेका छन् : रंगशाला खै?
'यताबाट उठेको पैसाले बिस्तारै ऋण तिर्नुहोला,' किरण श्रेष्ठ नाम गरेका सामाजिक सञ्जाल प्रयोग कर्ताले सुझाव दिएका छन्। अर्का प्रयोगकर्ता मान रानाले सुझाव दिएका छन्: अब छिटो रंगशालाको ऋण तिर्नुस् र बाटो खुल्ला गर्दिनु भरतपुर महानगरलाई।
अर्का प्रयोगकर्ताले सोधेका छन् : रंगशालाको १८ करोड ऋण चाहिँ कहिले तिर्ने हो?
रंगशालाको घोषणा कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणू दाहलले रंगशाला बनाए भारत र पाकिस्तानको म्याच गराउने महत्वकांक्षी योजना सुनाएकी थिइन्। यसैलाई ब्यंग्य गर्दै तरल तेज नाम गरेका प्रयोग कर्ताले लेखेका छन् : इन्डिया र पाकिस्तानको म्याच कहिले हो चितवनमा हुने?