काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठक पोखरामा सुरु भएको छ। बैठकमा पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा लगायतका १७ वटा एजेण्डा रहेका छन्।
नाबालिग बलात्कारको मुद्दा लागेपछि क्यानले भदौ २३ गते लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बित गरेको थियो। सय दिन जेल बसेका लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ। अदालतको अन्तिम फैसला नआएसम्मको लागि उनी रिहा भएका हुन्। अदालतको फैसलाले दोषी ठहर गरेको खण्डमा लामिछाने पुनः जेल बस्नु पर्ने हुन्छ।
बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले सन्दीपलाई खोजी गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।
माघ १३ गते क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजका लागि २८ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाउँदा लामिछानेलाई भने बोलाएको थिएन।
त्यसअघि क्रिकेटसंघका अध्यक्ष चतुर बहादुर चन्दले लामिछानेलाई क्याम्पमा बोलाउने या नबोलाउने बारे कानुनी परामर्श लिइरहेको जनाएका थिए।
यसबाहेक नेपाल टी २० मा सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौताबारे पनि छलफल हुने उल्लेख छ। त्यस्तै, लिग २ अन्तर्गत घरेलु मैदानमा हुने सिरिजहरु, एसीसी प्रिमियर कप, वार्षिक साधारण सभा, संघको विधान संसोधन लगायतका एजेण्डा रहेका छन्।