PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पोखरामा पोखियो क्यानभित्रको असन्तुष्टि : नेतृत्वको राजीनामा माग्दै सदस्यहरुद्वारा बैठक बहिष्कार



मुकुन्द घिमिरे

पोखरामा पोखियो क्यानभित्रको असन्तुष्टि : नेतृत्वको राजीनामा माग्दै सदस्यहरुद्वारा बैठक बहिष्कार

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठक आज हो। १७ वटा एजेण्डा लिएर बस्ने भनिएको बैठक तीमध्ये कुनै पनि एजेण्डामा प्रवेश गर्न सकेन।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बैठक सुरु गरिसकेपछि असन्तुष्ट ७ जना बोर्ड सदस्यहरुले समय माग्दै भने : हाम्रो एउटामात्र एजेण्डा छ।वाचन गरेर सुनाउन चाहान्छौं।

अध्यक्ष चन्दले उनीहरुलाई समय दिए। बोर्ड सदस्य ऋषिराम गौतमले पत्र पढेर सुनाए जसको सार थियो : नेतृत्वको राजीनामा।

नेपाली क्रिकेटलाई यो स्थानसम्म पुर्‍याउन कार्यसम्पादन र गभर्निङ काउन्सिलको महत्वपूर्ण हात भएको भन्दै गौतमले नेपालको क्रिकेट संघ विघटन र निलम्बनको प्रकृयामा गएको कुरा विषयलाई उठाए।

'राखेपले बनाएको छानबिन कमिटीको प्रतिवेदनले समेत राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गर्नुपर्ने भनेर प्रतिवेदन बुझाएको छ,' आफूले पढेर सुनाएको पत्रबारे गौतमले भने, 'त्यसरी प्रतिवेदन बुझाइराख्दा नेपाल क्रिकेट संघलाई बर्खास्त र निलम्बनबाट जोगाउनका लागि यो बोर्ड बैठकमा हामी कार्यसम्पादन समितिका सदस्यहरु र गभर्निङ काउन्सिलका सदस्यहरुको राजीनामा जोडदार रुपबाट माग गर्दछौं।'

पछिल्लो समय क्यानको नेतृत्वमाथि नेपाल टी २० लिगमा भएको अनियमितता र स्पट फिक्सिङलाई लिएर आलोचना भइरहेको छ।

यसअघि १५ गते पत्रकार सम्मेलन गर्दै ७ जना क्यानका पदाधिकारीले नेतृत्वको राजीनामा मागेका थिए। जिम्मेवार संस्थाका जिम्मेवार पदाधिकारीहरुले गल्ती स्वीकार गरेर मात्र नपुग्ने भन्दै क्यानको कार्यसम्पादन समितिका सबैले राजीनामा दिनुपर्ने ती केन्द्रीय सदस्यहरुले माग गरेका थिए। राजीनामा गरेर नेतृत्वले नेपाल टी २० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायहरुलाई सघाउनु पर्ने उनीहरुको माग राखेका थिए।

क्यान कार्यसम्पादन समितिमा रहेका चतुर बहादुर चन्द, प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सदस्यहरुले माग गरेका थिए। त्यस्तै, नेपाल टी २० लिगको गभर्निङ काउन्सिलमा रहेका संयोजक प्रशान्तविक्रम मल्ल लगायत दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेनथ्री स्पोर्ट्सका जतिन अलुवालियालाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखेका थिए।

उनीहरुले आज पोखारमा पनि सोही मागलाई निरन्तरता दिए। क्यानको असन्तुष्ट समूहमा केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन्।

पोखरामा जारी बैठकमा नेपाल क्रिकेटलाई बचाउनका मार्ग प्रशस्त गर्नका अनुरोध गरेको गौतमले जनाए। यदि मार्ग प्रशस्त नगरे क्रिकेट संघमा आगामी दिनमा हुने कारबाही र बदनामीको सम्पूर्ण जिम्मेवारी नेतृत्वले ब्यहोर्नुपर्ने चेतावनी उनीहरुले दिएका छन्।

सदस्यहरुले अध्यक्षको राजीनामा माग गरेको पत्र बैठकमा पढेर सकाए पछि चन्दको अध्यक्षतामा बसेको बैठक तयारी भयो। तर, असन्तुष्ट सदस्यहरुले आफूहरुले बैठक बहिष्कार गर्ने भन्दै बाहिरिए।

'हामीले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले बैठक यही बहिस्कार गर्छौं भनेर हिँड्यौं। यस विषयमा तपाईंहरु छलफल गरिसकेपछि के निर्णय हुन्छ त्यसपछि तपाईंहरुसँग वार्तामा बस्न सक्छौं भनेर निस्कियौं,' पोखरामा रहेका गौतमले भने।

बैठकमा १७ वटा एजेन्डा रहेका थिए। जसमा पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवालगायत नेपाल टी २० मा सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौताबारे पनि छलफल हुने उल्लेख छ। त्यस्तै, लिग २ अन्तर्गत घरेलु मैदानमा हुने सिरिजहरु, एसीसी प्रिमियर कप, वार्षिक साधारण सभा, संघको विधान संसोधन लगायतका एजेण्डा रहेका छन्।

सदस्यहरुले बैठक बहिष्कार गरेपछि अहिले असन्तुष्ट पक्ष र क्यानको नेतृत्व वार्तामा बसेर निष्कर्ष निकाल्ने प्रयत्नमा जुट्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell