कैलाली : कैलालीको धनगढीमा कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशङ्कर अल्लो कपडा उद्योगबाट उनीहरू पक्राउ परेका हुन्।
अल्लो कपडा उद्योग भनेर सञ्चालित उक्त पसलबाट ११ किलो ९ सय ग्राम लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका २ स्थायी घर भएका उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले सञ्चालन गरेको उद्योगबाट लागुऔषध बरामद गरिएको हो।
प्रहरी टोलीले उद्योग सञ्चालक धामीसहित दार्चुलाको नौँगाड-२ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ केदारस्युँ-७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामिकार्तिक-२ घर भई हाल कैलालीको बर्दगोरिया-४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट १ थान डिजिटल काँटा पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए।