PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सेभेनथ्री स्पोर्ट्ले तोड्यो क्यानसँगको सम्झौता, ८ वर्षको लागि थियो ३३ करोडको 'डिल'



मुकुन्द घिमिरे

सेभेनथ्री स्पोर्ट्ले तोड्यो क्यानसँगको सम्झौता, ८ वर्षको लागि थियो ३३ करोडको 'डिल'

काठमाडौं: विवादै विवादमा फसेपछि  टि २० क्रिकेटका रणनीतिक साझेदार सेभेनथ्री स्पोर्ट्सले नेपाल क्रिकेट संघसँगको सम्झौता एकतर्फी रुपमा तोडेको छ। स्पोर्ट्सका प्रमुख जतिन अलुवालियाले आफूहरुले क्यानसँगको सम्झौता रद्द गरेको पहिलोपोस्टसँग बताए।

'राष्ट्रिय खेलकुद परिषद्ले अनुमोदन नगरेका कारण क्यानसँग गरेको सम्झौता हामीले रद्द गरेका छौ,' जतिनले पहिलोपोस्टसँग भने। सेभेनथ्री स्पोर्ट्सले क्यानसँग ८ वर्षमा ३३ करोड दिने गरी सम्झौता गरेको थियो। आफूहरुले ठूलो क्षति व्योहर्दै यो सम्झौता तोडेको जतिनको तर्क छ। 'हामीले लामो समयका लागि सम्झौता गरेका थियौं। तर क्यानले राष्ट्रिय खेलकुद परिषद्बाट यो सम्झौता अनुमोदन गर्न सकेन,' जतिनले सम्झौता तोड्नुको कारण उल्लेख गर्दै भने, 'हामी गलत बाटोबाट जान चाहेनौं।'

अब सरकारी स्तरबाट कानुनी रुपमा स्विकृति प्राप्त भएमात्र यो सम्झौता अघि बढ्नसक्नेसमेत उनले बताएका छन्।

टी २० क्रिकेट प्रतियोगितामा 'स्पट फिक्सिङ' र 'बेटिङ' भएको आरोप लागेपछि जतिन भारत गएका थिए। अनुसन्धान शुरु भएसँगै प्रतियोगितामा देखिन छाडेपछि जतिन फरार भएको आरोप लागेको थियो।

केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)ले गर्दै 'स्पट फिक्सिङ'मा अभियोगमा चार जना नेपाली र ६ जना विदेशीलाई पक्राउसमेत गरिसकेको छ। ब्युरोले पक्राउ गरेकामा मोहम्मद आदिल आलम र मेहबुब आलम पनि छन्। यी दुवैजना नेपाली खेलाडी हुन्। अन्य आठ जना प्रतिवादी भने नाम भने सार्वजनिक गरिएको छैन।

पुस ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा लिगका खेलहरु भएका थिए। जसमा ६ टीमका ९० खेलाडी सहभागी थिए। विदेशी खेलाडी पनि सहभागी खेलमा 'फिक्सिङ' भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो।   

राखेपले गठन गरेको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्दै सम्झौता खारेज गर्न सुझाव दिएको थियो। प्रतिवेदनमा 'प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्‍याई गरिएको नेपाल टी २० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर' गरिएको थियो।

सम्झौता रद्दबारे क्यानको धारणा बुझ्न क्यानका पदाधिकारी सम्पर्कमा आउन चाहेनन्।  मंगलवार क्यानका सबैजना बोर्ड बैठकका लागि पोखरामा छन्। अध्यक्ष चतुरबहादुर चन्दको मोबाइल स्विच अफ रहेको छ भने प्रवक्ता तथा कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको फोन उठाएनन्। बैठकको १७ एजेन्डामा नेपाल टी २० बारे पनि बुँदाहरु समावेश छन्। तर बोर्डका असन्तुष्ट पक्षले नेतृत्वको राजीनामा माग गर्दै बैठक बहिस्कार गर्दा एजेन्डामा बैठक प्रवेश गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell