PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निहारिका र शिवराजले गरे अदालतमा मिलापत्र, सगोलमै बस्ने सहमति



पहिलोपोस्ट

निहारिका र शिवराजले गरे अदालतमा मिलापत्र, सगोलमै बस्ने सहमति
फाइल फोटोः निहारिका राजपुत

काठमाडौंः कुमारी आमाका रुपमा प्रचारित निहारिका राजपूत र शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ। एक अर्कालाई श्रीमान् श्रीमतीका रुपमा स्वीकार गर्दै जिल्ला अदालत धनुषामा दुईबीच मिलापत्र भएको हो। निहारिकाले शिवराजलाई जबर्जस्ती करणीमा मुद्दा समेत दायर गरेकी थिइन्।

उक्त मुद्दामा शिवराजले सफाइ पाएका थिए। मुद्दा उच्च अदालतमा विचराधीन रहेकै बेला दुईबीच मिलापत्र भएको हो। बलात्कारबाट एक सन्तानको समेत जन्म भएको दाबी गर्दै निहारिकाले लामो समयदेखि न्याय माग गर्दै आएकी थिइन्।

तर, पछिल्लो साता निहारिकाले शिवराजसँग अंश दाबी गर्दै मुद्दा दायर गरेपछि दुईबीच मिलापत्रको बाटो बनेको हो। 

मंगलबार जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा मिलापत्र भएको हो। मिलापत्रमा शिवराजले निहारिका र छोरालाई स्वीकार गर्ने जनाइएको छ। 

मिलापत्रको निवेदनमा भनिएको छ, ‘पिता पतिको कर्तव्य निर्वाह गर्नेछु भनी स्वीकार गरी फिराद दाबी छोडाई प्रतिउत्तर जिकिर छाडी एकासगोलमा बस्ने गरी मुद्दा मिलापत्र गर्न म प्रतिवादीलाई पनि मञ्जुर भएकोले मिति २०७९ फागुन १४ गतेको तारेख भए तापनि आजै यो संयुक्त दरखास्त लिई हामी दुबै वादी प्रतिवादी उपस्थित भएको छु। तसर्थ मुद्दा मिलापत्र गराई पाऔं।’

दुई बीचमा तीन वर्षसम्म प्रेम सम्बन्ध रहेको र उमेर नपुगेकै अवस्थामा विवाह भएको पनि मिलापत्रमा स्वीकार गरिएको छ। दुबै जना पति पत्नीको सम्बन्धमा रही छोरा जन्मिएको स्वीकार निवेदनमा गरिएको छ। 

निवेदन अनुसार प्याकुरेलको इजलासले मिलापत्रको आदेश गरेको छ। 

आदेशमा भनिएको छ, ‘संयुक्त दरखास्त बमोजिमको मिलापत्रको व्यहोरा वादी प्रतिवादी दुबै पक्षलाई पढी बाची सुनाइ सोको मतलव परिणाम समेत सम्झाउँदा बुझाउँदा पनि लेखिए बमोजिम मिलापत्र गर्न मञ्जुर भई सही छाप समेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३(४) बमोजिम मिलापत्र गरिदिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell