पोखरा : गाउँमा फाटफुट्ट पर्यटक पुग्थे। मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेपछि अन्नपूर्ण भर्खर चिनिँदै थियो विदेशी पर्यटकमाझ। मौरिसको आरोहणसँगै अन्नपूर्ण क्षेत्रमा पर्यटक उकालो लाग्दै थिए। पर्यटकले अन्नपूर्ण पदमार्गमा पाइला लम्काउँदै गर्दा कास्कीको अन्नपूर्ण ७ ‘लान्द्रुकमा पुग्ने नै भए। विं स २०३० ताका विकट गाउँमा पर्यटक पुग्थे, बारीमा टेन्ट लगाउँथे, बास बस्थे। आफना सामान उठाउथे, जान्थे। विदेशीको आगमनले गाउँलेलाई हात लाग्यो शून्य थियो।
उकालो लाग्दै गरेका पर्यटकलाई देखेर मोतीबहादुर गुरुङले सोच बनाए। सेनामा भर्ती हुन भारत हानिएर भुटान पुगेका मोतीबहादुरले धेरथोर फरक समाज देखेका थिए। गाउँमा नै पसल सञ्चालन गरे पर्यटकलाई लक्षित गर्दै। उनै मोतीले सञ्चालन गरेको चिया पसल होटलमा परिणत भयो। पर्यटकीय गाउँको रुपमा ‘लान्द्रुक स्थापित भइसकेको छ अहिले।
‘फाटफुट पर्यटक हिँड्ने। मैले सानो रेष्टुरेन्ट खोल्ने विचार गरेँ। टुरिष्ट आयो। त्यो बेलामा त्यति इङ्गलिस आउने थिएन मलाई। मान्छेहरुलाई रेष्टुरेन्ट भन्ने थाहा थिएन। सबभन्दा अगाडि मैले खोले। त्यसपछि अरुहरु भाइले सिको गर्दागर्दा अहिले यस्तो छ,’मोतीबहादुरले भने।
मोतीबहादुरकै सिको गाउँलेले गरे। गाउँमा बास बस्न खोज्ने पर्यटकले छत पाए। आजभोलि गाउँमा पर्यटक भन्दा होटलको क्षमता बढी छ। ‘लान्द्रुक पुग्दा मोतीबहादुर पर्यटकलाई नै कुरिरहेका भेटिन्छन्। व्यवसायमा भने अझै जवान। मोतीबहादुर उहीँ हर्षका साथ पर्यटकको सत्कारमा भेटिन्छन् होटल ‘मुन लाइट’मा। पर्यटकको सत्कार गरेर मोतीबहादुरले गाउँमा नै दशक कटाए। उमेरले ७२ नाघे। ठिटो मोतीबहादुरलाई २०२५ सालमा गाउँमा नै आम्दानी हुन्छ भन्ने अड्कल भने थिएन।
आर्थिक हिसाबले परिवार कमजोर थियो मोतीबहादुरको। पैसा कमाउने सोचले भारतीय सेनामा जाने रहर गरे उनले। जसमा परिवारको मञ्जुरी भएन। भागेर गोरखपुर पुगे उनी। सेना बन्न गोरखपुर पुगेका मोतीबहादुर पैसा कमाउन त्यतैबाट भुटान लागे।
‘इन्डियन आर्मीमा भर्ति हुन्छु भनेर म गोरखपुर गयो। बाबाले हुन्न भन्दाभन्दै घरमा छक्काएर इन्डिया पुगेँ। त्यहाँबाट भुटान पुगेँ। आशानी किसिमले भुटान पुर्याओ। म भुटानमा तीनवर्ष काम गरेर घर फर्कियो,’उनले भने।
तीनवर्षपछि गाउँ फर्किएका मोतीबहादुरलाई जागिरमा हाजिर हुन मन लागेन। गाउँमा बढ्दै गएको पर्यटकलाई नियाले। पर्यटकलाई देखेर गाउँमा नै बस्ने सोच बनाए उनले। पर्यटकको उपस्थिति अर्थ थिएन त्यसताका गाउँमा। पर्यटक आउँथे बास बस्न सोधीखोजी गर्थे। गाउँले र पर्यटकबीच भाषाको खाडल थियो, सँगै पूर्वाधारको पनि। यहीँबिच मोतीबहादुरले चिया पसल खोलेका थिए। चिया पसलमा आउने पर्यटकले बास बस्ने कोठाको पनि मोतीबहादुरसँग अपेक्षा गर्न थाले। अनि सुरु गरे भैँसीको गोठमा पर्यटकलाई बास दिन।
‘घरको छेऊमा भैँसी बाँध्ने कटेरो थियो। त्यो टुरिष्ट आउँदा सुत्ने ठाउँ नपाउने। इङ्ग्लिस उति नआउने। टुरिष्ट आउँदा ‘यु हअब रुम’ (तिमीसँग कोठा छ) भन्दो रहेछ? रुम भन्ने थाहा थिएन। सिल्प भन्दै हातले भन्थ्यो। कोही पिढीमा सुत्थ्यो। बिस्तारै गोराहरुलाई भैँसी बाँध्ने कटेरोमा खाटको व्यवस्था गर्यौ,’विगत सम्झदै मोतीबहादुरले सुनाए।
पाहुनालाई राख्ने टहरा त बन्यो। तर, ओछ्यान भएन। मोतीबहादुरले अर्को उपाय निकाले। जुटको बोरामा पराल हालेर ओछ्यान बनाउने।
‘उ बेलामा आफूसँग रकम पनि नई। त्यो जुटको बोराभित्र पराल खाँध्यो अनि खाटमाथि एक किसिमको बिछ्याउने चिज बनाइदियो। उनीहरु रमाई रमाई सुत्थ्यो। सुत्ने ठाउँ पाउँदैन थियो नि। त्यतिखेर कोहीले तीन चार रुपैँया दिन्थ्यो। रमाइरमाइ दिन्थ्यो। चार रुपैँया पाए त हामी पनि रमाउँथ्यो,’हाँस्दै सुनाए उनले।
मोतीबहादुरको सानोतिनो पसल चलेकै थियो। उनलाई गाउँलेसँगै उनका मामा जयबहादुर गुरुङले नियाल्दै थिए। जयबहादुर भारतीय सेनाका कप्तान। गाउँमा होटल खोले उनले। मोतीबहादुरलाई होटलको जिम्मा लगाए उनले।
‘कप्तान मामाले भान्जा होटल तपाईँले चलाउनुस् भन्यो। इष्ट दाइने भयो मामाले त्यत्रो होटल चलाउन भन्नुभयो। त्यतिबेला राम्रै होटल बनाएको थियो क्याम्पिङ पनि थियो। आमासँग मैले सल्लाह गरेँ। व्यवहारको अनुभव थिएन। घाटा पर्यो भने कहाँबाट तिर्ने भन्नुभयो तर म जर्बजस्ती गरेँ,’उनले सम्झिए।
उनका कप्तान मामा होटल जिम्मा लगाएर पोखरा झरे। मोतीबहादुरले महिनाको चारसय रुपैँया भाडा तिर्नुपर्ने सर्त सहित होटल सञ्चालन गर्न थाले। पसल चलाएको अनुभव भए पनि होटलको अनुभव उनीसँग थिएन। डरैडरमा गाउँमा नै पर्यटन व्यवसायमा हात हाले। सञ्चालन गरेको सुरु दिनमा नै उनको होटलमा पर्यटक भरिभराऊ भए।
‘मामाले भान्जा गरि खाऊ भनेर पोखरामा घर बनाउन गयो। यहाँ पनि घरजग्गा प्रशस्तै होटल भाडामा दियो एकमहिनाको चारसय थियो भाडा। भाग्यले साथ दियो कमाइ राम्रो भयो। सरेको दिनमै कति धेरै टुरिष्ट आयो। क्यापिङ पनि ड्याम्मै भरियो भित्रपनि भरियो। ३५ सय उठेछ त्योबेला। त्यो धेरै हो नि। म दंगै भयो नि,’ठुलो हाँसो हाँस्दै उनले भने।
गाउँमा उनको मात्र एक्लो होटल। बास नपाएका पर्यटक उनकोमा पुग्ने। पर्यटकले उनको व्यापार राम्रो भयो। मोतीबहादुरको व्यापार देखेर गाउँले दंग परे। बिस्तारै अरुले पनि गाउँमा होटल सञ्चालन गरे।
यतिबेला गाउँका प्राय सबै घरमा होटल छ। तर, समय कोल्टियो। त्यतिबेला पर्यटकलाई होटल भएन। आजकल होटलमा पर्यटक हुँदैनन्। अन्नपूर्ण पदमार्गमा पर्ने भए पनि ‘लान्द्रुकको मार्गबाट धेरै पर्यटक हिँड्दैन। पर्यटक पुगिहाले पनि घरैपिच्छे भएको होटलले पर्यटकको संख्यालाई न्यून बनाउँछ।