काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच छलफल भएको हो।
भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरिरहेको गृह मन्त्रालय, गठबन्धन सरकार, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भएको थियो।
गृह मन्त्रालयको विषयलाई लिएर रास्वपाका सभापति रवि लामिछानेले हिजो प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल गरेका थिए। तर, दुवै नेताबाट सकारात्मक प्रतिक्रिया नपाएपछि रास्वपाले सरकार छाड्ने चेतावनी दिँदै आएको छ। ओली र प्रचण्डबिच आजको छलफलमा रविको मागबारे पनि छलफल भएको बताइन्छ।
सर्वोच्च अदालतले लामिछानेले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला गरेपछि उनको सांसद पद गएको थियो। सोही फैसलाका कारण उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीबाट पनि हटेका थिए।
हाल लामिछानेले नागरिकता पुन: प्राप्त गरिसकेका छन्। र, अहिले गठबन्धनमा फेरि आफैलाई गृहमन्त्री बनाउनुपर्ने दबाब दिइरहेका छन्। प्रधानमन्त्री भने लामिछानेलाई फेरि मन्त्री बनाउनु अघि सर्वोच्चको पूर्णपाठको प्रतिक्षामा रहेको बताइन्छ।