PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जरायो मारेको घटनाका १७ आरोपी : गाँजा तस्करदेखि हाइप्रोफाइलसम्म, सुटर अझै फरार



राधेश्याम पटेल

जरायो मारेको घटनाका १७ आरोपी : गाँजा तस्करदेखि हाइप्रोफाइलसम्म, सुटर अझै फरार

वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जले जरायो मारेको घटनामा अनुसन्धान सकाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ। पुस ४ गते निकुञ्जको २ वटा जरायो मारेको सूचनापछि सेना र प्रहरीले सखुवापरसौनी गापा–१ मा रहेको एक फार्म हाउसमा छापा मारेको थियो।

घटनामा १७ जना आरोपी देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले बताए। घटनामा राजनीतिसँग आबद्ध व्यक्ति, सेनाका पूर्वअधिकारी र चर्चित गाँजा तस्करसमेत संलग्न देखिएका छन् भने अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामा दामोदर अधिकारी र एकजना नाम नखुलेको व्यक्ति छन्। अधिकारी पूर्वसेना हुन्। आरोपितहरूसँग बयान लिने काम सकिएको र प्रतिवेदन मिसिल जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्सामा पुगेको प्रमुख संरक्षण अधिकृत डा.रामले बताए।

पर्सा राष्ट्रिय निकुञ्जले पुस ४ गते राति पर्सा जिल्लाको सखुवापरसौनी गाउँपालिका–१ को जंगलबाट जरायो शिकार गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको थियो। घटनामा संलग्न केही अझै फरार छन्। नेपाली सेनाको गण र राष्ट्रिय निकुञ्जको टोलीले घटनाको भोलिपल्ट बिहान सखुवापरसौनी गापा–१ मा रहेको पर्सा क्षेत्र नं ३ (१) का प्रदेशसभा सदस्य प्रमोद जयसवालकी पत्नीको नाममा रहेको घरजग्गामा निर्मित फार्महाउसमा छापा मार्दा दुईवटा सवारीसाधन, हतियार र दुईवटा मृत जरायो भेटिएको थियो। जरायो शिकार गर्ने प्रमुख शिकारी चर्चित गाँजा तस्कर लक्ष्मण सहनीका छोरा विशाल सहनी भएको अनुसन्धानबाट खुलेको छ। उनी हाल फरार छन्। घटनाको मुख्य सुटर उनी नै भएको निजका बुवा सहनीले बयान दिएका छन्।

घटनामा संलग्न अकवनियाका ४६ वर्षीय विशाल (लक्ष्मण) सहनी,  सखुवापरसौनीका ४४ वर्षीय नवराज बस्नेत, झापसदास थारू, सोही स्थानका ५२ वर्षीय म्लाङदुङ तामाङ र काभ्रेपलाञ्चोक साँगा निवासी ५७ वर्षीय दामोदर अधिकारीसमेत गरी पाँचजना पक्राउ परेका थिए। पक्राउ परेका विशाल

(लक्ष्मण) सहनी पर्सा जिल्लाका चर्चित गाँजा तस्कर हुन्। उनीहरूपछि अनुसन्धानको क्रममा थप दुईजना पक्राउ परेका संरक्षण अधिकृत डा रामले बताए।

यसैगरी, यो घटनामा बरामद प्र२–०२–०३–००१ च ३०९० नम्बरको गाडीका साथै एउटा बोलेरो गाडी सखुवापरसौनी गाउँपालिकाका पूर्वअध्यक्ष एवं मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवालका सहोदर भाइ प्रदीप जयसवालको हो। घटनामा बरामद अर्का वाग्मती प्रदेशको नम्बर प्लेटको ल्यान्डक्रुजर म्लाङदुङ तामाङको भएको बताइएको छ। घटनामा दुइवटा १२ बोरको बन्दूक, सोमा लाग्ने गोली एक थान, २२ एमएमको नौ राउन्ड गोली बरामद भएको थियो।

१२ बोरको बन्दूक वाग्मती प्रदेश काठमाडौं ५ (२) का प्रदेशसभा सदस्य एंव कांग्रेस नेता श्याम खड्काको भएको यसअघि नै अनुसन्धानबाट खुलिसकेको छ। राष्ट्रिय निकुञ्जले पक्राउ परेकाबाहेक जग्गाधनी प्रदेशसभा सदस्य प्रमोद जयसवाल, गाडीधनी प्रदीप जयसवाल र लाइसेन्सप्राप्त हतियारधनी प्रदेशसभा सदस्य खड्कासँग बयान लिएर छाडेको थियो।

पहिलो चरणमा पक्राउ परेका पाँचजनामध्ये एकजना मात्र चालक रहेको र अर्को एकजना चालक फरार छन्। स्थानीय व्यक्तिहरूका अनुसार जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० को गाडी उपेन्द्र यादव भन्ने व्यक्तिले चलाउँदै आएका थिए। जङ्गलमा भएको शिकारीविरुद्ध अपरेसनमा यादव भाग्न खोज्दा उनलाई सेनाले गोली हानेको थियो। घाइते अवस्थामा पनि उनी फरार हुन सफल भएपछि भूमिगत भएको र उनको ठाउँमा एकजना मुस्लिम व्यक्तिलाई चालक बनाएर निकुञ्जमा हाजिर गराइएको छ।

पक्राउ परेका अभियुक्तहरूलाई ४५ दिनसम्म निकुञ्जले आफ्नो नियन्त्रणमा राखेर अनुसन्धान गर्न पाउने कानूनी प्रावधान छ। घटना भएको अहिले ४२ दिन बितिसकेको छ। यो घटनाका अभियुक्तहरूविरुद्ध निकुञ्जले चारथरीको मुद्दा लगाएको छ। वन्यजन्तु तथा अवैध व्यापार, वन्यजन्तु चोरी शिकारी, हातहतियार खरखजाना र सङ्गठित अपराधको मुद्दा लगाएको संरक्षण अधिकृत डा रामले बताए। दोषी ठहर हुनेलाई ऐन अनुसार २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना, छ महिनादेखि एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। चारथरी मुद्दामा हातहतियार सङ्गठित अपराधको मुद्दा पर्सा जिल्ला अदालतमा र बाँकी दुईवटा मुद्दाको टुङ्गो निकुञ्जको अर्धन्यायिक समितिले गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell