जर्मनकी एक २४ वर्षीया महिलाले आफ्नै मृत्यु भएको नाटक रच्न आफूजस्तै अनुहार भएकी महिलाको हत्या गरेको आरोप लागेको छ। यसका लागि उनले कयौं समय इन्स्टाग्राममा आफूजस्तै देखिने महिलाको खोजी गरेकी थिइन्। यो केसलाई त्यहाँका प्रहरीले 'डोपलग्याङगर मर्डर'को नाम दिइएको छ।
गत अगस्ट १६ तारिखमा यो घटनाको खुलासा भएको हो। जर्मनीको म्युनिख बस्ने साराबान के नाम गरेकी ती महिलाले शुरुमा त इन्स्टामा फेक एकाउन्ट बनाइन्। त्यसपछि खोज्न थालिन् आफूजस्तै महिला। कतिलाई सम्पर्क गर्ने कोशिश पनि गरिन्। कतिले उनको प्रस्तावलाई अस्विकार गरिदिए।
धेरैपछि उनले एक कस्मेटिक ब्लागर भेटिन्।
खदीदजा नाम गरेकी ती ब्लागर अलजेरियाकी नागरिक थिइन्। उनी साराबानभन्दा १६० किलोमिटर पर बस्थिन्। दुबैको कालो लामो केश, अनि अनुहारको रंग पनि उस्तैउस्तै।
साराबान र उसका केटा साथी साकिर केले खदीदजालाई सौन्दर्यसम्बन्धी सामग्री अफर गरे र खदीदजालाई भेट्न गए। उनीहरु खदीदजालाई लिएर म्युनिख फर्कने क्रममा एक जंगलमा ओर्लिए। त्यही दुबै मिलेर खदीदजाको हत्या गरे।
खादीदजा भेट्न जाँदा साराबानले आफ्ना श्रीमानलाई भनेका थिए – म मेरा पूर्वपतिलाई भेट्न जाँदैछु। तर साराबान निकै दिनसम्म पनि फर्किनन्। उनको मृत्यु भएको हल्ला चल्यो।
त्यसपछि उनका अभिभावक उनको खोजीमा लागे। नभन्दै डैन्युब नदीको किनारामा साराबानको मार्सिडिज कार भेटियो। कारको पछिल्लो सिटमा कालो कपाल भएको महिलाको शव भेटियो। कार रहेको केही पर उसका ब्वाइफ्रेन्ड साकिरको फ्ल्याट थियो।
साराबानका बाआमाले सोचे – यो हाम्रै छोरीको शव हो।
घटनास्थलमा थुप्रै चक्कु थिए। शवको अनुहारभरी चक्कु प्रहार गरिएको थियो। प्रहरीका अनुसार उक्त अनुहारमा ५० पटकभन्दा बढी चक्कु प्रहार गरिएको छ। त्यसपछि प्रहरीले साकिरलाई पक्राउ गरे।
साराबानको मृत्युबारे अनुसन्धान भयो। तर पछि डिएनएन परीक्षण गर्दा उक्त शव साराबानको नभएर खदीदजाको भएको पुष्टि भयो। त्यसपछि साराबान र साकीरलाई पक्रे प्रहरीले।
परिवारिक कलहका कारण साराबान गायब हुन चाहेको खुलेको छ। यसका लागि उनले आफू मरेको नाटक रच्न आफूजस्तै माहिलाको हत्या गरेको खुलेको प्रहरीको दाबी छ।