PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

अमेरिकी उप विदेश मन्त्री फर्किएको सातादिन नबित्दै युएसएडकी प्रशासक समान्था पावर नेपाल आउँदै



पहिलोपोस्ट

अमेरिकी उप विदेश मन्त्री फर्किएको सातादिन नबित्दै युएसएडकी प्रशासक समान्था पावर नेपाल आउँदै
Photo : Politico

अमेरिकी राजनीति मामिला हेर्ने विदेश उपमन्त्री भिक्टोरिया न्युल्याण्डको भ्रमणको साता नबित्दै अर्की अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आउन लागेकी छिन्। अमेरिकी सहायता कार्यक्रम युएसएडकी प्रशासक समान्था पावरले यसै महिनाको पहिलो साता नेपाल भ्रमण गर्ने भएकी हुन्। 

युएसएडले जारी गरेको वक्तव्य अनुसार पावरले नेपालमा रहँदा सरकारका उच्च अधिकारीहरु, नागरिक समाजका नेताहरु, सामुदायिक समूह, विद्यार्थी, व्यवसायीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। यी भेटहरुमा थप लोकतान्त्रिक, समृद्ध, समावेशी, र लचक देश देश बन्ने तर्फ नेपालले गरेका प्रयासहरुका बारेमा छलफल हुने वक्तव्यमा उल्लेख छ। 

भ्रमणका क्रममा पावरले नेपाल सरकार र नेपाली जनतासँग अमेरिकाको ७५ वर्ष लामो साझेदारीका विषयमा छलफल गर्नेसमेत बताइएको छ। उनले नेपाल बसाइका क्रममा नेपालमा युएसएडको सक्रियता बढाउने विषयमा नेपाल र नेपालको नयाँ सरकारसँग छलफल गर्ने जनाइएको छ। 

उनले नेपाललको प्रजातान्त्रिक उपलब्धिलाई बलियो बनाउँदै संघीयता, सामाजिक समावेशिता, नागरिक समाज र मिडिया स्वतन्त्रताका विषयमा नयाँ प्रयासको घोषणा गर्नेसमेत वक्तव्यमा भनिएको छ। 

पावर अमेरिकी क्याबिनेट सदस्यमा रहेकी उच्च अधिकारी हुन्। सन् २०२१ मा उनलाई राष्ट्रपति जो बाइडेनले युएसएडको प्रशासकमा नियुक्त गरेका थिए। उनी त्यसअघि बाराक ओबामा प्रशासनमा अमेरिकाका लागि राष्ट्र संघकी राजदूतको रुपमा कार्यरत थिइन्। सन् २००८ को नोभेम्बरबाट अमेरिकी स्टेट डिपार्टमेन्टमा जोडिएकी पूर्व पत्रकार पावरले ओबामाको विशेष सहायक, सुरक्षा परिषदको मानव अधिकार मामिलाको वरिष्ठ निर्देशकको रुपमा काम गरिसकेकी अमेरिकी कुटनीतिज्ञ हुन्।

ओबामा प्रशासनमा रहँदा लिबियामा नाटो सैन्य गठबन्धनले आक्रमण थाल्दा उनी ओबामालाई सल्लाह दिने प्रमुख व्यक्ति थिइन्।

गत वर्ष युएसएडले मध्यम आय भएको राष्ट्रमा स्तरोन्नती हुने नेपालको लक्ष्य पूरा गर्नका लागि ६५९ मिलियन अमेरिकी डलर बरबारको पञ्चवर्षीय सहायता सम्बन्धी सम्झौतामा अर्थमन्त्रालय र युएसएडबिच हस्ताक्षर भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell