भारतले नेपाललाई दिने अनुदान रकम घटाएको छ। आज भारतकी वित्त मन्त्री निर्मला सितारमणले पेस गरेको बजेट भाषणमा नेपाललाई दिने अनुदान रकम घटाइएको हो।
गत वर्ष भारतले नेपाललाई ७५० करोड भारतीय रुपैयाँ अनुदान दिने बजेटमार्फत घोषणा गरेको थियो। आजको बजेट भाषणमा भने सितारमणले नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी हुन्।
भारतले नेपालसँगै श्रीलंका, म्यानमार, मंगोलिया, मरिसियस र सिचिलेसलाई दिँदै आएको अनुदान घटाएको हो। बंगलादेशलाई भने भारतले गत जर्ष २०० करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो। यो वर्ष पनि भारतले बंगलादेशलाई २०० करोड भारतीय रुपैयाँ दिने भएको छ।
श्रीलंकाले गत वर्ष २०० करोड पाएकोमा अब १५० करोड, म्यानमारले ६०० करोड पाएकोमा यो वर्ष ४०० करोड, मंगोलियाले १२ करोड पाएकोमा अब ७ करोड, मरिसियसले ९०० करोड पाएकोमा अब ४६० करोड र सिचिलेसले पाएको १४ करोड ६ लाखमा अब १० करोड भारतीय रुपैयाँ अनुदान रकम पाउने भएका छन्।
भुटान र माल्दिभ्सलाई दिँदै आएको अनुदान रकम भने भारत सरकारले बढाएको छ। गत वर्ष भारत सरकारले भुटानलाई २ हजार २६६ करोड भारतीय रुपैयाँ अनुदान रकम दिने निर्णय गरेको थियो। यो वर्ष भने भारतले भुटानलाई २ हजार ४०० करोड भारतीय रुपैयाँ दिने भएको छ। यस्तै, माल्दिभ्सलाई भारतले यो वर्ष अनुदानमा ४९९ करोड भारतीय रुपैयाँ दिने भएको छ।
भारतले तालिबानको शासन रहेको अफगानिस्तानलाई पनि गत वर्ष जस्तै २०० करोड भारतीय रुपैयाँ दिने भएको छ।
यस्तै, भारतले बिम्सटेकका लागि १७ करोड भारतीय रुपैयाँ, काठमाडौंस्थित सार्क सचिवालयका लागि १२ करोड भारतीय रुपैयाँ, कमनवेल्थ सचिवालयका लागि १२ करोड ३४ लाख र संयुक्त राष्ट्र संघका लागि २०० करोड भारतीय रुपैयाँ छुट्याएको छ।