PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

छैटौं राष्ट्रिय महिला भलिबल शनिवारदेखि, ६ टोलीले सहभागिता जनाउने



पहिलोपोस्ट

छैटौं राष्ट्रिय महिला भलिबल शनिवारदेखि, ६ टोलीले सहभागिता जनाउने
फोटो : राखेप

काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारदेखि हुने भएको छ। प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएको छ। माघ २४ गतेसम्म आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ।

प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए। यस्तै, विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ।

प्रतियोगिताको उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिने खड्काले जानकारी दिए। यसैगरी, छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित पनि गरिने भएको छ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च लाग्ने अध्यक्ष खड्काले जानकारी दिए। उनले महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप प्रतिष्ठानले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell