हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिलाई दिएको लाखौँ अनुदानले केही पनि प्रतिफल नदिएकोमा गुनासो गरेका छन्। वाग्मती प्रदेशसभाको पाँचौ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
अब सबै मिलेर उत्पादन बढाउने र रोजगारी बढाउने काम गर्नेगरी प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री जम्कट्टेलले बताए। अब परिणाम ल्याउनेगरी काम गरिने उनको भनाइ थियो।
उनले तीन तहको सरकारले आपसी समन्वय गरेर काम गरिने बताए। अहिले प्रदेशमा प्रहरी समायोजनको काम अगाडि बढ्दै गरेको उनले बताए।
सो क्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्माले यस प्रदेशसभाले शक्तिको पृथकीकरण, सन्तुलन र नियन्त्रणलाई आत्मसात् गर्दै लोकतान्त्रिक शासन व्यवस्थालाई अझ बढी सबल, सक्षम र प्रभावकारी बनाउन अहम् भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए। यो अवसरलाई केबल सत्ताका लागि सरकार ठानिने पराम्परा तोड्दै जनताका लागि सरकारको अवधारणालाई प्रबलीकरण गर्ने मौकाका रुपमा उपयोग गर्न सक्नुपर्ने उनले बताए।
उनले भने, ‘समयले सरकार र सदनको काँधमा यो दायित्व बोकाएको छ। संकटापन्न आर्थिक अवस्थाको सुधार, निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, कृषि, उद्योग, स्वास्थ, रोजगारी, वातावरण संरक्षण र जनजीवनको सुरक्षाजस्ता विषयमा चिन्तन, मनन र छलफल हुनेछ।’
ढिलासुस्तीका कारण अलपत्र परेका योजनाहरूको अनुगमन गरी पूरा गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने उनले बताए। रुग्ण अवस्थामा रहको हेटौंडा सिमेन्ट जस्ता उद्योगहरुको स्तरोन्नति गर्दै उत्पादन क्षमता वृद्घि गरी अर्थतन्त्रमा टेवा दिने विषयमा आवश्यक कदम चाल्नुपर्ने देखिएको उनको भनाइ थियो।
कार्यक्रममा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रले बनाएपछि मात्र प्रदेशले बनाउन मिल्ने कानुनका कारण धेरै समस्या भइरहेको बताए। प्रदेशसभाका सदस्यहरुलाई जिम्मेवारी दिएर काम गर्नका लागि उनले आग्रह समेत गरे। सरकारलाई काम गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए।