काठमाडौं: बानेश्वरको संसद् भवनभित्र माघ १० गते चर्कै भाषण थियो। भाषण हुनु नयाँ होइन पनि। सांसद, मन्त्री र प्रधानमन्त्रीले कहिले पो भाषण गरेका छैनन् र? कार्यकालभरि अधिकांश समय बोलेरै बिताउने नेता, सांसद, मन्त्रीको हकमा त्यो स्वभाविक नै हो।
विषय पनि लगभग सधै उस्तै- आर्थिक संकट, सरकार, समृद्धि, विकास, परिवर्तन इत्यादि।
तर भइदियो के भने त्यही बेला सडकमा मथिङ्गल हल्लाउने घटना घट्यो।
इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारीलाई छेको पारेर। किन प्रेम आफ्नै हातबाट खरानी भए? फेसबुकमा लेखिएको नोटमै प्रस्ट छ। सफल हुन अथाह प्रयास गरे, उद्यमका लागि अनेकौं हण्डर खाए। जायजेथा दाउमा राखे- बिडम्बना सफल भएनन्।
आसेपासे फलिफाप हुने राज्यको नीतिले उनी बङलङ्गै लडे। प्रश्नको ओइरो संसद् भवनमा सोझ्याएर बिदा भएका प्रेमका प्रश्नलाई सांसदले उठाए त? त्यसो भएन्।
निर्धारित कार्यक्रम अनुसारै सांसदहरु होलिडमा बसे। तत्काल बैठक आह्वान आवश्यक ठानेन् सांसदले। बरु सत्ता र शक्तिको चर्चा सोसल मिडायादेखि मिडियासम्म चल्यो।
‘हामी जल्न नसकेका प्रेम प्रसाद हौं’ त्यहिँ दिन धेरैले फेसबुक ट्वीटरमा लेखेका थिए। तर प्रेमका प्रश्न बिर्सन सोसल मिडियालाई पनि कति नै लाग्थ्यो र?
रबि लामिछानेको सांसद पद खारेज भयो, सांसद, संसदीय दलको नेता, मन्त्री र पार्टी सभापति नै गएको चर्चा छायो। गृहमन्त्रीका लागि फेरि दाबी गरे, प्रधानमन्त्रीले दिन मानेन्। रवि बालुवाटार धाए, बालकोट धाए। सभापति त भइहाले। हप्ताभरि यस्तै विषय चर्चामा रहे।
नियमित कार्यसूची अन्तर्गत बुधबार प्रतिनिधि सभाको बैठक बस्यो। प्रेमका प्रश्नले सरकारलाई नै सांसदले आच्छुआच्छु बनाउलान कि त? अपेक्षा स्वाभाविक थियो, किनकि उनले प्रश्न सांसदलाई नै सोधेका थिए।
शून्य समयमा बिकासकै गफ ज्यादा
सुरुमा बोलेका सांसद अच्युतप्रसाद मैनालीले आचार्यको मुद्दा उठाएनन्। मैनालीले विकास निर्माणकै विषय उठाए- पूर्वपश्चिम लोकमार्ग तामागढी निजगढमा पर्ने दुधौरा नदीमा ३ वर्षदेखि पुल निर्माणको काम भइरहेको छ। पुलको अवस्था हेर्दा हामीलाई गिज्याइरहेको महसुस भइरहेको छ।
उनीपछि अञ्जनी श्रेष्ठ बोलिन्। थोरै नै सहि उनले प्रेम आचार्यको नाम लिइन्। तर उनको विषय पनि आचार्यका प्रश्नमा केन्द्रित रहेन। ‘प्रेम आचार्य जस्ता व्यक्तिहरुको परिवारलाई सम्मान गरिदिनहुन सभामुखमार्फत ध्यानकर्षण गर्न चाहन्छु,’ श्रेष्ठले भनिन्।
दलबाट प्रतिनिधित्व गर्नेहरुलाई दलको नीति विपरीत बोल्न मुस्किल हुन्छ पनि। सायद त्यसैले पनि होला अधिकांश सांसदले आचार्यको विषयलाई प्राथमिकता राखेनन्। स्वतन्त्र सांसद अमरेशकुमार सिंह भने अपवाद रहे संसदमा। किनभने उनले चर्कैसँग नागरिकमा फैलिएको निरासालाई केन्द्रमा राखे।
भने, ‘के कारणले आम नागरिकमा आत्मदाह गर्ने स्थिति आयो? न्यायिक छानबिन समिति गठन होस। जनजीविका सहज होस्।’
सांसदहरुको बोल्ने क्रम धारा प्रवाह नै चल्यो संसदमा।
शून्य समयमा मिलेको एक मिनेट नै किन नहोस्। सांसदहरु माइक काटुन्जेल चर्किएर बोलिरहे। सांसद अम्बिका बस्नेतले मंगलबार काठमाडौं महानगरपालिका-९ मा भएको आगलागीबारे सरकारको ध्यानकर्षण गराइन्। ‘भीषण आगलागी भएको छ। करोडौं क्षति भएको छ। क्षतिपूर्ति उपलब्ध गराइयोस्,’ बस्नेतको भनाइ थियो।
सांसदहरु देशको आर्थिक स्थितिबाट चिन्तित छैनन् भन्नु अनुपयुक्त होला। किनभने उनीहरुले संसदमा विकास र उद्योग / कलकारखानाबारे प्रश्न उठाएकै छन्। यस्तै चिन्ता गर्ने सांसद हुन्-अमर बहादुर रायमाझी। ‘उदयपुर सिमेण्ट उद्योग बन्द हुने अवस्थामा पुगेको छ। यसका लागि नीतिगत सुधार होस्,’ प्रेम आचार्यको मुद्दाबारे बोल्न उपयुक्त नदेखेका उनले भनेका थिए।
भूमि वितरणदेखि शान्ति सम्झौताको सक्कलसम्म
सांसदहरु बोल्ने क्रम यतिकैमा रोकिँदैन्। सांसद अमृत लाल राजवंशीले भूमिहीनका मुद्दा उठाए -विगतको सरकारले भूमि आयोगमार्फत सुकुम्बुासी २ लाख ४० हजारलाई जमिन वितरण गर्ने जुन तयारी गरेको थियो। त्यो अहिले कहाँ पुग्यो?
हुन त बेला बेलाम सांसदहरुलाई पनि आफ्नै सहकर्मीको भाषण सुनेर दिक्क नलागेको कहाँ हो र? त्यसैले बेला बेलामा संसदमै निदाएको, हाजिर लगाएर कुलेलाम ठोकेको विषयले आलोचित भइरहनुपर्छ। अमृतादेवी अग्रहरिले सांसदहरुलाई नै सुझाव दिइन- यता अंशबन्डा नमाग्नुहोला।
‘प्रतिनिधि सभा जनताको प्रतिनिधिको थलो हो। अंशबन्डा माग्ने थलो होइन। यहाँ राष्ट्रप्रति चिन्तन गरौं। राष्ट्रलाई कसरी समृद्धिमा पुग्न सक्छौं? अंश माग्नु छ भने बालुवाटारमा सीमित राखौं,’ अग्रहरिको विचार थियो।
कांग्रेसका पाका नेता अर्जुननरसिंह केसीले पनि बोल्ने मौका पाए। उनी पनि किन प्रेम प्रसादका मुद्दमा बोल्थे र? बरु ठेकेदारका मुद्दा उठाए। ‘ठेकेदारी प्राथमा देखिएको कार्टेलिजमले गुणस्तरलाई मात्रै होइन मझौला ठेकेदार पनि अप्ठेरोमा परेका छन्,’ केसीको भनाइ थियो।
जनजीविकाका विषयलाई सांसदहरुले संसदमा उठाउँछन् नै। सरकारलाई झक्झक्याउने त भूमिका नै हो उनीहरुको। कतै डाक्टर नभएको, कतै औषधि नभएको विषय पनि कम महत्वको होइन। तर सांसदहरुले सन्दर्भ मिलाएर विषय प्रवेश गर्नु पनि जरुरी छ नै। विषयको प्राथमिकीकरण गर्न त झनै जरुरी। सांसद अशोक चौधरीले आफ्नो क्षेत्रको विषय उठाए। ‘इटहरी अस्पतालमा डाक्टर नभएको महिना दिन भइसक्यो। बिरामीको चाप हुने अस्पतालम डाक्टर व्यवस्था गर्ने जिम्मा मन्त्रालयको होइन। सचिवले मन्त्रीको निर्देशन पनि नमान्ने अवस्था देखियो,’ चौधरीको भनाइ रह्यो।
सांसदहरुले विषय प्राथमिकरण र सन्दर्भलाई कतिसम्म बेवास्ता गर्छन् भने बरु बादरको प्रसंगलाई उठाउँछन्। हुनत बादरले दिएको दु: ख किसानका लागि सानो होइन। तर सन्दर्भ के भने प्रतिनिधि सभाका सांसद समग्र देशकै बारे पनि सोच्नु छ नै।
सांसद ईश्वरबहादुर रिजालले दोलखामा बाँदरले दिएको दु:खबारे बोले। ‘जिल्लामा बादरको प्रकोप बढेको छ। मानिस बसाइँ सरेका छन्। बाँदरको साम्राज्य बढेको छ। एउटा अध्ययन टोली बनाइयोस्। बाली बीमाको सुरक्षा गरियोस्,’ रिजालको माग थियो।
सांसद ईश्वरी घर्तीले घोराही होलेरी सडक निर्माणका काम ढिला भएको बताइन्।
ईश्वरी न्यौपानेले बरु सरकारलाई प्रश्न सोध्न भ्याइन-शरीरमा आगो लगाएर मर्ने सामान्य घटना होइन। यसले राज्यलाई चुनौती दिएको छ, झिल्कोले डढेलोको रुप लिने छ।
सांसदहरु एकनाथ ढकालले विस्तृत शान्ति सम्झौताको कागज खोजे, उर्मिला माझीले जनयुद्धमा मरेकालाई शहीद घोषणा गरिएको कार्यान्वयन।
ऐनबहादुर शाही ठकुरी पनि आफ्नो क्षेत्रको समस्या सुनाउन पछि पर्ने कुरै भएन। ‘मुगुमा हजारौं रोपनी जमिन बगाएको छ। मान्छे एक गाउँबाट अर्को गाउँ जान कठिन भएको छ,’ उनले भने।
सांसद कल्पना मियाँले खाडी देशमा पढ्न जाने मुस्लिम विद्यार्थीको अप्ठेरोबारे बोलिन् - गल्फ कन्ट्रीमा पढ्न जाने मुस्लिम विद्यार्थीको एनओसी लेटरले गर्दा अप्ठेरो परेको छ। कर्णालीका सांसदहरुले कर्णालीकै मुद्दा उठाए। कसैले सडक मृत्युमार्ग भएको गुनासो पोखे त कसैले स्वास्थ्य उपचार खै? प्रश्न गर्न भ्याए।
कान्तिका सेजुवालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वस्थ्यकर्मीका मुद्दा उठाइन्। ‘आर्थिक अभावका कारण माइनस ६ डिग्रीको चिसोमा काम गर्दा पनि बस्ने आवासको व्यवस्थापन छैन्। आउदो आर्थिक वर्षमा बजेट छुट्याइयोस,’ उनको अनुरोध थियो।
त्यसो त भेगीय हिसाबले पनि सांसदहरुले विषय उठाउँछन् नै। कर्णालीकाले कर्णालीको मधेशकाले मधेशको। सांसद किरण साहले अफताव आलमले दु:ख दिइरहेको आरोप लगाए, ‘मानव सभ्यतालाई नै अन्त्य हुनेगरि रौतहटमा मोहमद अफताव आलम जेलबाटै लुटतन्त्र मच्चाइरहेको छन्। यसबारे ध्यानकर्षण होस्।’
सांसद गगन थापा संसदमा विषयबस्तुलाई बलियोसँग प्रस्तुत गर्ने सांसदको रुपमा चर्चा पाइरहन्छन्। अघिल्लो संसदमा उनकै यस्तै रेकर्ड थियो। बुधबार किसानका समस्या उठाएका गगनले प्रेम प्रसादको नाम भने लिएनन्।
‘बर्डफ्लूको जोखिम न्यूनीकरणका लागि सरकारबाट कुखुरा फार्म नष्ट गरियो। नियम अनुसार यिनले पाउने क्षतिपुर्ति ५८ करोड छ। सरकार दिन्न भन्दैन् दिन्छु भन्छ तर झुलाइरहन्छ। किनकि सरकारलाई भ्याइनभ्याइ छ। तर बैंकले अठ्याउँछ। मेरो सरकारलाई प्रश्न छ बैंकको ऋणले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो? अनि अप्रिय निर्णय गरिसकेपछि आँसु बगाउँदै छानबिन गर्ने समिति बनाउने हो कि? जोगाउनका लागि सरकारले दिन्छु भनेको तर झुलाइरहेको रकम दिने हो?,’ यस्तै प्रश्न गरे थापाले।
सांसदहरुले उठाउने विषय कतिसम्म संसदमा छरिएर आउँछन् भने पटकपटक एउटै विषय दोहोरिरहन्छ। अधिकांशले सधै भन्ने गरेकै विषय हो- सडक भएन, किसानलाई अप्ठेरो पर्यो।
सांसद चन्द्र भण्डारीले पकाएको भात पनि बादरले खान नदिएको गुनासो गर्दा चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिम र जाजरकोट जोडने मोटरेबल पुल नबनेको बताए।
त्यसो त सांसद छिरिङ डोमडुल लामा भोटेले हुम्लालाई केन्द्र सरकारले भेदभाव गरेकै आरोप लगाए। ‘हुम्ला नेपालको केन्द्रीय सरकारबाट छिमेकी मुलुकजस्तो टाढा भइरहेको छ। हुम्ला बासीलाई सिधै राजधानी बासीसँग सम्बन्ध जोड्नका लागि राजमार्गहरुलाई मृत्युमार्ग होइन जीवन मार्गमा वर्तमान सरकारलाई सम्पूर्ण रोडहरु पर्याप्त मात्रामा बजेट छुट्यायोस् भन्ने निवेदन गर्न चाहन्छु,’ उनको भनाइ थियो।
सांसदले बैठकमा अनेक विषय उठाए। जीवन परियारले यति एयरलाइन्स पोखरामा दुर्घटना भएको प्रसंग उठाउँदा
अनिसा नेपालीले दाङ सल्यान हुँदै रुकुमको मुसिकोट हुने सडक अलपत्र परेको बताइन्।
अमरबहादुर थापाले कर्णाली राजमार्ग मृत्युमार्गमा रुपान्तरित भएको भन्दै गुनासो गरेपछि संसदको शून्य समय सकियो। ‘दुई दिनअघि पनि बस दुर्घटना भएर १२ जना घाइते छन्। राजमार्ग किन वान वे। राजमार्ग भएपछि टु वे हुनुपर्ने हो,’ थापाको भनाइ थियो।
सत्तारुढ दलकै सांसदको घम्साघम्सी
शून्य समय विकास निर्माणमा केन्द्रित हुँदा विशेष समय भने राजनीतिमय भयो। प्रेमका मुद्दाको कसलाई पो ख्याल हुनु? सुरुमा सांसद वीरबहादुर बलायरले बोले ९ मिनेट -अरु प्रदेशका राजधानी व्यवस्थित भएका छन्। तर सुदूरपश्चिमको राजधानी जंगलमा घोषणा गरिएको छ, गोदावरीमा। त्यसमा भोगाधिकार दिएको छैन। त्यसलाई त्यहाँबाट सार्न सकिने स्थिति छैन।
बलाएरपछि बोल्ने पालो पाए सांसद रघुजी पन्तले। उनका लागि ११ मिनेट थियो। उनको भाषण यति चर्को रह्यो कि त्यसपछि त सत्ता गठबन्धनमै रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद र एमाले-माओवादी केन्द्रका सांसदबीच चर्काचर्की नै भयो।
‘प्रधानमन्त्रीले राष्ट्रिय सभामा संघीयताविरुद्ध मन्त्रीले बोल्न पाइँदैन भनेको भोलिपल्ट शहरी विकास मन्त्रीले चितवनमा भन्नुभयो, आफ्नो पार्टीले संघीयताविरुद्ध रहेको भनेर,’ राप्रपाका तर्फबाट शहरी विकासमन्त्री रहेका विक्रम पाण्डले प्रधानमन्त्रीको निर्देशन नमान्ने भन्दै अभिव्यक्ति दिएकोबारे पन्तले भने, ‘प्रधानमन्त्रीको निर्देशन राप्रपाले नमान्ने चेतावनी दियो। यो संविधानको अधिनमा रहेर मन्त्रीले आफ्ना गतिविधि अगाडि बढाउनुपर्छ। प्रधानमन्त्री र मन्त्रीको धारणा संविधानबारे बाझिने राम्रो होइन।’
माओवादीका सांसद शक्ति बस्नेतलाई पनि राप्रपाका मन्त्रीका कुरा पचेनन्। उनले अहिलेको आार्थिक संकट टार्ने उपाए राष्ट्रिय सहमति भएकोमा जोड दिए। पन्तको भनाइमा जोड दिएर बस्नेतले राप्रपाका मन्त्रीको आलोचना गर्न भने भ्याए। ‘सरकार कार्यकारी अधिकार प्रयोग गरिरहेको हुन्छ। मन्त्रीहरु संविधानबाहिर गएर टिप्पणी स्वीकार्य हुन्न। यसलाई सुधारियोस,’ बस्नेतले भने।
बस्नेतले पनि राप्रपालाई चेतावनी दिएपछि माहोल तातियो। राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अहिलेकै संविधान अनुसार गणतन्त्र फाल्न सकिने बताए।
‘गणतन्त्र चाहिन्छ चाहिँदैन भन्ने कुरा संविधानबाटै लागू गर्न सकिन्छ। धर्ममा नास्तिक भनेको के हो। नास्तिकको कुरा यहाँ हुन्छ यसमा हुँदैन,’ शाहीले भने।
शाहीले कुनै समय समेत नलिइ आपत्ति जनाए। सभामुखले समय नदिएको अवस्थामा बोलेपछि एमालेका पन्त र माओवादी केन्द्रका बस्नेतले आपत्ति जनाए। दुबै जना उठेपछि शाही अघि बढेनन्।
नियम विपरीत भइरहेका अभ्यासमा सभामुख देवराज घिमिरे मुकदर्शक बने।
त्यसपछि स्वतन्त्र पार्टीका मनीष झाले धारणा राखे। उनले मधेशमा रहेका ऐतिहासिक ठाउँहरुको अस्तित्व मेटिन लागेको भन्दै सरकारको ध्यानकर्षण गराए।
राप्रपालाई सत्ता गठबन्धनकै सांसदहरुले दिएको काउन्टर चित्त बुझिरहेको छैन्। झापछि बोल्ने पालो पाएका राप्रपाका सांसद धवल शम्शेर राणाले आक्रोश व्यक्त गरे। भने, ‘राप्रपामाथि प्रहार गर्नुभयो। हामी नेपाली जनताको मनमा भिजेका छौं। हामी सनातन धर्म हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्न आएका छौं। त्यो कुरा संविधानले रोक्दैन। हामी बोल्न पाउनपर्छ। त्यसको मतलब हामी संविधान मान्दैनौं होइन। नमान्ने भए जंगल जान्थ्यौं। हामीलाई हेप्ने काम यो सदनबाट आइन्दा नहोस्।’
अब धवललाई चेतावनी दिने पालो थियो जनता समाजवादी पार्टी, नेपाल जसपाका सांसद राजकिशोर यादवको। उनले अहिलेको सरकारलाई नाक जोगाउन कठिन भएको बताए। ‘मूल गेटमा एक पत्रकार साथीले माननीयज्यू अब के हुन्छ? भन्नुभयो। कि यो सरकारको नाक काटिन्छ कि सरकारको ज्यान जान्छ,’ यादवले भने। अरु सांसद खासै नबोले पनि यादवले भने आचार्यको विषयलाई जोड दिएरै अघि बढाए-
के कति कारणले प्रेम आचार्य के कसरी घटना भयो भन्ने विशेष प्रस्ताव आउला भनेको यो संसद मुर्दा भएर अर्कै विषयमा चर्चा गरिरहेको छ। छोराका बिहेमा लिएको ऋण तिर्न नसकेर सप्तरीका रामदेव मरिकले आत्महत्या गर्छ। यादवको चेतावनी राप्रपाका मन्त्रीलाई बर्खास्त गर्नुपर्ने थियो। यादवपछि बोलेका सांसद प्रकाश ज्वाल आर्थिक संकटमा केन्द्रित हुँदा अनिता देवीले नागरिकता विधेयक किन रोकियो भन्ने प्रश्न गरिन्। सांसद रन्जिता श्रेष्ठले रेशम चौधरी रिहाइकै मुद्दा उठाइन।
प्रेम सुवाललेले बुढीगण्डकी आयोजनाका पीडितको गुनासातर्फ सरकारको ध्यानकर्षण गराए। प्रभु साहले महंगीका कारण जनता मारमा परिरहेको बताउँदा मोहनबहादुर बस्नेतले भने, ‘सत्ता पक्षलाई पनि 'रो' विभाजन गरेर राखिदिनु भएन भने भविष्यमा ठूलो झगडा हुने मैले देखेको छु।’
वसन्त नेम्वाङले केपी ओली सरकारका आयोजनाका गुणगान गाए। ‘त्यो ३ वर्ष नेपालको इतिहासमा अद्दितीय काम भयो। दूर्भाग्य परमादेशबाट सरकार हटाइयो,’ उनको भनाइ थियो।
चन्द्रा कार्की भण्डारीले मधेशको स्वास्थ्य स्थितिबारे बोलिन् भने शेरबहादुर कुँवर र बद्री पाण्डले सुदूरपश्चिममा पछिल्लो पटक गएको भुइचालोबारे बोले।
सांसद दयालबहादुर शाहीले निर्वाचनका बेलामा बाजुरामा भएको झडपाबारे सरकारको ध्यानकर्षण गराए -बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेसले एमालेका नेतामाथि आक्रमण गर्यो।
तेजुलाल चौधरीले सप्तरीमा चोरी डकैती बढेको बताएपछि सांसदहरुले विशेष समयमा बोल्ने कार्यसूची सकियो।