स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई हराएको छ। बेनिटो भिल्लामारिन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बेटिसमाथि बार्सिलोनाले २-१ गोलअन्तरको जित निकालेको हो।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको ६५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ८० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले रोनाल्ड अराउजोको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। अर्कोतर्फ ८५ औं मिनेटमा बार्सिलोनाका जुलेस कोउन्डेले गरेको आत्मघाती गोल बेटिसका लागि सान्त्वना गोल बन्यो। त्यस्तै इन्ज्युरी समयमा घरेलु टोलीका विलियम कार्भाल्लो रेडकार्ड खाँदै बाहिरिएका थिए। र, बार्सिलोनाले बेटिसमाथि २-१ गोलअन्तरको जित निकाल्न सफल भयो।
जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। बार्सिलोनाले १९ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानमा पकड बनाउँदा दोस्रो स्थानमा रहेको रियल मड्रिडले १८ खेलबाट ४२ अंक जोडेको छ। छैटौँ स्थानमा रहेको रियल बेटिसको भने १९ खेलबाट ३१ अंक छ।